कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

फ्युँजन् प्रतिबिम्व


अशोक पार्थिव तामाङ

अचेल
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युँजन् प्रतिबिम्व ।।

बस्ती बस्तिका इट्टाहरु ,
चोइटिएर भिख माँगिरहेछ ,
खै कस्ले उठाउनेर ?
बिजुलीका खम्बाहरु
सावाखोला र ब्वाँजरखोलाहरु ,
मसानघाट फैलाउने अठोटमा ,
कात्तिकेको भिरहरु बगाँउछ ,
अनि
जुलुस गर्न खोज्छ
मेरो सिरानी नेर
एउटा
फ्युँजन् प्रतिबिम्व ।।

युगका हातहरु
छर्लप्पै हत्केलामा गिँडिंन्दा
आकाशले आगो निल्छु भन्दै
बादललाई बटुलेर
चट्याङ हिर्काउँछ ।
त्यसपछि
बस्ती बल्छ ,बस्ती बग्छ , बस्ती रुँन्छ
अनि
सहन नसकेर
जुलुस गर्न खोज्छ ।
मेरो सिरानी नेर
एउटा
फ्युँजन् प्रतिबिम्व ।।

बिचारको मझधारमा उभिएर
पुलको सिमा नाँप्नु खोज्दा ,
यथार्थले बगाइ किनारामा तैरिँन्दा
एउटा सानो बाँसको
दाउराले पनि सम्मान माँग्छ ।
अनि
फेरि
मेरो सिरानीनेर
जुलुस गर्न खोज्छ
एउटा
फ्युँजन् प्रतिविम्व ।।

समयको बाछिट्टाहरूले चुटेर
निथ्रुक्क पार्दा
पिंडालु र मानेको झाँङगहरूमा
ओतिन्छु भन्यो
हरेउ र सिरिष साँपहरू ,
स्वागत गर्न तम्सिन्छन् ,
अनि
त्यहि बेला
मेरो सिरानीनेर
जुलुस गर्न खोज्छ
एउटा
फ्युँजन् प्रतिबिम्व ।।

गुफाहरू भित्र
सानो घाम बोकेर गयो
हुरी बतास हुँइकिन्छ
त्यहिंबेला निभाउँछ
मेरो टिनको
मट्टीतेलले बल्ने लालटेन ,
अनि
प्रत्युतरमा
जुलुस गर्नखोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युँजन् प्रतिबिम्व ।।

जब नयाँ लुगा र चस्माहरूनै
पुराना जंगली दिनको यादमा
मानव सभ्यताको ब्याख्या गर्छन्
मन भित्रका तितेसो वाक् गर्दै
अनि
संभावनामा
जुलुस गर्नखोज्छ
मेरो सिरानी नेर
एउटा
फ्युँजन् प्रतिबिम्व ।।

बर्तमान कठघरामा
दोपी भएर उभिँनुपर्दा ,
चील र गीद्दहरूले
परेवालाइ नै लखेट्दै मार्दा ,
भाग्य पिट्ने ह्याम्मरले
दलिंन भत्काउँन मन लाग्छ ।
अतः
भावावेषमा
जुलुस गर्न खोज्छ
मेरो सिरानी नेर
एउटा
फ्युँजन् प्रतिबिम्व ।।




तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )