कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मेरो पाठकीय दृष्टिकोणमा बिसे नगर्चीको बयान




'कविता जसरी लेखे पनि हुन्छ , तर यौटै सर्त त्यहाँ मानिस हुनुपर्छ l ' भन्ने जीवनदर्शन बोकेका यूवा कवि श्रवण मुकारुङ्गलाई एतिबेलामा म बिसे नगर्चीभित्र पढिरहेकोछु l त्यसो त फेसबूकको भित्तामा मित्र स्वप्नील स्मृतिबाट पनि कृतिका बारेमा थोरबहुत जानकारी पहिले नै पनि पाइसकिएको हो l यद्यपि सिङ्गो कृतिभित्र डुब्नुको मज्जा नै अर्कै हुँदोरहेछ , एतिबेला मलाई यही नै अनुभूति भइरहेकोछ l लामा छोटा गरि जम्मा ९८ ओटा कविताहरुको संगालो रहेको 'बिसे नगर्चीको बयान' भित्र दृष्टि लगाउँदै जाँदा मानिस नभएको यौटै पनि कविता नभेट्नुलाई आफ्नो स्वकीय चिन्तनप्रतिको कविको शसक्त अडानलाई सलामी अर्पण गर्नैपर्छ l
अढाई सय बर्षसम्म शाहबंशीय राजतन्त्रको दास बनेर थेग्नै नसक्ने शोषण र दमनको सास्ती खेपेको बिसे नगर्चीको बयान होस् या समयको क्रुर र छली यात्रामा आफ्नै अस्तित्व हराउन पुगेको रामभरोसको जीवन कथा , सबैमा मानिसलाई उत्तिकै सरल र शसक्त ढंगले चित्रित गर्न सक्नु कविको उच्च काव्यिकचेतको अनुपम उदाहरण हो l
'यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा ?'
……………………………….
………………………………
कविले आदिमकालदेखि प्रचलनमा रहँदै आएको भाषा , धर्म र संस्कृतिमाथि अतिक्रमण गर्नेहरुलाई ठाडो चुनौती दिने कामदेखि लिएर हामीले आस्थाको बलि चढाइसक्यौं अब बाहिर निस्कनु पर्छ भन्दै सप्पै तह र तप्काका मानिसहरुलाई एकजुट हुन आह्वान गर्ने कामसम्म अत्यन्तै सरल तथा सरस भाषामा सजिलै सम्बोधन भएको देख्दा कविताको शक्ति साँच्ची नै कति बलियो हुँदोरहेछ ? भन्ने कुराको सजिलै अनुमान गर्न सकिन्छ l
यौटा योद्धाले आफ्नी छोरीलाई गरेको मर्मस्पर्शी सम्बोधन मात्रै हैन यो माटोभित्र उम्लिरहेको रगतको आवेग र यो महलको चोटाचोटाबाट आइरहेको पसिनाको गन्ध क-कसको हो ? भन्ने कुराको गहन उत्खनन पनि उत्तिकै समय सान्दर्भिक र यथार्थपरक रहेकाछन् भने ‘मुक्तिगीत’ शिर्षकभित्रको कवितामा गुन्जिएको सीमान्तकृत आवाजले पाठकको नशा-नशामा समेत विद्रोहको तातो रगत संचार गरिदिन्छ l
अन्याय , अपमान , अत्याचार र हीनताबोधले आहात बनेर कतै कवि आफ्नै देशसँग गुंनाशो पोखिरहेका हुन्छन् त कतै निर्वासित कविको अपूर्ण कविताहरु सुनाउन तल्लिन भइरहेका हुन्छन् l अझ हतारमा रहेको आफ्नो अतिथिलाई सम्झाउने उनको पारा त झनै लोभ लाग्दो रहेकोछ l
संयोगले हामी जन्मियौं यस माटोमा
संगै उभियौं युद्धका असंख्य मोर्चाहरुमा
प्रत्येक युद्धमा हामीलाई बचाउने
यी हिमाल , पहाड , जङ्गल , नदी र मैदानहरु
अहिले भेट्न चाहन्छन् तिमीलाई
तर तिमी हतारमा छौ
प्रत्येक क्षण हामीलाई स्याहार्ने
यी सहर , सडक , चोक र गल्लीहरु अहिले
छुन चाहन्छन् तिमीलाई
तर तिमी हतारमा छौ
………………………………………
……………………………………..
तिमी गइसकेपछि -
तिम्रो तस्बिर सुम्सुम्याएर
भावुक हुनेछैनौँ हामी
तिम्रो श्रव्य-दृश्य वा वृतचित्र हेरेर
उत्तेजित हुनेछैनौँ हामी
तिम्रा आविष्कारहरु , तिम्रा महावाणीहरु
ऋचा , मन्त्र वा मुन्धुम
केही हुनेछैनन् हाम्रा लागि
कुनै सम्झिनुपर्ने दिन हुनेछैन तिम्रो मृत्यु
सती जाने छैन कुनै उज्यालो झन्डा तिम्रो चितमाथि
तर हामी -
फेरी भेला हुनेछौँ यहीँ , यही समारोहमा
र गर्नेछौँ गम्भीर बहस
के तिमी साँच्चै हतारमा थियौ…..?
कि बिदा गर्न तिमीलाई
हामी हतारमा थियौँ ?
प्राकृतिक परिवर्तनहरुसङ्गै यौटी नारी कसरी आइमाईमा अनुवाद हुन्छे ? भन्ने कुरालाई बिनाकुनै हिच्किचाहट कवितामा पोख्न सफल कवि मुकारुङ्ग आफ्नी आमाको बयानमा भने निक्कै नै भावुकिएका छन् भने यो कविताभित्र असङ्ख्य आमाहरुको उस्तै बेदनाहरु असरल्ल पोखिइरहेका भेटिन्छन् , उस्तै कारुणिक रोदनहरु गुन्जिरहेको अनुभूत गर्न सकिन्छ अनि उस्तै क्षतबिक्षत बनेका प्रतिबिम्बहरु दृष्टिबोध गर्न सकिन्छ l

मेरी आमाको
विक्षत सारी सम्हाल्न नभ्याएर
चिच्याउँछु -
मेरी आमा बौलाही होइन
पगली होइन
द्रौपदी होइन
यो युगकी आइमाई हो आइमाई
कवि कहिले आफ्नै गाउँको तारे भीरको बयान गर्छन् त कहिले हराएको सूर्यको खोजिमा अनवरत पूर्वको नितान्त एक्लो पहाड तिर गइरहेका हुन्छन् l भने अझ कहिलेकाहीँ त राजाकुमारी डायनालाई एक जहाज मायाँ र केही गीतका अल्बमहरु पठाइदिन समेत पछि पर्दैनन् उनी ।
-बकिङ्घम दरबारको अदृश्य झ्यालबाट
तिमी -
हिन्दमहासागरमा स्वतन्त्र सल्बलाइरहेका ह्वेलहरु हेर्नू !
प्रत्येकपल्ट -
पहाड जस्तो ज्वार उठ्दा त्यसभित्र
पूर्वेली आइमाईका कत्थक नृत्यहरु हेर्नू !
तिम्रो अङ्गरक्षक - राजकुमार भएर
घोडा हाँकिरहेको हुनसक्छ समुद्रमा
सर्वाङ्ग खोलेर झ्यालका खुम्चाइहरु
मनलाग्दो बतासको स्पर्श लिनू !
………………………………………………….
आफ्नो गाउँलाई समेत आफ्नी आमा जस्तै देख्ने कविको अन्तर्बोधी अवचेतनले भानुभक्त , मोहन कोइराला र बैरागी काइँलाको जीवनलाई पनि उत्तिकै स्वतन्त्र ढङ्गले नियालेको अनुभव गर्न सकिन्छ । यद्यपि यी कविताहरुमा कतै कतै प्रयोग र प्रयुक्त भएका कुनै कुनै शब्दहरुले भने नजानिँदो पारामा गलत सन्देश प्रवाहित गरिरहेको आभाष समेत दिलाउँछ ।
भलाद्मीहरु भन्छन् -
कस्तो अनर्थ !
गधा बैरागी र मृत्यु
न उसको बाबुको टुङ्गो छ
न उसको आमाको पत्तो छ
बाल्यकाल -
रत्नपार्कमा भिक्स बेचेर गुजारेथ्यो
तन्नेरी भएपछि
काठमाडौ-धरान
धरान-काठमाडौ
रात्रिबसको खलासी हुँदा
गलैंचा बुन्न आउनेहरु ओसार्दा-ओसार्दै
कवि भएथ्यो
………………………………
दमको दीर्घरोगी प्रोफेसर शर्माप्रतिको सहानुभूति अनि जिउँदो देशमा पत्रकारको हत्या हुने कविको ठम्याईले मात्रै हैन किस्नेप्रतिको उनको गलत आशंका र माझी गाउँको हल्लाले पनि पाठकीय मनलाई समातेर राख्न सफल उत्तिकै छ l यतिका बर्ष परदेशिएर पनि परदेशमा नछुटेको मान्छे जब घरको मायाँले घर फर्कन्छ त्यसबेला उसलाई त्यो घरले कस्तो हार्दिक स्वागत गर्दो होला ? भन्ने कुराको अनुभूति गर्न 'घर फर्केको मान्छे' भित्र डुबुल्की मार्ने पर्छ l
‘जङ्गली फूल’ र ‘फूलको कथा’ को बिम्बमा प्रस्तुत कविता जति लालित्यपूर्ण छन् ‘युद्ध’ र ‘अनाम युद्ध’ पनि बिम्बात्मक र प्रतीकात्मक रुपमा त्यत्तिकै शसक्त लाग्छन् भने ‘शब्दको ईश्वर’ र ‘जीवनको लय’ लाई बैचारिक रुपमा बलियो कविता मान्न सकिन्छ l
मनभरी सहरको यौटा मानिसप्रतिको अनुत्तरित प्रश्नको खात बोकेर कफीसपमा धिरज राई , नवीन भट्टराई , विधान श्रेष्ठ र बबीन प्रधानदेखि लिएर कृष्णभूषण , शैलेन्द्र साकार , बिष्णुविभु , विमल निभा , सौरभ , नवीन सुब्बा , प्रकाश सायमी र नारायण वाग्लेहरुसम्मका कुरा काट्न लालायित कविमन 'ईश्वर घिस्रिएको गोहो' पहिल्याउदै 'यस बर्षको दसैं'को चिन्तामा यसरी पोखिन पुग्छ –
………………………………..
तर , हाम्रो देशमा
यो वर्ष पनि
खसीको टाउको र मानिसको मगज
असंख्य टुक्राहरुमा टुक्र्याइनेछ
र सम्भवत: यस बर्षको दसैंमा पनि
सत्ताधारी र सत्ताविरोधी
दुवैलाई -
गिदी , आँखा , कलेजो , मुटु
र तात्तातो रगत
स्टिम् बाट बिशेष फ्राई नै मन पर्नेछ
पत्रकाराहरुप्रतिको गहिरो अविश्वास संगै जन्मिएको 'पत्रकार ! तिमी मलाई चिन्छौ ?' कविता शिर्षकभित्र असरल्ल पोखिएका उनका असहमतिहरु , जाडोमा ल्याम्पपोस्टमुनि आगो तापिरहेका नानीहरुको भोलिप्रतिको उनको चिन्ता र भन्ज्याङ्गबाट आकाशतिर लाग्ने चन्द्रमा र त्यही भन्ज्याङ्गको बाटो भएर हिड्ने भरियाहरुको बारेमा उठेका बाल जिज्ञासाहरु साँच्चै नै सुन्दररुपमा प्रस्तुत भएकाछन् यस कविता सङ्ग्रहमा l
सबै मानिसहरु ठूला रहेछन्
म त कति सानी रहेछु !
अरु त दिनदिनै ठूला हुँदा रहेछन्
म त झन् झन् घट्दै गएछु !
........................................
........................................
बाबा ! यो सहरमा म दिनदिनै घट्दैछु
म यसरी घट्दै-घट्दै कुनै दिन सकिएँ भने
तपाईको ऋण कसले तिर्छ हँ ?
‘कमलरी’ शिर्षकको यो कविता पढ्दा अनायासै मन गह्रुङ्गो बनेर आउँछ भने 'हुलिया' ले पनि उत्तिकै दर्दमय चोट दिन्छ l तेसो त कवि मनको दौतारी उमेसितको पृथकताको उनको बयान पनि कम दुख्ने खालको छैन नै l यद्यपि ती सबै दर्दहरुलाई साम्य पार्न यौटै कविता 'सनकी तारा' पर्याप्त रहेको कुरालाई निसन्देह स्वीकार्नुपर्छ हामी पाठकहरुले l
यौटा सन्तानको खराब आचरणको नियति यौटी आमाले कसरी भोगिरहेकिहुन्छिन् ? भन्ने कुरालाई सुक्ष्म विश्लेषण गरिएको कविता 'छोरालाई सम्झाउनू' -ले हरेक आमाहरुको अन्तरबेदनालाई सरल र सहजरुपमा पाठकसमक्ष पस्किन सफल बनेकोछ भने देश खोज्दै जाँदा कविले आमा-बाबाट अनायासै खानु परेको खप्कीले देशप्रतिको हाम्रो चिन्तन कस्तो छ ? भन्ने कुराको बोध गराएको छ l
कविता सङ्ग्रहको अन्तिम भागतिर आइपुग्दा कवि कहिले मानिसको जीवनको गति कुर्कुच्चा हेरेरै थाहा पाउँन सकिने कुरा गर्छन् त कहिले जीवनको उत्तरार्द्धमा आफ्नै कोही अन्तर्मनको मान्छेलाई आफू पहिले पहिलेभन्दा धेरै सुध्रिसकेको साबिती बयान दिइरहेका हुन्छन् l प्रेमपर्व र प्रेमगीतको बयान गरेर नथाक्ने कविको कलम यौटा विस्मृत 'सम्झना' लाई आँशुको अक्षरमा शब्दाकृत गर्न पनि त्यत्तिकै खप्पिस देखिन्छ भने प्रेमीको प्रतीक्षामा बेचैन बनेकी झ्याउँकीरीलाई कविले दिएको सान्तवना पनि कम लोभलाग्दो रहेकोछैन l भन्नैपर्दा त्यो पुरै कवितालाई दोहोर्याई तेहर्याई नपढी पाठकको चित्त बुझ्दै बुझ्दैन l
हिँड झ्याउँकीरी हिँड जाऊँ -
बसोस् त्यो बैगुनी
गीतै लेखेर
तिम्रो माया रेटेर
मर्स्याङ्दीले तिर्खा मेटेर
इ यो मजेत्रो राख
ने यो छुरा-धागो राख
तिमीलाई मैले
मलायाबाट ल्याइदे'को l
'सूर्यग्रहण' , 'आन्दोलन -०५५' र 'धोका' सरदर सामान्य कविताकै परिचायक लाग्छन् भने 'प्रत्यागमन' त्यसको ठीक उल्टो अर्थात शसक्त र उच्च भावभूमिको यौटा अर्को दृष्टान्त l जब झन्डै साढे बाह्र पृष्ठ लामो कवितासँगै 'बिसे नगर्चीको बयान' को कायाँकैरन समापनको बिन्दुमा आइपुग्छ तब एकछिन घोत्लिनैपर्ने बाध्यताको शिकार बन्नुपर्छ पाठकहरुले l ओहो ! कति लामो आत्मकथा ९८ को ? मुन्धुमको फलाकाईसँगै च्याब्जुबाट सुरु भएको ९८ को आत्मकथा हतुवागढ़ीबाट अरुण र तमोर नदी हुँदै पान्थरको मेमेङ्ग पुगेको र त्यहीँको माटोमा ' फक्ताङ्लुङ्ग' मा अनुवाद भएको अनि बाजे राजबीर नामुद शिकारी र बाबु भगिबीर विश्व-युद्धको सिपाही बनेको रमाइलो प्रसङ्ग सहित सुरु भएको ९८ अर्थात जाँचवीर राईको आत्मकथा साँच्चै नै यौटा इतिहास जस्तै नै लाग्छ l
जापानसितको युद्धमा
आफ्नै अनुहारको सत्रुसित लड़नुपर्दा
झुक्किएर
बा घाइते हुनुभएछ
हजारौं हजारको मृत्युबाट
उम्किएर
एक्लै घर आइपुगेका बा
दर्जनौं अविवाहित सोल्टिनीहरुका
घेराबन्दीमा परेछन्
………………………………….
…………………………………...
मेरा बाका
छवटी श्रीमती
बाह्र भाइ छोरा
छ बहिनी छोरी
कान्छीआमा ल्याएको भोलिपल्टै
जेठीआमाको मृत्यु भयो
…………………………………………..
…………………………………………..
आदि इत्यादी प्रसङ्गहरुदेखि लिएर ०७ सालको घटनाक्रमको बर्णन , सिक्किम , भुटान र मणिपुरसितको उबेलाको पूर्खाहरुको रोजगारको सम्बन्ध सम्मलाई सरल र सहज ढङ्गमा व्यक्त गरिएको यस कविताभित्र ९८ को आत्मकथा मात्रै होइन सिङ्गो मानव सभ्यताको ऐतिहासिक अभिलेख नै पाउन सकिन्छ l
बलियो , हट्टाकट्टा र सोझो हुनुको नियतिमा अंग्रेजी साम्राज्यबादको पहिलो छनौटमा परेका ९८ जस्ता कति गोर्खाली सिपाहीहरुले मलाया र ब्रुनाईका घना जंगलहरुमा आफ्नै मृत्युलाई चुनौती दिए ? कति गरिब र आदिवासीहरुको राता सपनाहरुलाई बुट र बन्दुकको बलमा कुल्चिए ? तर बदलामा के मिल्यो ? फगत यौटा भिक्टोरिया क्रस र केही चाँदीका सिक्काहरु l एक अर्थमा भन्ने हो भने ९८ को आत्मकथाभित्र कोरिएका कुनै पनि शब्दचित्रहरु त्यस्ता छैनन् जुन शब्दचित्रहरुमा दृष्टि लागाउदा पाठकको नजर बिजाओस् अथवा आलस्यताले हाई काढ्न परोस् l
मलाया र ब्रुनाईको कठोर प्रवास र मृत्युलाई किनारा लगाउदै आफ्नै जन्मभूमिमा पुन: पाईला टेकेको ९८ अर्थात जाँचवीर राईको बाँकी जीवनकथा झनै चाखलाग्दो रहेकोछ l
यो साखेजुङ्गको फेदमा
मा नयाँ मानिस
आफ्नै देशलाई खुवाएर घुस
लिएँ नयाँ नागरिकता
कोरेँ मैले नयाँ घरको नक्सा
एक लहर कलिला चियाका बिरुवासँगै
रोपेँ मैले लाहुरेफूल
………………………………….
……………………………………..
बाँच्नुलाई चरा हुनुपर्ने , बचेराहरु हुर्काउनु कसैको दलानमा गुँड लगाउनुपर्ने , काशी जानुपर्ने , फर्किनुपर्ने फेरी जानुपर्ने बाध्यतासँगै थुप्रै आशाका बिस्कुनहरु फिजाइराखेर ९८ पुन: हङ्कङ्ग उड्छ , अग्ला अग्ला गगनचुम्बी घरहरुको झ्याल-ढोका सिंगार्छ र आफ्नो आयूको सिङ्गो १४ बर्ष खर्चन्छ त्यहाँ l तर बिडम्बना ! जब ऊ आफ्नो सारा जीवन परदेशमा खर्चेर आफ्नो जन्मभूमिमा पाईला राख्छ तब थाहा पाउँछ देश नामिठोसित दुखिरहेकोरहेछ l कथित् कुनै क्रान्तिकारीसित अनुहार मिलेर अनाहकमै सहादत प्राप्त गरेको छोरा र सातो हराएकी बुहारी , माइतीघर एम्बुसमा परी घाइते भएकी छोरी , चरेसको व्यापारमा संलग्न ज्वाईं , बन्दुकको खेलौना खेलाइरहेका नाति-नातिना र संवादहीन इष्टमित्र l अर्थात सबै सबै दृश्यहरु उत्तिकै कहाली लाग्दा र सन्त्रासमय l
अफ्सोच !
युगौंदेखि -
मेरो रगत र पसिना बेचेर
छाक टारिरहेको मेरो देश
बोलेन
युगौंदेखि -
मेरो रगत र पसिनाको
सुट लगाइरहेको बेलायत
बोलेन
मेरो रगतको अंशियार
मेरै दाजुभाइ
………………………….
………………………….
लोकतन्त्र दिवशको महत्वपूर्ण दिनमा समेत जनआन्दोलन र हजारौं हजार सहिद अनि तिनका घाइते , बिधवा र टुहुरा-टुहुरीहरुलाई सम्झना गर्नुको साटो सुगौली सन्धि , जङ्गबहादुरको खसीबजार , देशको बन्द ढोका , बेरोजगार , अवसरहीन छोरा-छोरी र तिनको अनिश्चित भविष्य अनि बेलायती भिसाको प्रतिक्षामा दुताबास अघाडी लाम लागिरहेका आफ्नै नम्बरीहरुलाई सम्झिनुपर्ने बाध्यताको शिकार बनेर काठमाडौ आइपुगेको कुरालाई ९८ अर्थात जाँचवीर राईले आफ्नो आत्मकथामा यसरी पोख्छ -
बाबाको मृत्यु भएपछि
मृत्युलाई जित्न
कुनै दिन अवश्यै फर्किनेछु भनी
बाचा गरेर -
बाटो छेक्ने पुर्खाको सेहें मन्साउँदै
दगुरिरहेको हुरीसित बल मागेर
मा ९८
अर्थात जाँचवीर राई
यसरी -
आइपुगेको छु काठमान्डू
शरीरभित्र गर्जिरहेकोछ घाइते बाघ ..............
समग्रमा 'बिसे नगर्चीको बयान' कविता सङ्ग्रह पठनीय मात्रै होइन अत्यन्तै रोचक ,अनि तथ्यपूर्ण कविताहरुको सँगालो समेत रहेको कुरामा कुनै सन्देह छैन l यद्यपि बिचार सम्प्रेषणको शसक्तता हुँदाहुँदै पनि कविता शिल्पगत हिसाबमा भने चाहेजति कलात्मक हुन सकेको छैन l अन्त्यमा यो आलेख 'बिसे नगर्चीको बयान' को चिरफार नभई केवल मेरो स्वकीय पाठकीय दृष्टिकोणको अभिव्यक्ति मात्रै भएको कुराको जानकारी गराउँदै सबैलाई एकपल्ट यो कविता सङ्ग्रहमा नजर लगाइदिनुहुन आग्रह समेत गर्दछु l

दोहा , कतार
२३ जुलाई २०१०