कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

हावाको क्यान्भासमा संगीतकार दिनेश सुब्बा

"दिनेशदाइसँग गीत सिक्न जाने क्रममा साथी रबिन र म वहाँले पढाउने स्कूल महेन्द्र आदर्श सातदोबाटोमा पुग्यौं । वहाँ स्कूलमा हुनुहुन्थेन । डेरामा पनि ताल्चा लगाइराखेको थियो । एउटा चिया पसलमा चिया खाएर कुरौं न त भनेर हामी वहाँलाई कुर्न थाल्यौं । त्यो बेला पैसा पनि त्यति हुन्थेन, हामी दुवै जनाको गरेर १०/१२ रुपैयाँ थियो होला । चिया २ रुपैयाँ कप पाइन्थ्यो। हाम्रो टेबलमा अगाडिपट्टि एक सज्जन आए र करीब २०/२५ रुपैयाँको खाजा अर्डर गरेर खान लागे । त्यस्तैमा रबिनले के भनेर हो मलाई बेस्सरी हँसाइदियो, मेरो मुखको चिया फुर्रर उडेर त्यो सज्जनको भागमा पर्यो......."
त्यो समयको बखान गर्छन् गायक रामकृष्ण ढकाल जतिबेला नेपाली संगीतमा "स्टारडम" भन्ने कुनै शब्द थिएन । हङकङमा बस्दै आएका संगीतकारमाथि निर्मित डकुमेन्ट्री फिल्ममा । यस फिल्ममा २० हर्ज देखि २० किलोहर्ज को आकारको हावाको क्यान्भासमा संगीतकार दिनेश सुब्बा चित्र कोर्दछन् । "हावाको क्यान्भासमा" (In the canvas of air) डकुमेन्ट्री फिल्म भर्खरै तैयार भएको छ । यो डकुमेन्ट्रीमा संगीतकार दिनेश सुब्बा आफ्नो १४ वर्षे हङकङ बसाइको समीक्षा गरेका छन् । दार्जिलिङ देखि नेपाल हुँदै हङकङ सम्मको जिन्दगीको यात्राको कथा सुनाएका छन् । यतिबेलाका चर्चित कलाकारहरु पवित्र सुब्बा, लोचन भट्टराई, रामकृष्ण ढकाल, एम बराल, सत्यराज आचार्य, आदि जस्ता कलाकारहरुको सांगीतिक जन्मदाता दिनेश सु्ब्बा आफ्नो प्रसिध्दिलाई दाउमा राखेर हङकङ ओर्लेको कथा डकुमेन्ट्रीले बोकेको छ । अम्बर गुरुङ, नारायण गोपाल, भक्तराज आचार्य, अरुण थापा, रामकृष्ण ढकाल, आदिसँग जोडिएका रमाइला र भावुक प्रसंगहरुको उल्लेख छ । अनि हङकङ बसाइका क्रममा भए/ गरेका गतिविधिहरु समेटिएका छन् । जसमा "स्टार भ्वाइस अफ इन्डिया" का रोहित सुनार र "छोटे उस्ताद"का प्रकृति गिरी पनि समेटिएका छन् ।

आफ्नो जीवनको सार्थकतालाई मापन गरेका छन् संगीतकारले यस १०० मिनेटको डकुमेन्ट्रीमा । यस डकुमेन्ट्रीलाई निर्देशक निर्माता रबिन राईले तैयार गरेका हुन् । उनलाई नेपालका क्यामेरामेन राजन काफ्लेले र संपादनमा रेनु राईले सह्योग पुर्याएका छ्न् । चाँडै सार्वजनिक प्रदर्शनीको तैयारीमा रहेको यस चलचित्रलाई हिमाल एशोसियनद्वारा द्वैवार्षिक रुपमा गरिने फिल्म महोत्सवमा "हावाको क्यान्भासमा"लाई सहभागी गराउने लक्ष्य राखिएको छ ।

रविन राइ