कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अबुधाबीमा मोती जयन्ती कार्यक्रम सम्पन्न

—विरही रिजाल, अबुधाबी यूएई

यूएईका नेपालीहरु कहिले संगीतमा रमाउँने गर्छन् त कहिले साहित्यमा बहकिने गर्छन् । मनै लोभ्याउने विभिन्न गजल, कविता, कथा र गीतहरुको बहकावमा झुम्मिए साहित्य तथा संस्कृतिप्रेमी नेपालीहरु अबुधाबीको केरलाइट सोसियल सेण्टरमा । युवाकवि तथा राष्ट्रिय विभूति मोतीराम भट्टको १४५औं जन्मजयन्तीको अवसरमा सर्वदा वाङ्मय प्रतिष्ठान यूएई शाखाले आयोजना गरेको उक्त कार्यक्रम नेपाली राजदूतावास यूएईका नियोग उप–प्रमुख दीपक अधिकारीको प्रमुख आतिथ्यतामा हिजो १७ सेटेम्वर २०१० का दिन सम्पन्न भएको हो । नेपाली साहित्यमा प्रथमपटक गजल विधाको वीजारोपण गर्ने गजलकार तथा युवाकवि मोतीराम भट्टको तस्वीरमा कार्यक्रमका प्रमुख अतिथिद्वारा माल्यार्पण गरि उनको स्मरण गरिइएको उक्त कार्यक्रममा उपस्थित सबैलाई संस्थाका महासचिव चन्द्रसिङ्ग चेम्जोङ्गले स्वागत मन्तव्य दिएका थिए ।



सोही समारोहमा संस्थाका सदस्य तथा कवि दीपराज न्योङ्गहाङ्गको प्रथम कविता संग्रह “क्षितिज रोइरहेछ” कृति प्रमुख अतिथिको बाहुलीबाट विमोचन गरिइयो भने आपूmले तयार पारेको यस कविता संग्रहको नाम “क्षितिज रोइरहेछ” राख्नुको अर्थ कवि न्योङ्गहाङ्गले प्रष्ट्याएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा भने पूरै हल साहित्यमय बनेको थियो । विभिन्न गजल, तथा कविता वाचन गर्ने क्रममा बीच बीचमा लोकगीतहरुको खुराक पस्कँदा श्रोताहरु हर्षविभोर भएका थिए । नरोउ धर्केर, साहुको ऋण तिरेर छिट्टै नै आउछु फर्केर बोलको गीत गायक जीवन पाण्डेले गाउँदा हल नै गुञ्जायमान भएको थियो भने सर्जक जेपी सापकोटाले आपूmलाई कविता लेख्न जाकिर हुसैनले उक्साएको वर्णन गर्दै “म डेटिङ्ग जाने मुडमा छु” शीर्षकको कविता वाचन गर्दा तालीको गडगडाहट आएको थियो ।

यसैगरी कवि तथा गायक दीपराज न्योङ्गहाङ्गले रुपक वनवासीको गजल प्रेमपत्र लिदै पातपातमा हिंडियो कुनैबेला गितारको धुनमा गाउँदा सबै मन्त्रमुग्ध भएका थिए । त्यस्तै चन्द्रसिङ्ग चेम्जोङ्ग, दीपकराज अधिकारी, कृष्ण निश्चल, दीपक खड्का, अञ्जान चतुरे आदिका गजल तथा कविताहरुले राष्ट्रप्रेम र प्रेयसीको सम्झना गर्न बाध्य बनाएको थियो भने उपस्थित दर्जनौ. सर्जकहरुले आफ्ना चोटिला खुराक श्रोतासामु पस्केका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा जनसम्पर्क समिति यूएईका उपाध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली संघ यूएईका श्याम पाठक, नेपाली एकता समाज यूएईका उपाध्यक्ष कृष्ण जि.सी., अन्तर्राष्ट्रिय नेपाली साहित्य साहित्य समाज यूएई च्याप्टरका महासचिव गिरधारी रिजाल, नेपाल पत्रकार महासंघ यूएई शाखाका केन्द्रिय प्रतिनिधि तथा एनआरएन एनसीसी यूएईका कोषाध्यक्ष जेपी सापकोटाका साथै महिला अतिथि विनिता मैनालीले यूएईको साहित्य र यसको महत्वबारे प्रकाश पारेका थिए ।

मन्तव्य दिने क्रममै विशेष अतिथिको आसनबाट बोल्दै नेपाली आदिवासी जनजाति महासंघ, यूएईका अध्यक्ष भुवन राईले अबका दिनहरुमा नेपाली सर्जकहरुले प्रेमरसलाई मात्र प्रेरित गर्ने कृतिहरु रचना गर्नुको अलावा देश विकास र राष्ट्र निर्माणतर्फ पनि ध्यान दिएर कृति रचना गनुपर्ने राय राखे भने प्रमुख अतिथिको आसनबाट दीपक अधिकारीले साहित्य र संस्कृति विना हामी बाँच्न नसकिने बताउँदै यो नै हाम्रो वास्तविक पहिचान भएको तथ्य औल्याए । शाखाका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका सचिव चेतन कार्कीले सञ्चालन गरेका थिए ।