कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

ढुङ्गाना, पोख्रेल, शर्मा र भट्टराईलाई त्रिमुर्ति पुरस्कार




त्रिमूर्ति निकेतनले २०६६ सालको लेखनाथ काव्य पुरस्कार श्रीमती प्रभा भट्टराईलाई, बालकृष्ण सम पुरस्कार संयुक्त रुपमा श्री सुनील पोखरेल तथा श्रीमती निशा शर्मालाई र देवकोटा काव्य पुरस्कार श्रीमती भुवन ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको साधरणसभाले सो निर्णय गरेको हो । जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा प्रदान गरिने छन् ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि चार दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याएवापत श्रीमती भुवन ढुङ्गानालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्न लागिएको हो ।

त्यसै गरी नाट्यक्षेत्रको रङगमञ्चमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्‍याउँदै नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्वलाई समेत जनमनमा पुर्‍याउन उद्धत भएबापत श्री सुनील पोखरेल तथा श्रीमती निशा शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्न लागिएको हो ।
साथै नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्‍याएबापत श्रीमती प्रभा भट्टराईलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्न लागिएको हो ।

त्रिमूर्ति निकेतनको साधरण सभाको निर्णय अनुसार निकेतन अन्तर्गतको लेखनाथ पौड्याल काव्यसभाको संयोजकमा श्री खनुप्रूदे ‘रामबाबू’, बालकृष्ण सम फाउन्डेशनको संयोजकमा प्रा.डा.गार्गी शर्मा, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानको संयोजकमा प्रा.ठाकुर पराजुली, त्रिनारीरत्न स्मारकको संयोजकमा डा.मोदनाथ प्रश्रीत, अन्तर्राष्ट्रिय सम्पर्क समितिको संयोजकमा श्री सत्यमोहन जोशी, त्रिमूर्ति पुस्तकालयको संयोजकमा श्रीमती सलोमी लेप्चा र त्रिमूर्ति निकेतनको कोषाध्यक्षमा श्रीमती उषा शेरचन रहनु भएको छ ।