कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मुर्ति बँनिन हत्तारिएका यि मानव अस्थिरपञ्जरहरू !

- अशोक पार्थिव तामाङ

मुर्ति बँनिन हत्तारिएका
यि मानव अस्थिरपञ्जरहरु !
दौडिरहेछ , दौडिरहेछ , निरन्तर - क्रमशः
मानम् फलामको लिकमा एउटा छकछके रेल दौडिरहेछ ।

अलिकति नाक र कान अनी हातमा
सुनको जलप लगाएर
फेशनको बस्त्र पहिरिएर
यि पद्चापहरु
हिडिँरहेछ हिडिँरहेछ निरन्तर कमशः
मानाउँ यिनीहरु हिंड्नकै लागि जन्मेका हुन् ।

यिनीहरु कहिले हाँडफोडाको जस्तै कालो कोट र सेतो कमिज माथी टाइ लगाउँदै ठमठमी हिन्छन् त
कहिले हात्ती जस्तै लमक् - लमक् चालमा
यिनीहरु उफ्रिने खोज्छन् तर खुट्टा भाँचिन्छ
किनभने यिनीहरु फट्याँङ्रा होइनन् ।
तर पनि उफ्रिरहन्छन , उफ्रिरहन्छन् निरन्तर - क्रमशः
मानम् यिनीहरू तारका स्प्रिङहरू हुन्।

किनभने यिनीहरुलाई मुर्ति बन्नुपरेको छ ।
मुर्ति बन्नु यिनीहरुको सोख हो ।
यिनीहरु आगोमा पोलिएर सुन हुँन पनि तैयार , बन्दुकको नालमा पडकिएर बारूद् हुँन पनि तैयार।
जसरी भए पनि यि अस्थिरपञ्जरहरू केवल मुर्ति बन्न चाँहन्छन् ।
सिर्फ मुर्ती बन्न चाहन्छन् ।
यिनीहरु भित्तामा टाँसिन चाहन्छन् ।
यिनीहरु पोस्टर भएर सजिन चाँहन्छन्
यिनीहरू दुँनियाले देखोस् भन्ने मात्र चाहन्छन् ।
यिनीहरूलाइ हुनुमा घमण्ड छ।
किनभने
यिनीहरुले जीवन पोस्टर हुनुमा देखेका छन् या बुझेका छन्।
यिनीहरु सिर्फ मुर्ति वा पोस्टर मात्र बन्न चाँहन्छन् ।
यिनीहरू भित्ताभरी टाँगिन चाहन्छन् तर मनभित्र हैन।

एक - एक श्वासको बासना महत्व बिहिन छ
यिनीहरु सुकेर सिकुटी हुन पनि तैयार छन् ।
यदि मूर्ति बँनिन्छ भने, यदि किर्तिमान हुन्छ भने
चाहिएको छ सिर्फ मुर्ति ,हुनुपरेको छ सिर्फ पोस्टर ।
क्रसमा टाँगिएर क्राइस्ट भगवान बने
निराहार बसेर बुद्द बने
यिनीहरू झुन्डिएर,हुन्छकि पडकिएर शहिद हुन् चाहन्छन् ।
बिचरा !
अस्थिरपञ्जरहरू !
दोबाटोमा एक्लै क्षण - क्षण उँभिनुपर्दा
माया ममता प्रेम संवेग नपाएर
कहिले हो कहिले देखि मुर्ति बँनिसकेको छ उसको प्रतिस्वरूप
तर बिचरा !
उसलाइ थाहै छैन ।
त्यसैले त
अनि उ खोजिरहन्छ मुर्ति बन्ने रहरहरू ।

मन मिल्ने प्रेमि वा प्रेमिका देखी
मन मिल्ने साथी वा सँगती देखी
मन मिल्ने परिबेश देखि
कहिले हो कहिले
थाहै नपाइ स्वयं उसले नै उ मुर्ति भइसकेको हुन्छ ।
बिचरा !
अस्थिरपञ्जरहरू !
प्रयासका पाइलाहरू छाड्दैन निरन्तर - निरन्तर एक्लिएरै भए पनि,
त्यसैले यिनीहरु अचेल श्वास नफेरी पनि बाँच्न सक्छन् ।
केही नखाइ पनि बाँच्न सक्छन् ।
यिनीहरु संम्बेदनाको मुटुलाई पनि झिकेर फ्याँक्छन् ।
किनभने मुर्तिमा मुटु हुनु आवश्यक पनि छैन ।
श्वास फेरिरहनु जरुरी पनि छैन ।
हेरिरहनु पर्ने दृष्टि पनि चाहिन्न ,अरुले हेर्दा मुर्तिमा आँखा टाँसिएको भ्रम पार्नसके पुगिहाल्छ ।
हो ठिङग उभिदिए पुग्छ दोबाटोमा यी मुर्ति बन्न खोज्ने अस्थिरपञ्जरहरूलाइ !
अरू केहि चाहिन्न
जीवनमा ,जीउँनुमा
जीन्दगीमा

फाटेको समयको कट्टु मात्र लाएर भए पनि
जीउँन सक्छन् यि अस्थिरपञ्जरहरू !
त्यसैले कहिले चप्पलमा
जँगली नङ छाम्दै पनि हिँड्न सक्छन् यिनीहरू
त्यसैले यी अस्थिरपञ्जरहरू !
साह्रै ज्याद्रा पनि छन्
समयका घाउ स्वयँ निको पार्छन्
यि समयका जोगीहरू
हो, यिनीहरू
मुर्ति बन्न हतारिएका यि अस्थिरपञ्जरहरू !
हो त्यसैले त
अचेल
यिनिहरुको अघि कोही रुन्छ भने पनी रुदैनन् ।
साह्रै निश्ठुर छन् यि स्वार्थी अस्थिरपञ्जरहरू !
मुर्ति बँनिन हत्तारिएका यि मानव अस्थिरपञ्जरहर !
हो यि मुर्ति बँनिन साँच्चै नै हत्तारिएका यि मानव अस्थिरपञ्जरहरू ।


तपेश्वरी १ , उदयपुर

( हालः इजरायल )