कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नदी बगिरहेको छ ।



म्युजियम बोकेर उभिएको
उज्यालो रोक्ने तक्मा
नक्सा बिग्रेर उभिएको नाक
र लुगा फ्याँकेर स्वतन्त्र भएको मेरो युग !
आशिर्वादजस्तो बाँचेको शोक
र वरदानजस्तो बाँचेको समय !
को सक्छ सुस्ताउन
आफ्नै चिताको आगो तापेर

उपत्यका साँघुरिँदै गएको
दसगजाभित्रको मानचित्र
होचिँदै गरेका हिमघरहरु
सबैले सबैलाई
खुच्चिङको शैलीमा
बुढी औँला देखाइरहेका
राजनीतिक दुर्गहरु
हामी÷हामी बाँच्न नदिने
बखेडाबाजहरु
पिच्कारी हानेर पीपको
आकाशको रङ बदल्न कस्सिने
मातहतका योजनाकारहरु
इतिहास बक्ने नै छ
नदी बगिरहेछ अगािड
स्तम्भ नाघेर ।

उत्साहहरु बगिरहेछन् नदीसँगै
पुूलजस्तै हाँस्न गइरहेछन् समुद्रछेउछाउ
नयाँ र राम्रो बटुल्न
जाँगरहरु बुट कसेर
बगिरहेछन नदीका तरङ्गसँगै
ओठमा जून ओराल्न
आफ्नै आँगनलाई प्रेमको बन्धकी राखेर
हिडिरहेछ घाम बोकेको दिन
मेरो युग !
दसगजाको मुट्कामा उभिएर
विदाइको हात हल्लाइरहेछ ।
मन्दिर छ देवता छैन
को सक्छ निदाउन कोलाहलमा




पन्यालो खुशी ओठमा खन्याउन आतुर
पटक पटक झुक्री राखेर
थन्किएको बाघभैरव
प्राण भरिएजस्ता देखिने बादशाहका कोटहरु
जनताका हत्केलालाई सुली चढाउने
बादशाही कोटका टाँकहरु
टेक रिटेक र ओभरटेक गरिने
सतरन्जाका आदर्शहरु
खुकुरी आदेशमा चल्ने पाश्र्वको वित्तिय प्रणाली
दस्तावेज बगिरहेछ नदीजस्तै
को सक्छ बाँच्न सास फेरेर


छातीभरि बोकेर
चिसा उङहरुजस्ता पर्व र हाँसोहरु
ओसिला निद्राजस्ता जन्मोत्सव र दिवसहरु
को सक्छ रहन प्राणको दफा बोकेर

नदी बगिरहेछ
कुन सृष्टि प्रलयले ल्याउँछ
गर्भिणी आमा
भोलिको शिशुलाई

………………………………………………………………॥



मिश्र वैजयन्ती
उर्लाबारी
मोरङ