कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अवतरित प्रतिविम्ब

हरि मानन्धर "विवश"

हातमा छिनो लिएर
सहनशीलताका घनहरूले
भावनाका पत्थरहरूमा
थुप्रै निराकारहरू कुदिरहेछु
चुडिएका मनहरू
कमजोर हृदयहरू
कुण्ठित बुद्धिहरू
अनि
ह्रास भएका बिस्वासहरू ।

साँसारिक इच्छाहरूको पूर्ति
धनसम्पत्तिको बढोत्तरी नभएर
आध्यात्मिक चेतनाको मार्गदर्शनबाट
भौतिक संरचनालाई ध्वस्त पार्दै
अदृश्य काल्पनिक शक्तिले
अर्थपूर्ण जीवनको
काल्पनिक धर्साहरू
युगान्तरणको पूर्णाभ्यासमा
कहिल्यै नओइलाउने
नअस्ताउने
अनि
नमर्ने दिव्य शक्तिको
सिंगो प्रारूप कोर्दैछु
र तयार पार्दैछु
सर्वव्यापी आचारसंहिता ।

केहि विखण्डनवाद सोचहरूले
छिद्र छिद्र पारिएका
मानवताका पर्खालहरूमा
चेतनाका रङ्गहरूले
सुषुप्त दिव्यता जगाउन
विस्वासरूपी अस्त्र प्रयोग गर्दै
असन्तुष्ट आत्माहरूको
कौतुहलता शान्त पार्न
आन्तरिक प्रेरणा खोज्दै
फक्रँदैछु मानव हृदयहरूमा
अनि
प्रेम विम्बको उत्सर्जनमा
प्रेमलाई नै उब्जाउँदै
पुनः कुदिरहेछु
प्रतिवादका संकल्पहरू ।