कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इजरायलमा साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट

कृष्णपक्ष, इजरायल ।
यही नोभेम्बर १९ तारिख शनिबार इजरायलको तेल अभिवमा १०८ औं लक्ष्मी जयन्तीका साथै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल तथा विश्व नेपाली साहित्य महासंघ इजरायलको संयुक्त आयोजनामा राखिएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली दुतावास इजरायलका महामहिम कार्यवाहक राजदूत श्री रामेश्वर पौडेल साथमा उहाँकी धर्मपत्नी उषा पौडेल, विशिष्ट अतिथि नेपालबाट पाल्नु भएका साहित्यकार सरुभक्त तथा अतिथिहरूमा एन आर एन इजरायलका दिपक ओली, प्रवासी नेपाली मञ्च इजरायलका तीर्थ गौतम लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष भगवती बस्नेतको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घाटन अतिथिज्यूहरूको साथमा पानसमा दियो बाली महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गर्दै गरियो । साथै राष्ट्रिय गान सहित विश्व नेपाली साहित्य महासंघ इजरायलका सचिव गणेश गोतम सागरले आरम्भ गर्नुभएको कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका तर्फबाट समा श्रीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा आयोजक संस्थाद्वय तथा प्रमुख अतिथिबाट संयुक्त रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा अनेसासकी उपाध्यक्ष लक्ष्मी अनुरागी, विनेसाम इजरायलका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र थापा, प्रवासी नेपाली मञ्चका अध्यक्ष तीर्थ गौतम, एन आर एन इजरायलका अध्यक्ष दिपक ओली र अनेसास इजरायलका सल्लाहकार तथा साहित्यकार कृष्णपक्षले महाकवि देवकोटाको स्मरण गर्दै इजरायलमा भएका साहित्यिक गतिबिधिहरूको बारे आआफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रममा विश्व नेपाली साहित्य महासंघकी अध्यक्ष सावित्रा लुइंटेल घिमिरे विशेष कारणले उपस्थित हुन पाउनु भएन ।

यसैबीच अतिथिज्युहरूको हातबाट साहित्यकार भगवती बस्नेतको गीति एल्वम 'सत्प्रयास' को विमोचन पनि गरियो । यस एल्वममा भगवती बस्नेतका शव्दहरूलाई केशव पौडेलले संगीत दिनु भएको छ भने प्रमोद खरेल, मनोजराज, केशव पौडेल, अञ्जु पन्त, निशा देशार र मिरा रानाभाटले स्वर दिनुभएको छ ।

दोश्रो चरणको कार्यक्रमको सञ्चालन अनेसास इजरायलकी उपाध्यक्ष लक्ष्मी अनुरागीले गर्नुभएको थियो । रचना वाचनको क्रममा समाश्री, सुभद्रा घिमिरे, नूतन भुषाल, कल्पना राई (नाना रोदुङ), जय ओडारी, गणेश गौतम सागर, बेलकुमारी घिमिरे, निशा अर्याल, दिया तिवारी, कृष्णपक्ष लगायतका साहित्य अनुरागीहरूले आआफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले आफ्नो इजरायल आगमनका अनुभव र साहित्यिक कृतिहरूका विषयमा प्रकाश पार्दै महाकवि देवकोटाबाट नेपाली साहित्यका विद्यार्थीले धेरै पाठ सिक्नुपर्ने बताउनु भयो । उहाँले डायोस्पोरामा नेपाली साहित्यको विस्तार हुदै गएको भन्दै अब मूलधारले डायोस्पोरालाई उपेक्षा गर्ने हो भने नेपाली साहित्य अपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।अन्तर्कियाका क्रममा आएका प्रश्नहरूको उत्तर दिदै उहाँले नेपाली भाषा सम्बन्धी विवाद चर्किनु दुर्भाग्यपूर्ण भएपनि अन्तत यो चर्चा र बहस छिटै उचित निष्कर्षमा पुगिने र मानक भाषा स्थापित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रवासका साहित्यकारले घरदेश र नोस्टालजियाका पीडाहरूमा मात्रै आफ्ना रचनालाई सीमित नगरी देश काल परिस्थिति परिवेश अनुरुप सिर्जनाको दायरा फराकिलो पारेर मात्र स्तरीय साहित्य पस्कन सकिने सुझाव दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास इजरायलका कार्यवाहक राजदूत श्री रामेश्वर पौडेलले हाम्रो परीचय र पहिचान भन्नु नेपाली भाषा साहित्य हुन भन्दै इजरायलका साहित्यप्रेमी नेपालीहरूले प्रवासको व्यस्तताको बाबजुद पनि साहित्यिक कृतिहरू प्रकाशन गर्दै आउनु भएकोमा आफूलाई धेरै खुसी लागेको बताउनु भयो । उहाँले आफूपनि बाल्यकालदेखि नै साहित्य अनुरागी भएको भन्दै वर्तमान राजनीतिक बेथिति र विसंगतिप्रति व्यंग्य गर्दै रचिएको कविता वाचन गर्नुभएको थियो ।

अन्त्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष तथा कार्यक्रमकी सभापति भगवति बस्नेतले नेपाली साहित्य संगीत तथा नाट्य क्षेत्रका महान श्रष्टा सरुभक्तलाई इजरायलमा स्वागत र सम्मान गर्न पाउनु इजरायलमा रहेका साहित्यप्रेमीहरूको सौभाग्य हो भन्दै आफ्नो रचना वाचन सहित कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रम लाइटनेपाल डट कम तथा रेडियो स्वतन्त्रले प्रत्यक्ष प्रसारण गरेका थिए ।





बाँकी अंश..

भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारी रत्न’ सम्मान

काठमाडौँ, १ मङ्सिर – पाँच दशकदेखि आख्यान विधामा सक्रिय भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारी रत्न’बाट आज सम्मान गरिएको छ। बाह्रौँ त्रिमूर्ति दिवसका अवसरमा त्रिमूर्ति निकेतनद्वारा आज यहाँ आयोजित कार्यक्रममा रु एक लाख राशिको सहित ताम्रपत्रद्वारा श्रेष्ठलाई शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मान गर्नुभयो ।

सोही अवसरमा शास्त्रीय छन्दकवि मुकुन्द शर्मालाई ’लेखनाथ काव्य पुरस्कार’, नाट्यकर्मी अशेष मल्ललाई “बालकृष्ण सम पुरस्कार” र कवि मञ्जुललाई “देवकोटा काव्य पुरस्कार”बाट सम्मान गरियो । ती पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ। समारोहमा देशदेशान्तरका २०८ महानुभावलाई शताब्दी पुरुष जोशीद्वारा “सत्यमोहन जोशी शताब्दी पदक” पनि प्रदान गरिएको थियो ।


कार्यक्रममा नई प्रकाशनद्वारा प्रकाशित माधवराज आचार्यद्वारा लिखित कथासङ्ग्रह फुस्रो सिउँदो, मनिराज जोशीद्वारा लिखित ‘हाम्रो संस्कृति र जीवन पद्धति’, भगवती बस्नेतद्वारा लिखित मृत सागरमा म’, उमा कार्कीद्वारा लिखित कवितासङ्ग्रह ‘हिउँको पर्दा’, कृष्ण शाह यात्री र ललिता दोषीद्वारा सम्पादित “नाट्यभूषण: मदनदास श्रेष्ठ, निर्मल ज्ञवालीद्वारा लिखित शान्तिकुमारी राईको यात्रा, प्रा राजेन्द्र सुवेदीद्वारा लिखित नरेन्द्रराज प्रसार्इँकृत एकल जीवनको विश्लेषण समालोचना सङ्ग्रह र सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा तथा पारसमणि प्रधानबारे नरेन्द्र प्रसाईँद्वारा लिखित जीवनी सङ्ग्रह सूधपा’नामक कृतिको लोकार्पण गरियो ।



सो अवसरमा शताब्दी पुरुष जोशीले धेरै वर्ष बाँचेर देश तथा यहाँको भाषासाहित्यको सेवा गर्न सके मात्र बाँच्नाको अर्थ रहन्छ भन्नुभयो । सम्मानित व्यक्तित्व श्रेष्ठले कुनै न कुनै सिर्जनाबाट मानवमा चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो। साहित्यकार मोदनाथ प्रश्रितले शताब्दी पुरुष जोशी जातीय भावनाबाट माथि उठेका व्यक्तित्व हुुनुहुन्छ भन्नुभयो।

कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, सदस्य सचिव नरेन्द्रराज प्रसाईँ, साहित्यकार माया ठकुरी, राजेन्द्र सुवेदी, प्रा डा उषा ठाकुर, प्रा डा गार्गी शर्मा, मदनदास श्रेष्ठ, उषा शेरचन, यादव भट्टराई लगायत स्रष्टाले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । रासस ।
बाँकी अंश..

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३२ औँ जन्मजयन्ती

काठमाडौं ,  कात्तिक २५ ।
काठमाडौँ, २५ कात्तिक । नयाँ शक्ति पार्टी नेपालले किरात धर्मका महान् गुरु, समाज सुधारक एवम् राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३२औँ जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेको छ ।
 गुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा संविधानमा सबैको स्वामित्व स्थापित गर्दै उन्नत राष्ट्रिय एकता र समृद्धिमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरिएको पार्टीका प्रवक्ता खिमलाल देवकोटाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आजभन्दा करिब एक शताब्दी अघि उहाँले तत्कालीन समाजको विकृति र विसङ्गति विरुद्ध सुरु गरेको सामाजिक अभियान अझै पनि उदाहरणीय र प्रेरणादायी रहेको उल्लेख छ ।
‘हत्याहिंसा गर्न नहुने, झुठो बोल्न नहुने, सृष्टिकर्ता नारीलाई समाजमा उच्च सम्मान गर्नुपर्ने, मांसाहार तथा मदिरा सेवन गर्न नहुनेजस्ता समाज सुधारको अभियान सुरु गर्नुभएका उहाँले लडाइँबाट विश्व शान्ति स्थापना हुन नसक्ने निष्कर्ष निकाल्नु अर्को महत्वपूर्ण शिक्षा हो’– विज्ञप्तिमा भानिएको छ ।

आफ्नो भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ भन्ने फाल्गुनन्द मौलिक र व्यावहारिक अर्थनीतिका पक्षपाति हुनु महत्वपूर्ण भएको र बहुभाषा, धर्म, संस्कृतिको धनी नेपालमा सबै भाषा, धर्म, क्षेत्र, लिङ्ग, जाति समुदायको अधिकारसहितको एकताबाट मात्र आर्थिक समृद्धि सम्भव छ भन्ने मान्यता नयाँ शक्तिले लिएको बताइएको छ । रासस

बिषयक्रम :
बाँकी अंश..

नर्वेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन

प्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले युरोपियन मुलुक नर्वेमा रहेका नेपालीहरुले मंगलवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको गठन गरेका छन । बिष्णुमाया विभुको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष खुम ढकाल, महासचिब बरुण पौडेल र कोषाध्यक्षमा  सुमन धिमाल निर्वाचित भएका छन ।

आगामी दुई वर्षे कार्यकालको लागि सदस्यमा  सरिता थापा , दिपक महत , देवी चरण चम्लागाँई , प्रदिप अधिकारी , दुर्गा प्रसाद न्यौपाने , सुदिप क्रान्ति तिवारी , ऋतु जाङ्ग्रा , बखत छन्त्याल , कृष्ण कुँवर निर्वाचित भएका छन् । त्यसै गरि डिल्लीराम आचार्य, लोक सुब्बा र कुमार पण्डित सल्लाहकारमा चयन भएका छन् ।


बिषयक्रम : ,
बाँकी अंश..

काजिरोशन साहित्य पुरस्कार अधिकारी र न्यौपानेलाई

कोपिला कंडेल, बागलुङ्ग ।

धौलागिरी साहित्य प्रतिष्यठान बागलुङ्गले संचालन गर्दै आएको काजिरोशन साहित्य पुरस्कार बाट यसवर्ष २ जना पुरस्कृत भएका छन् । काजिरोशन साहित्य पुरस्कार २०७० जिल्लाको छिस्ती गाबिसका साहित्यकार गंगाधर अधिकारी चिन्तन र २०७२ बाट तनहु जिल्लाका साहित्यकार काशिराज न्यौपानेलाई प्रदान गरिएको हो । चिन्तनको नेपाली साहित्यमा धौलागिरी साहित्य प्रतिष्ठानको योगदान नामक अनुसन्धानमुलक कृति र न्यौपानेको आत्मघात क्रान्ति नामक कृतिलाई प्रदान गरिएको हो । पुरस्कारको रासी जनही क्रमश. रु १० हजार र १५ हजार रहेको छ ।


पुरस्कृत द्धयलाई धौलागिरी साहित्य प्रतिष्ठानको पहिलो पुरस्कृत ब्याक्तित्व एबं संस्कृतबिद प्राध्यापक डा.कुश्माखर न्यौपानेले सम्मान पत्र र नगद सहित दोशल्ला ओडाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहांले नेपाली साहित्यमा धौलागिरी साहित्य प्रतिष्ठानले महत्वपुर्ण योगदान पुर्याएको दाबी गर्नुभयो । यस्ताखाले कार्यक्रमले साहित्य क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने चर्चा गर्दै उहांले कोषको संरक्षण र प्रबद्धन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुरस्कृत ब्याक्तित्व द्धय गंगाधर अधिकारी चिन्तन र काशिराज न्यौपाने, रत्न श्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटा,पुर्व क्याम्पस प्रमुख राम प्रसाद उपाध्याय, समाजसेवी देब बहादुर श्रेष्ठ र पत्रकार महासघं बागलुङ्ग शाखाका कोषाध्यक्ष तारा प्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अवसरमा पुरस्कृत ब्याक्तित्व अधिकारी र न्यौपाने बारे धौलागिरी बहुमुखी क्याम्पसका सह प्रध्यापक द्धय हरी प्रसाद पाण्ड्य र हरी प्रसाद गौतमले जानकारी गराउनु भएको थियो ।

कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनको अध्यक्षता, प्रतिष्ठानका संस्थापक सदस्य स्याम श्रेष्ठको स्वागत मन्तब्य र राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।
बिषयक्रम : ,
बाँकी अंश..

राष्ट्रकविको सम्मानमा साहित्य यात्रा


आस गुरुङ, लमजुङ / कान्तिपुर

कार्तिक २६, २०७३- राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले देशव्यापी साहित्य यात्रा थालेको छ । साहित्य यात्राको थालनी राष्ट्रकविकै जन्मस्थल लमजुङबाट भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेका अनुसार, राष्ट्रकवि घिमिरेको जन्मशताब्दीको पूर्वसन्ध्या अवसरमा प्रतिष्ठानले साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको सुरुवात गरेको हो । राष्ट्रकवि गत असोजमा ९८ औं जन्मोत्सव मनाएका छन् ।

‘यो कार्यक्रम नेपालका ७५ जिल्लामा सञ्चालन हुनेछ,’ होमस्टे गाउँ काउलेपानीमा आयोजित दुईदिने कार्यक्रममा उनले भने, ‘भारतको दार्जिलिङसहित विदेशमा पनि कार्यक्रम गरिनेछ ।’ देशमा स्थानीय साहित्यिक संघसस्था र विदेशमा अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थासँग सहकार्य गरेर कार्यक्रम अघि बढाइने उनले बताए । कार्यक्रम मंगलबार र बुधबार स्थानीय स्तरमा नेपाली लेखक संघको आयोजना र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लमजुङको सहआयोजनामा भएको हो ।

संस्कृतिविद् विणा पौडेलले राष्ट्रकविको सम्मानमा सवै साहित्य अनुरागी लाग्नुपर्नेमा जोड दिइन् । ‘राष्ट्रकवि हाम्रो अमूल्य निधि हुनुहुन्छ, उहाँको दीर्घायुको कामना र सम्मान हामीले गर्नुपर्छ,’ उनले भनिन्, ‘साहित्य, संस्कृति र कलाको संरक्षणमा लागे उहाँप्रतिको सम्मान हुन्छ ।’




प्रतिष्ठानको समालोचना विभाग प्रमुख प्रा.डा. ज्ञानु पाण्डेले राष्ट्रकवि सबैका गुरु भएको उल्लेख गर्दै थपिन्, ‘साहित्यमा उहाँको योगदानको वर्णन गरेर सकिँदैन । सबै मिलेर उहाँको कृतिलाई माया गरिए उहाँप्रतिको सम्मान अझ बढ्छ ।’


प्रकृति र राष्ट्रप्रेम राष्ट्रकविका कविताको मुख्य आधार रहेको उल्लेख गर्दै कवि विजयराज न्यौपानेले सबै मिलेर राष्ट्र, प्रकृति र उहाँलाई जोगाउनुपर्ने अनि जन्मशताब्दी गृहजिल्लामै मनाउनुपर्ने बताए ।

‘राष्ट्रकविलाई जीवन्त राख्नुपर्छ,’ नेपाली लेखक संघका जिल्ला अध्यक्ष थकित यात्रीले भने, ‘साहित्यको सम्मान हुनुपर्छ र नेपाली साहित्यलाई विश्वव्यापी बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

कार्यक्रममा गुरुङ साहित्यकार आसबहादुर गुरुङले राष्ट्रकविको ‘गौरी शोककाव्यका केही श्लोकलाई गुरुङ भाषामा अनुवाद गरी सुनाए । ‘राष्ट्रकविको कृति सरल छ, जीवन छ, त्यसैले अन्य भाषामा अनुवाद गर्दा त्यति समस्या छैन,’ उनले भने । गुरुङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लाई गुरुङ भाषामा अनुवाद गरेर प्रकाशित गरेका छन् ।

मगर अगुवा बलबहादुर रानाले मगरभाषामा सालीभेनाको गीत प्रस्तुत गर्दै भाषालाई जोगाउने एउटा मात्रै माध्यम गीत बन्न पुगेको बताए । दुरा भाषाका अनुसन्धानकर्ता कुन्छाका मुक्तिनाथ घिमिरेले दुरा भाषाको वर्णमाला तयार पारिएको बताए । ‘दुरा भाषा संकटमा छ । कसैले बोल्दैनन् । शब्द टिपेर वर्णमाला बनाएको छु,’ उनले भने । लमजुङको दुराडाँडा मौजमा पर्ने ६ गाविसमध्ये ५ गाविसहरू सिन्दुरे, दुराडाँडा, चन्द्रेश्वर, धुसेनी र नेटामा दुरा जातिको बसोबास रहेको उनले बताए ।

कार्यक्रममा हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष बेन सुयेल ‘बिनु’, मुक्तक मञ्चका अध्यक्ष वसन्त ‘अधीर’, छन्दकला प्रतिष्ठानका अध्यक्ष वासु थापा, साहित्यकार तेजनारायण अधिकारी, शालिग्राम अधिकारी, कमला केसी लगायतले राष्ट्रकवि घिमिरेका कृतिबारे चर्चापरिचर्चा गरे, रचना सुनाए ।

बाँकी अंश..