कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

टुँडाल उपन्यास र समिक्षा

कृष्ण धारावासी
सर्वप्रथम कृष्ण घारावासी (कृष्णप्रसाद भट्टराई) जीको अति चर्चित ‘टुँडाल’ उपन्यासको १७६ पेजको अन्तिम अनुच्छेद जस्ताको तस्तै यहाँहरू समक्ष पेश गर्न अनुमति माग्दछु ।

“नारीले कहिले सुख पाएका छन् ? अहिले सुख पाएका छन् ? आज घर–घरमा गएर हेर्नु शारीरिक, मानसिक कुनै रूपमा पनि उनीहरू सुरक्षित छैनन् । अझ हाम्रो समाज त ‘आर्थिक अन्यौल’ मा छ । आर्थिक सम्पन्नता नै सबै कुराको अन्तिम समाधान हो भन्ने सोच्दछ । तँलाई थाहै होला नि —आज गाउँगाउँबाट विवाहित महिलाहरू वैदेशिक रोजगारीमा गइरहेका छन् । अरब, इजरायल जस्ता मुलुकमा ‘घरेलु कामदार’ का रूपमा गएका महिलाहरूको यौन जीवन कस्तो होला तँ कल्पना गर् । यहाँ आफ्नो गाउँठाउँमा त रातसाँझ एक्लै हिड्न कति समस्या हुन्छ, त्यो विदेशमा जहाँ आफ्नो भन्ने कोहि हुँदैन, अनि घरेलु महिलाका रूपमा त्यहाँका पुरूषहरूकी यौनदासी भन्दा बढि के भइरहेका छन् र? नेपाली छोरीहरूलाई पहिला–पहिला झुक्याएर बम्बैका वेश्याकोठीमा बेच्थे, अचेल राम्रै घरका छोरीबुहारीलाई उल्टै पैसा लिएर वैदेशिक रोजगारीका नाममा “यौनदासी” बनाइरहेका छन् । हाम्रो समाजको यौन चिन्तन नै के छ र? पैसा कमाएर ल्याउँछे भने लोग्ने, सासू, ससुरा सबैले फूलको माला लगाएर बोइङ चढाइदिन्छन् बुहारीलाई, कमाउन सक्दिन भने आफ्नै गाउँमा एकरात कतै अभर परेर बाहिर बसी भने घरबाटै निकालिदिन्छन् । हरेक कुरलाई पैसासँग हेर्ने मानसिकताका अघि हामी छोरीहरूको सामाजिक मूल्य परिवारसँग खोज्ने होइन, आफ्नै सङ्घर्षले स्थापना गर्नुपर्छ ।”

टुँडाल, – १७६

लेखक – कृष्ण धारावासी (कृष्णप्रसाद भट्टराई)

समिक्षा

समग्रमा उपन्यास उत्तरआधुनिक परिवेशमा लेखिएकाले धेरै राम्रो लाग्यो । यो हुनु पनि पर्छ भन्ने मेरो मान्यता छ । यौन शिक्षाका लागि टुँडाल उपन्यास पुलको रूपमा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु । तर यसो भन्दैमा आफ्नै नेपाली दिदीबहिनीहरूलाई सर्बाङ्ग नाङ्गो पार्ने काम नै त गर्नु हुदैन भन्ने मेरो मान्यता हो । लेखकद्वयको उक्त अनुच्छेदमा सिधै अरब र इजरायलमा काम गर्ने दिदीबहिनीहरूलाई घरेलु कामदारको रूपमा यौनदासीको संज्ञा दिइएकाले उक्त कुराको आलोचना गर्दछु । किनकी इजरायल, नेपाल जस्तो नियम कानुन र मानव अधिकार हनन भएको देश होइन । यहाँ मन नपरेको खण्डमा कसैले हात समात्यो भने पनि उजुरी गर्न सकिन्छ र कारवाही पनि हुन्छ । इजरायलमा कुनै पनि त्यस्ता घटनाहरू छैनन् भनेर पनि म भन्दिन तर आफुलाई जानकारी नभएको कुरा म ठोकुवा गरेर लेखकद्वयले जस्तो आफ्नो उपन्यासका पानाहरू रङ्ग्याउन राम्रो होइन कि?

उपन्यासकारले इजरायलको सबै महिला कामदारहरूको बारेमा अध्ययन गर्नु भएको भनुँ भने यस्ता हुँदै नभएका कुरा कसरी फेला पर्नु भयो? होइन भने अरू कसैले भनेको भरमा वा घरेलु कामदार भएकै भरमा यसरी निरीह भएर यौनदासी जस्तो लाञ्छना लगाउनु कति उपयुक्त होला, यो उपन्यसाकारको निजी विचारमा भर पर्दछ । अरबको कुरा त मलाई थाहा छैन । तैपनि नेपाली चेलीहरूको इज्जतमा यसरी सिधै धावा बोल्दा केहि उनिहरूका हक अधिकार र नियमकानुनका कुराहरूमा पनि ध्यान दिन पाए कसो हुन्थ्यो होला ? उपन्यासकारले यदि यौन शिक्षाका लागि उपन्यासको सिर्जना गर्नु भएको हो भने यौन मन भित्रबाट उब्जिएका वासनायुक्त क्रिडालाई समाजका हरेक दृष्टिकोणबाट नकरात्मक रूपमा हेरिनुलाई प्रष्ट्याइएको कुरामा सहमत हुनुपर्छ । यो एउटा निरन्तर चल्दै आएको र चलिरहने क्रियाकलापलाई एउटा अँध्यारो कोठा वा रात्रीपलहरूको मात्र उपमा दिइनुमा उपन्यसाकारले यसलाई अर्थ्याउने काम गर्नु भएकोमा धन्यवाद दिन चहान्छु ।

सहवास वा यौनक्रियाकलापलाई सबै सामु प्रष्ट र खुल्ला रूपमा स्विकार्नु पर्ने धारणा पनि स्वागतयोग्य नै छ । यसका लागि उपन्यसाकारले लिनुभएका केहि उदाहरणहरू जो टुँडालसँग सम्बन्धित भएर एउटा जवान नारीले पैसट्ठी बर्षे पुरूषसँग गरेको सहवासलाई सकरात्मक रूपमा लिनुपर्ने देखिन्छ । वास्तवमा यौन र यौनजन्य क्रियाकलापलाई कौतुहलतामा मात्रै सिमित राखेर धेरै जसो नारी भावनाहरू कुण्ठित बनेका घटनाहरू सर्वत्र सुन्न वा जान्न र नेपाल जस्तो देशमा यथार्थता समेत भएकाले सम्पूर्ण नेपाली पुरूष तथा महिलाहरूलाई यौन शिक्षाको अति जरूरी समेत भएको मैले पनि महशुष गरेको छु । तर यसो भन्दैमा नेपाली दिदीवहिनीहरूलाई र त्यसमा पनि इजरायलमा घरेलु कामदारका रूपमा काम गरिरहनु भएका दिदीवहिनीहरूलाई बारम्बार यस्ता आक्षेपहरू लगाइनुले अति सोचनिय बनाएको छ । यसभन्दा अगाडि पनि केहि पत्रपत्रिकाहरू र वेव पत्रिकाहरूले इजरायलका दिदीबहिनीहरूलाइ विभिन्न आरोप र लाञ्छना लगाउने काम भैरहेकाले यस प्रति मेरो सहमत नभएको धारणा व्यक्त गरिरहेको थिए र कति वेवपत्रिकाहरूमा त तुरून्त हटाउन समेत अनुरोध गरेर हटाइदिन समेत सफल भएको थिए । तर आज अचानक मेरो मन पर्ने उपन्यासकारहरू मध्ये अग्रपंक्तिमै रहनुभएका साहित्यकार तथा उपन्यासकार कृष्ण धारावासीजीको टुँडाल भन्ने उपन्यास नेपालबाटै मगाएर पढ्ने जमर्को गरेको थिए । तर एकाएक उक्त उपन्यासको १७६ पेजको अन्तिम अनुच्छेदमा यसरी इजरायलमा काम गरिरहनु भएका हाम्रा नेपाली महिलाहरू माथि विना प्रमाण गलत प्रचारवाजी लेखिएकाले, मन पर्ने उपन्यासकार भएकै नाताले पनि उक्त कुराको आलोचना गरेको हुँ । सकेसम्म यस उपन्यासलाई आफ्नै दिदीबहिनीहरूको इज्जतमा खेलवाड गर्ने आधार नबनाइयोस् भन्ने मेरो सोचाई रहेकाले कसरी सम्भव हुन्छ तुरून्त उपन्यासकार श्री कृष्ण धारावासी जीले यस तर्फ ध्यान पुराइदिनुहुनेछ भन्ने मैले आशा लिएको छु । उक्त अनुच्छेदको अन्तिम हरफहरू नारीहरूलाई साहसी बनाउँदै लेखिएको “हरेक कुरालाई पैसासँग हेर्ने मानसिकताका अघि हामी छोरीहरूको सामाजिक मूल्य परिवारसँग खोज्ने होइन, आफ्नै सङ्घर्षले स्थापना गर्नुपर्छ ।” अति नै मन परेको कुरा समेत जानकारी गराउँछु ।

धन्यवाद

हरि मानन्धर “विवश”

क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)

सचिव

अन्तराष्ट्रिय नेपाली साहित्य समाज,

केन्द्रिय कार्य समिति