कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बाइसौँ शताब्दी नेपालीमा

विश्वप्रसिद्ध साहित्यकार राहुल साङ्कृत्यायनद्वारा लिखित "बाइसौँ शताब्दी" नेपाली भाषामा अनुवाद भई प्रकाशित भएको छ । आजभन्दा ८६ वर्षअघि लेखिएको पुस्तकमा आजभन्दा १०० वर्षपछिको विश्वको चित्र प्रस्तुत गरिएको छ । अर्थात् बाइसौँ शताब्दीको विश्व राजनीति, अर्थनीति, कृषि प्रणाली, शैक्षिक प्रणाली आदिका बारेमा राहुलका अन्तर्ज्ञानलाई पुस्तकमा प्रस्तुत गरिएको छ । बाइसौँ शताब्दीमा विश्व एक देश र एक भाषामा रूपान्तरित हुनेछ भन्ने अन्तर्दृष्टि पुस्तकमा प्रस्तुत छ ।

यसको सत्यता परीक्षण हुन बाँकी रहे पनि नेपालमा राजतन्त्रको अन्त्य, फर्पिङ जलविद्युत् गृह बन्द हुने एवं कतिपय प्राविधिक वैज्ञानिक आविष्कारसम्बन्धी पूर्वसंज्ञानले साकार रूप प्राप्त गरिसकेका छन् । निबन्धोपन्यास शैलीमा लेखिएको यस पुस्तकमा बाइसौँ शताब्दीको विश्वव्यवस्था सुविधासम्पन्न र सभ्य हुनेछ भन्ने कुरालाई प्रस्तुत गरिएको छ । साहित्यकार धीरकुमार श्रेष्ठबाट नेपाली भाषामा अनुवाद गरिएको यस पुस्तकको प्रकाशन ऐरावती प्रकाशनले गरेको छ । ‌औपचारिक समारोहविना नै पुस्तक भृकुटी मण्डपस्थित पुस्तक प्रदर्शनीमा ऐरावती प्रकाशनको स्टलमा उपलब्ध छ । प्रकाशनले यसअघि पनि राहुल साङ्कृत्यायनकै "तपाईंको नाश" रामदेव पाण्डेको नेपाली अनुवादमा प्रकाशित गरिसकेको छ ।

"बाइसौँ शताब्दी" बाट केही महत्त्वपूर्ण अंशहरू

"स‌म्वत् १०० ।"

"कुनचाहिँ सम्वत् हो यो ?"

"सार्वभौम । तपाई‌ले कुनचाहिँ सम्वत् सोध्नुभएको हो ?"

"मैले सोधेको इस्वी सम्वत् हो ।"

"त्यो त २१२४ हो ।"

"ओहो के त्यसो भए म गुफामा बसेको दुईसय वर्ष भइसक्यो त ?"

"अहिले नेपालका राजा को छन् ?"

"नेपालका राजा ? अब त राजा शब्दले केवल पुस्तकको शोभामात्र बढाउँछ । अब राजा कहाँ छन र ?"

आगामी तीन वर्षका लागि सम्पूर्ण संसारको राष्ट्रपतिका रूपमा श्रीदत्त निर्वाचित रहेछन् । प्रधानमन्त्री ओहारा जापानी हुन् । शिक्षामन्त्री मोनोलिन रुसी महिला र स्वास्थ्यमन्त्री डेविड अमेरिकी हुन् ।

"यो रेल चन्द्रागढी (चन्द्रागिरि) हुँदै काठमाडौँ पुग्छ ।"

"अहिले त फर्पिङमा त्यस्तो कुनै विद्युत् गृह छैन ।"

मङ्गल ग्रहका बारेमा पर्याप्त जानकारी प्राप्त भइसकेछ । पृथ्वीको एक ठाउँबाट अर्को ठाउँमा गरे जस्तै कुराकानी त्यहाँबाट पनि गर्न सकिने रहेछ ।

सार्वभौम सभाको केन्द्र दक्षिण अमेरिकाको ब्राजिलस्िथत नारङ्ग नदीको किनारमा छ । यस नगरको नाम सार्वभौम नगर राखिएको छ ।
काठमाडौँ (नेपाल) दार्जीलिङ र सदियाह यी तीन बाटोबाट हिमालपारि तिब्बतसम्म रेल पुगेको छ ।

उहिलेको वर्ण विभेद र राष्ट्र विभेद अहिले छैन । सबैजना एउटै दाजुभाइ जस्तो भएर बस्छन् । हब्सी युरोपियन एसियाली सबै शिक्षादीक्षा आदिमा समान छन् र रङ आदिमा पनि समान हुँदै छन् ।