कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु



-हेमन्त परदेशी

आफ्नै अन्तर्बोधी अवचेतनको -
लम्बेतन शल्यकृयापछि ,
आज मैले -
मानसिक अपहिजताबाट उन्मुक्ति पाएको छु ।
अर्थात ,
अभाव , गरिबी , कुपोषण केहि छैन अब म संग ।
त्यसैले ,
अब मैले जीवनको निस्सारता महसुस गर्नु पर्ने छैन ,
न त फिक्का र उधारो जीवानुभूतिमा -
पटक पटक -
आत्महत्याको असफल प्रयास नै गर्नु पर्नेछ ।
हो , अब म भन्छु -
आत्महत्या गर्नु सृष्टिलाई मार्नु हो ,
र , सृष्टिलाई मारेर मोक्ष प्राप्त हुँदैन ।
अर्थात ,
मोक्षको नाममा -
रुक्षता र निराकृतता अस्वीकृत छन् अब म बाट ।
किन कि ,
१ र १ , २ मात्र होइन ,
११ पनि हुन्छको गणितीय सिद्धान्तमा
मैले जीवनको सार्थकता देखेकोछु ।
त्यसैले त ,
भास्कोडिगामा र कोलम्बस बन्नु अघि -
मोहेन्जोदाडो र मेसोपोटामियाको
परिभ्रमण गरिरहेकोछु म ।
अनुभूत गर्छु आफ्नै अवचेतनले ,
मनश्चक्षुको वाचलता भित्र
बिशाल पिरामिडहरु ठोक्किन्छन् ,
नियाँल्छु , सुम्सुम्याउँछु अनि पटक पटक ठम्याउँछु ।
आहा ! कस्तो देदीप्यमान र उद्विप्त -
मानव सभ्यताका अरक्षणीय पिरामिडहरु ?
आफ्नै अभ्यन्तरिक चित्तभ्रममा नतमस्तक बन्छु म ।
थाहा पाउँछु -
सभ्यता रुख होइन ,
जो हरेक सालको पालुवा फेराइ संगै बुढो होस् ,
अनि सभ्यता थोत्रो घर पनि होइन ,
जो चाँहदैमा सजिलै भत्काउँन सकियोस् ।
त्यसैले ,
साल फेरिँदैमा बुढो हुनुलाई अस्वीकार गर्छु म ,
पुरानो हुनुको परिभाषा भित्र
सभ्यताको नवीनता खोज्छु म ।
किन कि,
मेरो अन्तर्बोधी अवचेतनले भन्छ –
बुढो र पुरानो हुनलाई नवीनताको जन्म हुनुपर्छ ,
रुखको पालुवा फेरिए जस्तै
अथवा नयाँ घडेरीहरु सम्याए जस्तै ।
तर मलाई थाहा छ -
आयु छोट्टिनुलाई नै बुढ्यौली ठान्नेहरु ,
अर्थात ,
पुरातन माथिको नवीनतमको दिग्बिजय ठान्नेहरु ,
सधैँ झैँ यो साल पनि
त्यसरी नै उल्लासित हुनेछन् , उमङ्गित हुनेछन् -
अनि नयाँ सालको आगमन संगै –
अरुको बुढ्यौलीमा
आफ्नो जवानीको बिजयोत्सव मनाउँनेछन् ।
त्यसैले ,
दिगभ्रमित समयको सुरुआत हुनु अगावै ,
अर्थात ,
कुपोषित मानसिकताहरुले
इन्क्लाबका नाराहरु उराल्न अगावै ,
म आफ्नै अन्तर्बोधी अवचेतनमा
सभ्यतासंग संभोग गर्न चाहन्छु ,
स्खलित हुन चाहान्छु ,
र ,
एउटा सच्चा नवीनताको जन्म दिन चाहान्छु ।