कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास बेल्जियमद्वारा भानुजयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न



ब्रसेल्स, बेल्जियम

आदिकवि भानुभक्त आचार्यको १९७ औं जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा एक भब्य साहित्यिक कार्यक्रमको साथ बेल्जियमको ल्यूवेन सहरमा मनाईयो । पूर्व मन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले नेपाली भाषाको विकाश र विस्तारमा भानुभक्तले पुर्याउनु भएको योगदानको बारेमा चर्चा गर्नु भयो ।

प्रमुख अतिथि पोख्रेलले भानुभक्त भाषिक एकिकरण गराउने अभियन्ता हुन भन्दै विदेशमा पनि भानुभक्तको जन्मजयन्ती तथा साहित्यिक कार्यक्रम यसरी मनाउँने कुरा पहिलो पटक प्रत्यक्ष देख्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भयो ।

नेपालको अहिलेको संक्रमणकालिन अवस्थामा भाषा लगायतका विभिन्न विषयमा विवाद उठे पनि अन्य मातृ भाषाको सम्मान गर्नु पर्ने र नेपाली भाषा राष्ट्रको सरकारी तथा कामकाजको भाषा नै हुने कुरा बताउनु भयो ।


कार्यक्रमका अतिथि एन आर एन बेल्जियमका अक्ष्यक्ष पी जी शेर्पाले भानुभक्तको जन्मस्थलको संरक्षणका लागि सहयोग गर्न एन आर एन बेल्जियम तयार रहेको कुरा बताउनु भयो ।

अर्का अतिथि एन आर एन युरोपका सहसंयोजक रवीन्द्रमान श्रेष्ठले हामी नेपालीहरु भाषा प्रयोगमा शुद्धता नदिईकन अनावश्यकरुपमा अंग्रेजी भाषाका शब्द प्रयोग गर्दछौं तर राष्ट्रकै अन्य भाषाका शब्द प्रवेशलाई भने बन्देज लगाउँदछौं भन्दै चिन्ता प्रकट गर्नु भयो ।

कार्यक्रममा युवा कवि दीपकज्योती पौडेलले भानुभक्तको संक्षिप्त जीवनी प्रस्तुत गर्नु हुँदै उहाँको भाषिक योगदानको बारेमा चर्चा गर्नु भयो ।




कार्यक्रमका सभापति अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष तथा अनेसास केन्द्रीय समितिका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईंले नेपाली भाषा अब अन्तर्राष्ट्रिय रुपमा नेपाली डायोस्पोराहरुसँगसँगै विस्तार भएकोले यो अन्तर्राष्ट्रिय भाषा भैसकेको कुरा बताउनु भयो । नेपाली डायोस्पोरा नेपाली भाषाको अझ धेर विकाश र विस्तार चाहन्छन् भन्नु हुँदै नेपालमा अब बन्ने संविधानमा यसको संरक्षण र विकाशको ग्यारेण्टी होस् भन्नु भयो ।

कार्यक्रममा विभिन्न कविहरुले समसामयिक तथा भानुभक्त सम्बन्धी आआफ्ना रचना पाठ गर्नु भएको थियो । उक्त कार्यक्रममा कवि कृष्ण बजगाईं, दीपेन्द्र के सी, राजकुमार पुडासैनी, बोधराज पौडेल, संजु बजगाईं, दीपकज्योती पौडेल, रुकमणी अमात्य, कृषा शर्मा, सूर्य ढकाल, बिपिन खड्का र बालप्रतिभा कृतिस बजगाईंले कविता, गीत तथा गजल वाचन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुन नसक्नु भएका राधाकृष्ण अधिकारीको कविता मोहन खत्रीले, ईन्द्र क्षेत्रीको गजल परमानन्द सापकोटाले र नेत्रप्रसाद न्यौपानेको कविता सन्तोष न्यौपानेले वाचन गर्नु भएको थियो ।

उक्त कार्यक्रम समाजका कार्यसमिति सदस्य कवि दीपेन्द्र केसीले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य युवा कवि राजकुमार पुडासैनीले गर्नु भएको थियो ।