कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जापानको ११ औं नियमित साहित्य श्रींखला कार्यक्रम टोकियोमा सम्पन्न



प्रकाश पौडेल माइला

२९ सेप्टेम्बर, २०१०

नेपालबाट पाल्नु भएका वरिष्ठ साहित्यकार प्राध्यापक रामकुमार पाँडेको प्रमुख आतिथ्यतामा अनेसास जापानको ११ औं नियमित साहित्य श्रीन्खला कार्यक्रम आज टोकियोमा सम्पन्न भयो । उक्त साहित्यिक समारोहमा प्रमुख अतिथिको आसनबाट प्रा. रामकुमार पाँडेले आफ़्ना झन्डै एक दर्जन साहित्यिक सिर्जनाहरु वाचन गर्नुभयो । उहाँले कविता, ताँका, चोका, मुक्तक, गजल, सेदोका तथा हास्य कविता जस्ता फरक फरक बिधाका

श्रवनिय,चोटिला एवं गहकिला साहित्यिक रचनाहरु वाचन गर्नुहुँदा श्रोतागण भावबिभोर बन्न पुगेका थिए । मन्तब्यकाक्रममा प्रा. पाँडेले मराणोपरान्त पनि एकै ब्यक्तिमा सीमित रहीरहने हाम्रो परम्परादेखि चल्दै आएको साहित्यिक मानपदवी शेषपछि उपयुक्त अर्को ब्यक्तिलाई प्रदान गरिनुपर्ने प्रचलनको बिकास गरिनु आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । यसका लागि नयाँ पुस्ताले बिद्रोह गर्नुपर्ने बिचार पनि ब्यक्त गर्नुभयो ।

त्यसैगरी अर्का साहित्यकार मुरारी सिग्देलले जापानजस्तो मुलुकमा रहेर आफ़्नो भाषा, साहित्यप्रति यहाँका नेपालीहरुको लगावप्रति आफु प्रभावित भएको बताउँदैं आफ़्ना कविता र हाइकु वाचन गर्नुभयो । यसैगरी अर्का वरिष्ठ साहित्यकार तथा अनेसास जापानका सल्लाहकार डा. दुबसु क्षेत्रीले नेपाली भाषा साहित्यको क्षेत्रमा अग्रणी योगदान दिने प्रा. पाँडे जस्तो अग्रज साहित्यिक ब्यक्तित्वको समुपस्थितिमा आज टोकियोमा साहित्यिक कार्यक्रम गर्न पाउँदा ज्यादै खुशी लागेको बिचार ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो -भब्य र सभ्य समारोह बिचको अन्तरबारे प्रकाश पार्दै ठुला-ठुला जमघटको तुलनामा सानै भएपनि यो साहित्यिक समारोह सभ्य र शिष्ट छ र यसले आफ़्नै महत्व बोकेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले हरेक तीन-तीन महिनामा नियमित आयोजना गर्दै आएको सन्दर्भमा साहित्यिक कार्यक्रमको ११ औं श्रृँखलाको रुपमा भएको उक्त साहित्यिक समारोहमा स्रस्टाहरु शशि विक, आलोक चालिसे, प्रकाश पौडेल माइला, श्रीमती सीता शर्मा, शरदकुमार गौचन, कुमार सिंखडा, पुष्करजंग थापा, छक्कू उदासी, दिनेशराज ज्ञवाली लगायतका श्रष्टाहरुले आ-आफ़्ना साहित्यिक सिर्जनाहरु वाचन गरेका थिए ।यसैगरी सो साहित्यिक समारोहमा एनआरएन जापानका उपाध्यक्ष भूषण घिमिरे, अनेसासका पूर्व अध्यक्ष बेलु थापा, ब्यवसायी डिपी अर्याल, बिश्व नेपाली साहित्य महासंघका केन्द्रीय उपाध्यक्ष तिलक मल्ल, बिश्व हाईकु एसोसियशनका नात्सु इशी र हिडेकी इशिकुरा लगायतले साहित्यका विविध पक्षबारे प्रकाश पार्दै आ-आफ़्ना मन्तब्य राखेका थिए ।

समारोहमा अनेसासको साहित्यिक त्रैमासिक अन्तर्दृष्टि रमेश विकल अंकको प्रा. रामकूमार पाँडेले विमोचन गर्नुभएको थियो । यसैगरी प्रा. पाँडेद्वारा रचित अंग्रेजी हाइकु संग्रह फ्लोड़ेड जर्जको बिश्व हाइकु एसोसियशनका नात्सु इशिले लोकार्पण गर्नुभयो । अनेसास जापानका अध्यक्ष दिनेशराज ज्ञवालीको सभापतित्वमा भएको उक्त साहित्यिक कार्यक्रमको महासचिव पुष्करजंग थापाले सञ्चालन गरेका थिए भने उपाध्यक्ष प्रकाश पौडेल माइलाको स्वागत भाषण रहेको थियो ।

७६ औं अन्तर्राष्ट्रिय पेन (PEN) सम्मेलनमा भाग लिन टोकियो आएको पेन नेपालका पदाधिकारीहरु सम्मिलित साहित्यकारहरुको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रा. डा. रामकुमार पाँडे जापान आउनुभएको हो । उहाँको भ्रमणदलमा पेन नेपालका मुरारी सिग्देल र भीष्म उप्रेती सम्मिलित हुनुहुन्छ । समारोहमा प्रा. डा. पाँडे, सिग्देल र हाइकु एसोसियशनका जापानीहरुलाई खादा पहिरयाएर स्वागत पनि गरियो ।