कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दोस्रो विश्व वेभक्याम कविता प्रतियोगितामा उत्तमबाबु प्रथम घोषित



गत फागु पूर्णिमाको अवसरमा अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ को अन्तिम परिणाम घोषणा भएको छ। विश्वका १७ मुलुकमा रहेका १ सय १९ जना नेपाली कवि तथा कवियित्रीहरुको सहभागिता रहेको प्रतियोगितामा अमेरिकाबाट सहभागि उत्तमबाबु श्रेष्ठ प्रथम हुनु भएको छ। दोस्रो स्थान पोर्चुगलबाट सहभागि अमृत परियार र तेस्रो स्थान अमेरिकाबाटै सहभागि नम्रता गुरागाईले प्राप्त गर्नुभएको छ। जम्मा ८५ वटा प्रतियोगि कविता मध्येबाट उत्कृष्ट १५ बटा छनौट गरिएको छ।


गत श्रीपंचमी अर्थात सरस्वती पूजाको दिन वेभक्याम मार्फत वाचन गरिएका सबै कविताहरुलाई जस्ताको तेस्तै रेकर्ड गरेर साहित्यघर डट्कम वेभपेजमा राखिएको छ। उक्त कविताहरुलाई एक महिना अवधिभर हेरेर, सुनेर देशविदेशबाट पाठक, दर्शक तथा स्रोताहरुले भोट गरी लोकप्रिय कविताहरुको पनि चयन गरेका छन् जस मध्ये प्रथम वेलायतबाट सहभागि गोपिकृष्ण प्रसाई, दोस्रो अमेरिकाबाट सहभागि साधना शर्मा र तेस्रो वेलायतबाटै सहभागि लिलासेलिङ मावोका कविता रहेको छ। यस बर्ष विभिन्न ६ मातृभाषा कविताहरुको सहभागिता रहेता पनि उत्साहजनक सहभागिता भएको लिम्बू भाषाको कविताहरु मध्ये भिमा खजुम किर्तिपुरलाई पुरस्कृत गरिएको छ।

विजयी प्रतियोगिहरुले अनलाइन सुविधा सहितको नगद १५ हजार, १० हजार, ५ हजार र लोकप्रिय कविता छनौटमा विजयी हुनु भएकाले अनलाइन सुविधा सहितको नगद ५ हजार, ३ हजार र १ हजार साथै मातृभाषा कवितामा विजयीले नगद १ हजार रुपैया प्राप्त गर्नेछन। विजयी सबैले प्रमाणपत्र र प्रायोजित उपहार प्राप्त गर्नुहुनेछ। यस बर्षको पुरस्कार प्रायोजन डोमेन र होष्टिङको कारोवार गर्ने www.realDomainHost.com, www.datingHand.com, प्रनेसास (प्रभात) र साहित्य विकास परिषदले गरेका हुन्।

यस बर्षको प्रतियोगितामा क्यानडा, रसिया, पोर्चुगल, अमेरिका, वेलायत, वेल्जियम, दुवई, कतार, मलेसिया, सिंगापुर, भारत, नेपाल, अष्ट्रिया, हङकङ, अफगानिस्तान, इराक र जर्मनीमा रहेका नेपालीहरुले सहभागिता जनाएका थिए। विभिन्न मातृभाषा अन्तर्गत मगर, गुरुङ, राई, सुनुवार, नेवार, लिम्बू लगायत अंग्रेजी भाषाका कवितालाई पनि समावेश गरिएको छ। वाचित सम्पूर्ण कविता साहित्यघर डटकममा हेर्न सकिन्छ। प्रतियोगि कविताहरुलाई नेपाल, अमेरिका, वेलायत र मलेसियाबाट अनलाइनमै मूल्याङ्कन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्य पनि मल्टिमिडियामा प्रवेश गर्नु सुखद अवसर भएको र विश्वभर छरिएर रहेका स्रष्टासर्जकहरुलाई प्रविधि मार्फत एकै ठाँउमा सहभागिता गराउन सक्नु अत्यन्तै ठूलो उपलब्धि भएको कुरा बताउनु भएको छ। डायस्पोरामा रहेका स्रष्टाहरुलाई अनलाइनबाटै समेट्दै प्रतियागितामा सहभागिता गराउनुले नेपाली साहित्य, संस्कार र संस्कृति परिवर्तनको साँधमा रहेको भनी चर्चा गर्नुभयो।

प्रवासी नेपाली साहित्य समाज (प्रभात), नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अन्तराष्र्ट्रिय नेपाली साहित्य समाज वेलायत च्याप्टर विशेष सहयोगि रहेको उक्त कार्यक्रमका आयोजक अनलाइन नेपाली साहित्य मंच वेलायत रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, सहयोगि ब्यक्ति तथा मिडियालाई आयोजकको तर्फबाट विश्वासदीप तिगेलाले धन्यवाद ज्ञापन गर्नुभएको छ। कार्यक्रम सम्पन्न गर्न प्राविधिक कठिनाई सगै मंहगो भए पनि स्रष्टासर्जकहरुबाट प्राप्त हौसलाबाट अभिप्रेरित भई आउदो बर्ष अझ शसक्त र ब्यापक आयोजना गर्ने जनाइएको छ।

स्मरण रहोस वेभक्याम कविता प्रतियोगिता नेपाली साहित्यको इतिहासमा गतबर्ष पहिलो पल्ट आयोजना गरिएको थियो। जसमा विराटनगरका नवराज सुब्बा प्रथम, अमेरिकाका सहदेव पौडेल द्धितिय र जापानका रविन्द्र ढकाल तृतीय हुनु भएको थियो।