कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

रुसी महाकवि पुश्किनको देशमा १९७ औं भानुजयन्ती सम्पन्न




विश्व नेपाली साहित्य महासंघको संयोजकत्वमा एवं अन्तररास्ट्रिय नेपाली साहित्य समाज रुस शाखाको तत्वावधानमा यहि जुलाई २१, २०१० रुसको राजधानी मस्को स्थित रमणीय क्ल्याज्मा जलसरोवर विश्राम-क्षेत्र ख्लेव्निकोभामा एन.आर.एन.रसियाको वार्षिक-क्यालेन्डरमा समाहित १९७ औं भानुजयन्ती बनभोज कार्यक्रमकासाथ भव्यतापूर्वक सम्पन्न भयो |

लोकको हितको खातिर धनञ्जय आचार्यको पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते जन्मेका आदिकवि भानुभक्तले रामायणजस्तो महाकाव्यका साथै प्रश्नोत्तरमाला, भक्तमाला, बधुशिक्षाजस्ता लघुकाव्य र अन्य तीन दर्जनजति फुट्कर कवितासमेत रचेर साहित्यमा नेपाली भाषा प्रयोगको क्षेत्रमा नयाँ अध्यायको सुरुवात गर्दै नेपाली भाषालाई काव्य भाषाका स्तरमा समुन्नत तुल्याई महत्वपूर्ण योगदान पुर्‍याएको प्रसंगमा स्वर्गीय कविज्युको बहुआयामिक व्यक्तित्वको वृहत चर्चा-परिचर्चा चलेको उक्त समारोहको सभापतित्व एन आर एन रसियाका अध्यक्ष डा. मनिराज पोखरेलज्युले गर्नु भएको थियो भने, प्रमुख अतिथिमा महामहिम राजदूत सुर्य किरण गुरुङ, विशेष अतिथिमा एन आर एन केन्द्रीय उपाध्यक्ष जीवा लामिछाने हुनुहुन्थ्यो |

रुसी महाकवि पुश्किनको कर्मभूमिमा नेपाली विभूति आदिकवि भानुभक्तको
सम्मानपूर्वक सम्झना गर्ने त्यस समारोहमा एन आर एन रसियाका सल्लाहकार डा. कुमार कार्कीले भानुभक्तको "एक दिन नारद सत्यलोक पुगीगाया..." सिलोक वचन गर्दै विश्व नेपाली साहित्य महासंघका अध्यक्ष एवं एन आर एन रसियाका महासचिव डा. मधु माधुर्यले विधिवत कार्यक्रम संचालन गर्ने कुरा घोषणा गर्नुभएपछि भानुभक्तप्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्दै कार्यक्रम अघि बढाइएको थियो| झन्डै २ दर्जन नेपाली साहित्यानुरागीहरुको उपस्थिति रहेको उक्त समारोहमा आयोजककोतर्फबाट सबैलाई स्वागत गर्दै एन आर एन रसियाका सल्लाहकार,समाजसेवी एवं धारा-प्रवाहवक्ता संतोष केसीले नेपालको राष्ट्रिय एकीकरणमा पृथ्वी नारायण शाह र भानुभक्तको महत्वपुर्ण योगदान रहेको चर्चा गर्दै हामीले आदिकविले जस्तै समाजमा आफ्नो जीवनको छाप छोड्न आवश्यक भएको कुरामा जोड दिनु भयो | आफुलाई मन परेको कविता कण्ठस्थ वाचन गर्दै अनेसास रुस शाखाका कोषाध्यक्ष दिल्ली खरेल सुमनले आयोजकको तर्फबाट भानुको जीवनबारे बोल्ने क्रममा जेल-यात्रा लगायत जस्तो सुकै स्थितिमा पनि उनको काव्यचिन्तनमा सकारात्मक सोचाई र जीवन-उपादेयताको बाहुल्यता रहेको तथ्यबारे व्याख्या गर्नु भयो |

"एक मन चित्त लगाई चाकरी गर्या" , "घांसी" जस्ता लोकप्रिय कविता- वाचनले समारोह विचविचमा भानुमय रम्घेली परिवेशको प्रतित हुन्थ्यो | उक्त रोचक कार्यक्रममा आफू अनुपस्थित रहनु परेतापनि वरिष्ट एवं लव्धप्रतिष्ठित नेपाली साहित्यकार कृष्णप्रकाश श्रेष्ठले भानुप्रती भावपूर्ण श्रद्दान्जली अर्पण गरिदिन अनुरोध गर्दै कार्यक्रमको सफलताको शुभकामना पठाउनु भएको थियो |

उद्घोषकको हैसियतले कार्यक्रम संचालन गर्ने क्रममा मधु माधुर्यले आफ्नो नयाँ क्वान्टम-कविता "अमुर्त उपहासचित्र वर्तमानको फ्रेमभित्र" र अर्को कविता "भानुलाई मस्कोवासी नेपालीको भावश्रद्दान्जली" वाचन गर्नु भएको थियो, साथै वहाले भानुको व्यक्तित्व र कृतित्व बारे प्रकाश पार्नु भएको थियो|

अनेसास रसियाका सदस्य बलराम आचार्यले भानुको योगदान बारे संक्षेपमा बोल्दै धुक्धुकी नामक पत्रिकाको चाडै नै प्रकाशन हुन गैरहेको कुरा जानकारी दिनु भयो | एन आर एन रसियाका उपाध्यक्ष एवं अनेसास रसियाका सदस्य गोविन्द प्रसाद गौतमले भानुको जीवनी र योगदानबारे धारा प्रबाह बोल्दै जसरी एउटा घांसीको इनार हेरेर भानुले आफ्नो किर्ति राख्न सफल भए त्यसरीनै हामी प्रत्यक एन आर एन ले भानुबाट यस्तै यस्तै प्रेरणा लियर राष्ट्र निर्माणकोलागि केहि महत्वपुर्ण योगदान दिन आबश्यक भएको हृदयस्पर्शी प्रसंग चलाउनु भयो | पछिल्लो समयमा भानुभक्त बारे गहन अध्ययन गर्नु भएका एन आर एन रसियाका सदस्य डा. जयराम केसीले भानुको जीवनी, अध्ययन, काव्य साधना, घासीको प्रेरणा, जेलयात्रमा समेत सकारात्मक लेखन, गोठालोहरुले तत्कालिन नेपालमा गाउने नेपाली सिलोक आदिबारे अत्यन्तै रोचक अभिव्यक्ति दिदै वहाले हरेक मान्छेले आफ्नो किर्ति-स्थापना गर्न आजदेखि नै सचेत हुन प्रेरित हुनुपर्ने आबश्यकता बारे चर्चा गर्नु भयो | मुर्धन्य कवि भानुभक्तकै कविता कण्ठस्थ वाचन गर्दै कविप्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्ने एवं सारगर्भित मन्तब्य प्रस्तुत गर्ने क्रममा नेपाली भाषा-साहित्यले विश्व साहित्यसंग प्रतिस्पर्धा गर्न सक्षम भएको प्रसंगमा त्यसको श्रेय आदिकवि भानुभक्तलाई नै जाने कुरा गर्दै एन आर एन केन्द्रीय उपाध्यक्ष तथा अनेसास रसियाका सल्लाहकार जीवा लामिछानेले भानुभक्तको सम्झनामा संग्राहलय खोल्न गैरआवासीय नेपालीहरुले समेत सहयोग गर्ने कुरामा आसा व्यक्त गर्नु भयो |

नेपाली राजदुतावासको तर्फबाट प्रतिनिधित्व गर्दै समारोहको प्रमुख आतिथ्य ग्रहण गर्नु हुने साहित्यानुरागी महामहिम राजदूत सुर्य किरण गुरुङले यथार्थ कुरा लेख्ने कविहरु भाबुक हुन्छन भन्दै नेपाली भावनाको एकीकरण गर्ने महान आदिकवि भानुभक्तप्रति श्रद्दान्जली अर्पण गर्ने सिलसिलामा वहाले भानुका कृतिहरु विभिन्न भाषाहरुमा अनुवाद गरी सम्प्रेषण गर्न सकेमा अन्तरराष्ट्रिय जगतमा नेपालको छवि अरु बलियो हुने कुरामा जोड दिनु भयो र नेपाली बसोबास गर्ने विश्वका नेपालीहरुले यस्तो साहित्य कार्यक्रम नियमित गर्नु भएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो |

समारोह विसर्जन गर्ने क्रममा एन आर एन रसियाका अध्यक्ष डा. मनिराज पोखरेलले नेपाली आदिकवि भानुभक्त रुसी महाकवि पुश्किनको समकालीन भएको, भानुभक्तले नेपाली भावनात्मक एकीकरण गरेको, हिन्दुस्थानको छेउमा नेपाली भाषाको विकास गर्नुमा भानुको महत्वपूर्ण योदान रहेको जस्ता विविध प्रसंग उठाउदै रसियामा भानुभक्तलाई चिनाउने नेपाली भाषाविद रुसी साहित्यकारद्वय करोल्योभ र ल्युदमिला आगानिनाको नाम स्मरण गर्नु भएको थियो |

नजिकै क्ल्याज्मा बगिरहेको थियो , नेपालीहरुको साहित्यिक जमघट विस्तारै बनभोजमा परिणत भयो | एक हप्तादेखि यो कार्यक्रमलाई सफल बनाउन खटिरहनु भएका संतोष केसी र दिल्ली खरेल सुमनलाइ साथसहयोग दिन वक्तावर्गका साथै कार्यक्रममा उपस्थित हुने सहित्यनुरागीवृत्तमा वरिष्ठ समाजसेवी टेकराज निरौला, एन आर एन रसियाका सदस्य गणेश रामदाम, एन आर एन रसियाका निवर्तमान अध्यक्ष डा. सुर्य रिजाल, एन आर एन केन्द्रकालागि महिला प्रतिनिधि श्रीमती सपीला राजभण्डारी, गोपी आचार्य, संजिर शर्मा , एन आर एन रसियाका निवर्तमान कार्यकारी सदस्य भारत झा, राजकुमार पाण्डे र राजदुतावास प्रतिनिधिहरु समेत हुनुहुन्थ्यो |