कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

आँधी नआउने घर मा डुबुल्की मार्दा




साहित्यकार कृष्ण धराबासीको पछिल्लो निबन्धसंग्रह आँधी नआउने घर यो सप्ताह भरी पढेर सिध्याएँ । विचारहरुका जटिल थुप्रो, कठोर संरचना र भाषाको क्लिष्टता भएको नलाग्ने यो निबन्ध संग्रह सरल, सरस रुपले बगेको छ । मानिसहरुको यथार्थ हृदय छोएर साहित्य सम्प्रेषण गर्न सक्ने खुबी भएका चम्किला स्रष्टा धराबासीको यो कृति संग्रहण योग्य छ । उनले यो निबन्ध संग्रहमा देशको राजनीतिक अवस्थाहरु तथा बेतिथिहरुलाई स्पर्श गरेर निष्पक्ष व्यङ्ग्य गरेका छन् । विभिन्न सान्दर्भिक दृष्टान्तहरु समावेश गराएर मजबुद बनाइएका प्रत्येक निबन्धहरुको आत्मपरक विशेषताले लोभ्याउने गर्छ पाठकहरुलाई । यसर्थ धराबासी आफुलाई परेका समस्याहरुको गाँठो फुकाल्ने त्यसमा आफूले अनुभव र अध्ययन गरेका कुराहरुलाई मिश्रण गरेर आफ्नै मार्का लगाई कालजयी निबन्ध लेख्नमा अब्बल देखिन्छन् ।

आँधी नआउने घर, अलाउद्दीनको बत्ती, इतिहास र भविष्यको दसगजा, भित्ते गणेश, प्लाष्टिकको मन, ढाडे, गुरुकुल, कविता र वैरागी काइँला, हनुमानेको ठेला, देश र रगत, नश्लीय बोध, के संसद्ले जे पनि बनाउन सक्छ ?, पाठक पूर्वाग्रह र लेखक, साहित्यमा सवाल्र्टनको चर्चा, जीवन, आर्यघाट र ईश्वर बल्लभ, समयको आवाज, न्यायप्रेमी, बाबु ! तिम्रो के अपराध थियो ?, हिउँमा लेखिएको नाम, अनि हेर्नु देश भनेको कस्तो हुन्छ, के गरुँ म : यो धराबासीलाई, म ढुङ्गो हुँ, दशैं, रोग–पाचन–परहेज, आखिर श्रीकृष्ण रहेछ एक ?, जुत्ता, तिमी नभएको काठमाण्डौं बस्न मन छैन विनय !, साइँली सानीमा लगायतका २७ वटा निबन्धहरु समय, परिस्थिति र दृष्टान्तहरु सबै समय सान्दर्भीक छैनन् तर तिले प्रवाह गर्ने विचार कालजयी लाग्छन् ।

आँधी नआउने घर :
पुस्तकको शिर्ष निबन्ध ‘आँधी नआउने घर’मा धराबासी विगत र वर्तमानलाई तुलना गर्दछन् । उनको विगत एकदमै पीडादायी थियो । आफ्ना बाल्यकालका प्रत्येक आरोह–अवरोहलाई कोट्याउँछन् र वर्तमानसँग समीक्षा गर्दछन् । उनको वर्तमान विगतको भन्दा आशलाग्दो छ तर देशको विगत र वर्तमान कहिल्यै राम्रो नभएको तीतो पोख्छन् । देशमा भएका ठूला–ठूला परिवर्तनसँगै देशको जनतमा केही परिवर्तन नआएको देख्दा रोष पोख्छन् । उनि लेख्छन्, ‘ठूलाठूला राजनैतिक आन्दोलन र परिवर्तनहरु आए । जनताका पक्षमा काम गर्छु भन्ने नेता, पार्टी र सिद्धान्तहरु सत्तासीन भए । संसद्मा कत्रा–कत्रा घोषणाहरु भए । कहिले देश गरिबसँग विश्वेश्वर भयो, कहिले आफ्नो गाउँ आफैँ बनाउ भयो । गणेशमान शान्ति अभियान आयो । मदन आश्रित सपनाहरु पनि छरिए । राजाका गीत त कति सय वर्ष गायोगायो देशले तर आँधीमा उडिरहेका झुपरपट्टीहरु उडिरहेकै छन् । नाङ्गो र भोको सानो कृष्णप्रसाद आज पनि ती झुपडीहरुमा टोलाईरहेकै छ ।’ निबन्धको अन्ततीर धराबासी बेखबर बनेका छन् । आफ्नो घर आँधीले उडाउँदै छानोमा झुण्डिने गरेका उनी देशको छानो उडाउन लाग्दा कतापट्टी झुण्डीने अन्यौलमा परेको बताउँछन् ।

अलाउद्दीनको बत्ती :
यस निबन्धमा धराबासी मानिसको आस्था र विश्वासका चर्चा गर्छन । उनले अलाउद्दीन बत्तीको दृष्टान्त दिएर आस्था र विश्वासबाट तिलस्मी शक्ति पैदा हुने मत प्रस्तुत गरेका छन् । उनको आस्था र विश्वासप्रति सकारात्मक सोच छ । उनि पाठकहरुलाई समेत तुल्याउँदै लेख्छन्, ‘जीवनलाई आस्था र विश्वासको धरातलबाट खसाउन सकिँदैन, खसेपछि उठाउन पनि सकिदैन । उठ्न नसक्ने गरी किन खस्ने ? एउटा जीवनलाई सदा निराश कमजोर, नकारात्मक बनाएर किन बिताउनु ? उज्यालोतीर बढ्ने धेरै बाटाहरु छन्, अँध्यारो त्याग्न सकियो भने ।’

इतिहास र भविष्यको दसगजा :
यस निबन्धमा धराबासी आफुभन्दा अग्रज साहित्यकारहरुलाई सम्झेर मुक्तिको दृष्टान्त प्रस्तुत गर्दछन् । मुक्तिका लागि भनेर गरिएका आन्दोलनहरुलाई तीतो आलोचना गर्न पुगेका छन् विभिन्न दृष्टान्तहरुको साहारा लिएर । मुक्ति कहिल्यै पूर्ण भएको भन्ने उनको बलियो तर्क छ । उनी लेख्छन्, ‘हामीले साहित्यमा मुक्तिका कुरा लेख्दछौं । हाम्रा कविताहरुमा, कथाहरुमा, उपन्यास र निबन्धहरुमा हाम्रो चिन्तनको प्रसारण भइरहेको हुन्छ ‘मुक्ति’को सन्दर्भमा तर के वास्तवमा मुक्ति सम्भव छ ? व्यक्ति वा समाज कहिल्यै मुक्त छ ? एउटाको बन्धनबाट मुक्त भए पनि अर्काको डोरीले नाकी नलागेको र ? त्यसो भए आजसम्म हामीले लेखिएका कविता वा गाइ आएको गीतको कुनै गहिर्याई रहेछ त ? रुढि अभिव्यक्ति वा जडसूत्रवादी चिन्तन साहित्यमा लेखी हामीले चेप्टो साहित्य निर्माण गरिरहेका छौं हामीले भनि आएका मुक्ति साहित्यहरु वास्तवमा एकदमै यथास्थितिवादी र अप्रगतिशील अभिव्यक्तिहरु हुन् ।’

भित्ते गणेश :
देशमा व्याप्त भ्रष्टाचार, चालुसी, चाप्लुसीलाई व्यङ्ग्य गरेका छन् धराबासीले भित्ते गणेशबाट । उनले पुराण उपकथाको दृष्टान्त प्रस्तुत गर्दै गणेश र कुमारबीच को ठूलो र वीर भन्ने विवाद सुल्झाउन शिवले संसार जो पहिले घुमेर आउँछ त्यो नै ठूलो भन्ने आदेशको शिरोपर गर्दै गणेशले ‘आफुलाई जन्म दिने आमाबाबु नै संसार हुन’ भनेर चाप्लुसी गर्दै घुम्दा ठूलो पगरी पाएकोमा व्यङ्ग गरेका छन् । चालुसी, चाप्लुसी गर्दै टाउकेहरुलाई रिजाएर ब्रम्हलुट गर्ने प्रवृत्तिको खइरो खन्दै उनी लेख्छन्, ‘काम गर्न नसक्ने, कुरा गर्न सक्ने, सधैं मालिकका वरिपरी घुमिरहने र अनेक समाचारहरु सुनाएर तिनको दिमाग ताजा गराइराख्ने गणेशहरु प्रत्येक पदोन्नति, नियुक्ति, विदेशभ्रमण र पुरस्कारका हकदारहरु हुन्छन् ।’

प्लाष्टिकको मन :
यस निबन्धमा धराबासी आत्मालोचित छन् । आफु भित्रको संवेदना कठोर भएकोमा दुःखी छन् । आफुलाई कठोर भएको आत्मनुभूति गर्छन् उनी प्रत्येक पल । मानिसहरुको संवेदना एकाएक विलीन भएको देखेर स्थिति एकदम भयावह लाग्छ उनीलाई, ‘रुद्र जी ! तिम्रो चिठीले चिनेको धराबासी अव रहेन । ऊ त हेर आज दैनिक पत्रिकाहरुबाट प्रत्येक दिन मर्नेहरुको लागत उतारिरहेको छ । आफ्नै नेपाली दाजुभाइहरुको लासमाथी उभिएर यो धराबासी आमाको मायामा रुन वा घोरिन नसक्ने भएको छ । नमार, नमार कसैलाई पनि भन्दै रोइरहन्थ्यो पोहोरसम्म । अब त आँखा पनि शुष्क भएका छन् । ओठहरु हाँस्दैनन्, आँखामा आतंक नाचेको छ । विश्वासको पहिले नै विदा लिइसकेको मनमा शंका र त्रास झाँगिएर उभिएको छ ।’ आश गर्छन् उनी सायद त्यो पूरा हुन्छ, हुन्न्, ‘उनीहरु ती जो बन्दुकसँग खेलिरहेका छन्, तिनले बन्दुक बिसाउन, मानिसहरु मार्न छोड्न, रगतको होली नखेलियोस् । भत्केका घरहरु, मन्दीरहरु र मनहरुको जिर्णोद्धार होस् । आज त म एउटा सानो प्लास्टिकको मन लिएर प्रस्तर उभिएको छु, आगतीर फर्किएको अनुहार बनाएर’

ढाडे :
समाजमा व्याप्त रहेको पुरुषवादी प्रवृत्तिलाई पर्दाफास गरेका छन् यस निबन्धमा धराबासीले । उनले पुरुषलाई ढाडे विरालोको संज्ञा दिएका छन् । सुरुमा कथा जस्तै लाग्ने यो निबन्ध मार्मिक छ । समाजमा अधिपत्य जमाएको जो कोही पुरुष यो निबन्ध पढेपछि स्खलित हुन्छन् । स्वयम् धराबासी नै स्खलित भएका छन्, ‘मेरै पत्नीका निम्ति पनि म ढाडे नै छु । मैले पनि सीताजीलाई ती स्वतन्त्र दिएका छुइनँ । समाजको संरचनाभित्र समाहीत हुनु परेको बाध्यतालाई ठूलो ‘प्लेकार्ड’ देखाएर यो सामाजिक बन्धनमा पुरुषबाहेक प्रकृतिको सबै कुरा बन्दी छ ।’

हनुमानेको ठेला :
हनुमानेको ठेला चोरिएको कथासँग नजिकिएको छ यो निबन्ध । ठेला चोरिएर विरक्तिएको कमजोर, अशक्त तथा निर्धो हनुमानेको जीवनसँग छर्लङ्गै पारेका छन् निर्धाका लाचारीपनाहरुलाई उनले । निर्धालाई जहिल्यै प्रहार हुन्छ भन्ने तीतो सत्य व्यक्त गरेका छन् धराबासीले । उनले आर्दशका कुरा र वास्तविकताका कुरालाई नमीठोसँग पोखेका छन्, ‘कर्मयोगका श्रीमद्भागवतहरु, साम्यवादका डैस क्यापिटलहरु सब असफल छन् । यहाँ बग्ने पसिना र आँशुको मूल्य कहिल्यै तोकिएन, बग्नबाट पनि रोकिएन ।’

देश र रगत :
‘देशले रगत मागे मलाई बलि चढाऊ..’ भन्ने गीतबाट सुरु भएको यो निबन्ध रगतको मूल्य तौलिन पुग्छ । आजकल देशका निम्ति बगाउने भन्दै बलि चढाउने र चढिनेको मृत्यू धराबासीलाई निस्सार लाग्छ । देशको निम्ति बलि चढ्ने्, चढाउनेहरुको हानाथापसँगै देशले निकास नपाएकोमा धराबासी निबन्धसँगै बिरक्तिएका छन् ।

न्यायप्रेमी :
सन् १९०५ को रुसी क्रान्ति र गुरुकुलको सम नाट्यघरमा मञ्चित गरिएको नाटकको सेरोफेरोमा घुमेको छ यो निबन्ध । रुसको क्रान्तीमा बालककलाई जोगाउन शत्रुमाथि बम नफ्याँकिएको बमको प्रसंङ्गलाई यस निबन्धको गुदी बनाइएको छ । धराबासी क्रान्तिभित्र मानवताको इज्जत र सम्मान हुनुपर्नेमा जोड दिन्छन् । क्रान्तिको नाममा भ्रान्ति ल्याउने तत्वलाई गतिलो झापड हान्दै लेख्छन्, ‘अर्काका इतिहास पढेर परिवर्तनको लडाईको अगेँनो जोर्नेहरुले तिनकै लडाईको अनुशासन चाहिँ किन नपढेको होला ?’

बाबु ! तिम्रो के अपराध थियो :
गरिबी र भोको पेटकको कारण एउटा बाबुले आफ्नै छोरीलाई झुण्डाएर निर्मम हत्या गरेको समाचारबाट सुरु भएको छ यो निबन्ध । भोको पेटले आफ्नै शरीरलाई समेत चिन्दैन भन्ने तीतो यथार्थ पोखेका छन् धराबासीले यस निबन्धमा । भोकले नै अपराधीहरु जन्मिन्छन्, जेलहरु बनाइन्छन् जेलमा कोचेर अपराधको अन्त्य गर्नुभन्दा अपराधका सम्भावनाहरुलाई अन्त्य गर्नुमा जोड दिएका छन् उनले । उनको विचारमा समाजिक रुपान्तरण विना परिवर्तन सम्भव छैन ।

म ढुङ्गो हुँ :
यस निबन्धमा वर्तमान चिन्त, प्रवृत्ति, शासन, संरचना, सामाजिक मान्यताहरु सबै जडता, सुत्रता र रुढतातीर आकर्षित भएकोमा तीती सत्य पोखेका छन् उनले । यथार्थलाई ढाकछोप गरी कल्पनामा रमाइरहेकाहरु प्रति उनी चिन्तित देखिन्छन् । भाषाले, भावले, अर्थहरु जोगाएर वस्तुको यथार्थ रुपभन्दा अलग्गै बनाई त्यसलाई बुझ्ने र बुझाउने चेष्टा भइरहेको बताउँछन् उनी । दिनदिनै सम्पूर्ण वातावरणहरु जटिलतातीर उन्मुख भएको देखेर उनी लाचार भएको बताउँछन्, ‘प्रत्येकभित्र ढुङ्गो पलाएको यस क्षणमा आफूमात्र कमलो बदाम बाँच्नु असम्भव छ । आतंकको छडीले छोइएर अजाख पल्टिएको वर्तमान विश्वमा कुनै राजकुमार दिक्पालको आगमनको प्रतीक्षा उभिएको छ मस्तिष्कभरी, अहिलेलाई म ढुङ्गो हुँ, उभिए गतिहीन, मूर्तिवत् !’

तिमी नभएको काठमाण्डौं बस्न मन छैन विनय ! :
तिमी नभएको काठमाण्डौं बस्न मन छैन विनय । निबन्धले पाठकहरुलाई मर्माहित बनाउँछ । विगत र वर्तमानका शब्दहरु स्वर्श गर्दा कारुणिक लाग्छन् । आफ्नो सहृदयी साथी विनय को असामयिक निधन हुँदा पलपल टुक्रिएका छन् धराबासी । उनिसँग बिताएका पलहरु अझैपनि उनको आँखामा नाचिरहेका छन् । उनीसँग सजाएका सपना तथा वाचाहरु सम्झेर अश्रुधारा बग्छन् धराबासीका । आफ्ना परममित्रको वियोगमा उनलाई काठमाण्डौं निस्सार लाग्छ, ‘विनय ! मैले तिमीलाई आजसम्म पनि बिर्सन सकेको छैन मित्र ! तिमी झन्झन् आलो स्मृतिमा छौ साथी ! आज म लामै समय बस्नेगरी काठमाण्डौं आएको छु । तिम्रो कार्यालयको अगाडिबाट सधैँ उधो झर्छु, कृषि विकास बैंकको मुख्य कार्यालयतीर । एकपल्ट तिमी बस्ने कोठाको झ्याल हेर्छु सधैँ । काठमाण्डौं त कस्तो–कस्तो भएको छ । तिमी नभएको काठमाण्डौं–बस्ने मन छैन विनय !’



रहलमा, ‘आँधी नआउने घर’का प्रत्येक निबन्धहरु नेपाली निम्न मध्यमवर्गीयहरुको मन र त्यसको जीवनशैलीलाई प्रतिनिधित्व गरेको छ । संकलित केही निबन्धहरु अखबारी लेखनको रहरमा संकलन गरिएझैँ लागे पनि त्यसले प्रवाह गर्ने संन्देश चाहिँ महत्वपूर्ण लाग्छ । पैरवी बुक हाउसको प्रकाशन र वितरण रहेको यो निबन्धसंग्रहका सम्पादक हेमभण्डारी रहेका छन् । पुस्तक पसलहरुमा यो निबन्धसंग्रह रू. १५०/- मा पाइन्छ ।