कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

यो शहर र च्वाँक बाँदर !

- अशोक पार्थिव तामाङ
यो शहर
थुप्रै कंङक्रिटहरूको ढिस्को हो,
तन्नेरी तरूनीहरूको
पब, क्याफे र डिस्को हो ।

यहाँ एउटा प्रोफेसरले
भरिया सित ।
उधारो मागेर जीवन खान्छ,
थोत्रे कमिजको फेंदीमा
अल्झिएको हुन्छ रहरका शिखर ।

स्टुडेन्टले
मट्टीतेल सकिएको स्टोभमा
सल्लाइ सल्काउँछ,
गृहिणीले
एक ग्लास पानीमा
दिनभरको प्यास पुर्णविराम गर्छे।
पत्रकार
बिष्णुमतिको जीवनी लेख्न थाल्छ
फोहोरको डंगुरमा उभिएर,

अलि च्वाँक बाँदर
स्वम्भु र गुहेश्वरी छोडेर
टाइ सुटमा सजिएर
न्युरोड र बसन्तपुरको जात्रा हेर्न निस्किन्छ।

उसका अनुहार
क्यामेरामा क्लिक् क्लिक् पार्छन्
झोला बोकेका खैरांतेहरूले,
भोली
अखवारको उज्यालो मसिले
उसको नाम पोतिएको हुन्छ,

अनि उ भाषण गर्छ,
म भएँ भने.....खै के के
म भएँ भने ...अरू नि के के हो के के
अनि
मान्छे नामका अनुहारले
थप्पडी बजाउँछन् परररररररररररर

सडक पेटिमा
थुप्रै श्रवणकुमारहरू
कार्टुनको सिरक र डस्नामा सुतिरहेका हून्छन् ।
उसको
पजेरो जानलाइ ठाउँ हुँदैन
अनि
पुलिस नामका जन्तुले
लाठो लाउँदै पशुलाइ झैं धपाउँछन् ।

के तिनिहरूलाइ थाहा छैन ?
तिनीहरू पनि
यो कंक्रिटको शहरमा सपना खोज्दै हिंडिरहेछन् ।
सक्ने भए सपना देउ, किन कुरा मात्र ?
सक्ने भए जीवन देउ, किन कुरा मात्र ?

हो मनुवा !
तिम्रो पनि सपना छ भने
पस यो कंक्रिटको शहरमा ।
अनि बन कुनै दिन
च्वाँक बाँदर !
यदि
तिम्रो सपनाहरू
थुप्रै भीड अनि पजेरोले किचेनछ भनें।



तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )