कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जहाँ सिंगो देश अल्झिएको छ

कृष्ण थापा

नाघ्दै भूगोलका नक्शाहरु
छिल्चोल्दै राष्ट्रका सिमानाहरु
बेहिसाब तन्न्नेरीहरु यहाँ
मुगलान पसेका छन
हराएका सपनाहरु संगाल्न

म त्यही युवा प्रतिनिधि
जो युगीन परिवर्तनका आयामहरु भित्र्याउने
भ्रमको रेखा कोरिरहेछ ।



विरानो प्रवासको व्यस्त परिवेशबाट
सधै सधै चियाएर हेर्ने गर्छ उ
कतै खुलेको छ कि मेरो देशको आकाश
कतै देखिन्छ कि मेरो देशको छाया ?

उसलाई पनि यसरी - अरुकै घरमा
दोश्रो दर्जामा उभिन कहाँ मन थियो?
कहाँ मन थियो अरुकै पहरेदार, खेताला वा स्याहारे हुन?
कहाँ मन थियो प्रवासलाइ आफ्नो भन्न ?
तर भोक प्यास र अभाव ,
अव्यवस्था र वेरोजगारी ,
भावनाहरु भन्दा धेरै गहिरा हुन्छन्
हो त्यही विरुद्ध संघर्षको पाइला हिड़दैछ उ ।

पलायनवादको संज्ञा दिनेहरू सुन !
भोकको वहानामा उ कसैसंग भीख माग्दैन
प्यासको बहानामा उ मान्छेको रगत पिउदैन
जाड़ोको वहानामा उ सल्काउदैन आफ्नै झुपडी
न ढुकुटी हत्याउन फुटाउछ भाइहरूलाइ,
अभावको वहानामा उ बाटोघाटो, माटो र नदीनाला बेच्दैन ।

यदि यही वहानामा
घर छाडनु गलत हो हो भने
म त्यही गलतहरुको प्रतिनिधि
यद्यपि जसभित्र माटोको माया सागरमाथा जस्तै हुर्किएको छ
जसको चेतनाको आकासमा राष्ट्रप्रेम चन्द्र र सूर्य जस्तै स्पष्ट छ ।

कहाली लाग्दो नियति बनेर
परदेश बिझेको बेला उसका वर्तमानहरुमा
भो नसोध खै तेरो देश ?
भो नसोध खै तेरो परिचय ?

जापानी होचा पहाड़का गर्तहरुमा
जम्मू कश्मीर, मलायका जंगलहरु र खाड़ीका ताता वालुवा
वा अफगानिस्तानका मरुभूमिहरुमा
उसले आफुलाई कतै हराएको धेरै भैसक्यो
गोरखाको परिचय कोर्दै भूगोलको कुनाकुना
जंगल जंगल क्याम्प राखेर बहादुरी देखाउने म त्यही लाहुरे प्रतिनिधि
जो इतिहास लेख्दै मरुभूमि र जंगलहरुमा
राष्ट्रीयताको परिभाषा खोजिरहेछ ।

देश भन्नु मन रहेछ
घर भन्नु मन रहेछ
माया भन्नु मन रहेछ
भो नसोध खै कहाँ छ तेरो घर ?
उसले जरुर भन्न सक्छ पहाड़ जत्रो विशाल मेरो मनभित्र
त्यही मन भित्र अटाएको छ सबै सबै उसले, यसबेला ।
तर उसलाई थाहा छैन मन उसंग छ की छैन?
मन र माया कंप्यूटरको स्क्रीन स्क्रीन चहार्ने यो युग
जसले आसू पिएर झूठ हास्न सिकाएको छ
जसले मन बाधेर कृत्रिम जिउन सिकाएको छ
म त्यही युग को प्रतिनिधि ।

पुराना समयका धागोहरु बटुल्दै
मन सम्झनाका जालहरु बुन्छ
मन सम्झनाका जालहरुमा अल्झन्छ ।
सम्झनाहरु संगाल्नु यो भ्रम हो,
म त्यही समझनाहरुको प्रतिनिधि ,
म त्यही मनहरुको प्रतिनिधि ,
जो भ्रम बाचिरहेछ ।

मन
अब त धेरै भयो नडुलेको
लेक बेसी मेला र हाटबजारहरु
धेरै भयो नगाएको चंचल हुदै
रोदीका लैबरी र झ्याउरे भाकाहरु ।

गतेहरु चिनो लाउदा लाउदै चाडवाडका
आँखा क्यालेंडरका पत्रहरुमै अल्झन्छ
जब मानेभंज्यांङमा रोटे पिङ घुम्न थाल्छ
जब सयपत्री मखमली फुल्न थाल्छ ।
जब देउसी भैली र मादलको स्वर पारी गाऊंसम्म सुनिन्छ
उफ़ समय किन यसरी विवश भएको? उडेर मन त्यही जाउँ भन्छ।

जब रोपाई हुन्छ असारे भाका गुन्जन्छ
र नाच्छन दौतरीहरु सोरठी, मारुनी र पुर्सुंगे बनेर
हो उ यहिनेर टुक्रन्छ ।

चाडवाड र दौतरीका यादहरु मात्र हैनन
अरु धेरै कुरामा उसको छाती पोल्ने गर्छ ।
जब भोक प्यास र अभाव दुख्छ देशमा
हिमाल दुख्छ, मधेश दुख्छ, राजधानी नजिकै चेपांगको प्रदेश दुख्छ
बाढीपहिरो वा खडेरीजस्तै राजनीति, गृहयुद्ध र तिनका अवशेष दुख्छ ।
महेशपुर सुस्ता र कालापानी दुख्छ ।
उसको छाती पनि बिझाउछ

हो जातीय स्वाभिमान बाँचेको
म त्यही छातीहरुको प्रतिनिधि,
जहाँ देशको माया बल्झिएको छ ।
जहाँ सिंगो देश अल्झिएको छ ।