कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

पहिले हामी नेपाली हौ



भिन्न माध्यमबाट नेपाली भाषा-साहित्यका सेवक बनेका पूर्व जनकपुर र पश्चिम महेन्द्रनगरका दुई साधकले शनिबार मदन तथा जगदम्बाश्री पुरस्कार ग्रहण गर्दा राष्ट्र र राष्ट्रियताबारे राखेका धारणाले वाहवाही बटुले ।

'नेपाली त्यो हो, जसको हृदयमा सिंगो नेपाल छ- न जात, न सम्प्रदाय, न क्षेत्र, न अन्य कुनै संकीर्णता । हृदयमा नेपाल हुनुको अर्थ हो- नेपाल कतै दुःखेको छ भने मेरो हृदय सहजै दुख्नुपर्छ । यस पुरस्कारले मलगायत नेपाली वाङ्मयका सम्पूर्ण स्रष्टालाई सन्देश दिएको छ, हाम्रो सिर्जनामा नेपाल रोएको क्रन्दन, स्वर सुनिनुपर्दछ, नेपाल मुस्कुराएको रंग छरिनुपर्दछ र नेपालको आँसु पुछेर त्यसलाई हाँसोमा परिवर्तन गर्ने शब्दको जादुगरी हुनुपर्दछ,' चार दशकयता मैथिलभाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षित गराउँदै आएका प्रा.डा. राजेन्द्र विमलले जगदम्बाश्री ग्रहण गरेपछि भने ।

२० वर्षअघि एउटा दुर्घटनापछि 'स्पाइनल इन्ज्युरी' का कारण लगातार ओछ्यान परेका नरबहादुर साउद आफ्नी दिदीसाथ काठमाडौं आएका थिए । 'नेपालको बालीनाली र तिनको दिगो खेती' पुस्तकका लागि मदन पुरस्कार पाएका उनी हि्वलचेयरमार्फत मञ्चमा पुगेका थिए । 'जात, भाषा, धर्म र क्षेत्रीयताका आधारमा द्वेष सिर्जना गर्नु राष्ट्रियतालाई कमजोर तुल्याउनु हो । कुनै जात, वर्ग वा क्षेत्रको हुनुभन्दा पहिले हामी नेपाली हौं,' साउदले पनि डा. विमलकै सारको मन्तव्य राखे । साउदले आफ्नो मन्तव्यमा नेपाल कृषिप्रधान देश भईकन यही विषय र क्षेत्र ओझेलमा रहेकाले आफ्नो क्षमता र खुबीले भ्याएसम्म कृषि विषयमा बृहत् पुस्तक लेखेको बताए । 'पाण्डुलिपि तयार गर्दा विद्युत् नभएकाले मट्टीतेलको बत्ती बालेर लेख्नुपर्‍यो,' उनले भने, 'टीभी आदिको व्यवधान नभएकाले एकाग्रता उच्च स्तरको रह्यो ।'

'मिथिलापुत्र' डा. विमल दौरा-सुरुवाल र ढाकाटोपीमा सजिएका थिए । 'नेपालका सबै भाषाका साहित्यबीच परस्पर विनिमयको सुमधुर परम्पराको विकास भएर एकअर्का भाषाका साहित्यसित परिचित भई नेपालका सबै भाषाका साहित्य सबल र समृद्ध हुने र विशाल साहित्य-सम्पदा लिएर हाम्रो यो राष्ट्र एकढिक्का भएर उठ्ने सपना मैले साँचेको छु,' प्रफुल्ल मुद्रामा उनले भने, 'आञ्चलिक साहित्यको विकासद्वारा राष्ट्रभाषा नेपाली साहित्यको मातृहृदयलाई अझ विशाल हेर्न पाउने, नेपाली जीवनका सबै पाटा प्रतिविम्बित भएको तथा यसरी विभिन्न क्षेत्र र वर्गका अपरिहार्य नव-नवीन शब्दले स्वतः प्रविष्ट पाएर नेपाली शब्दकोष अझ विशाल र समावेशी भएको देख्न पाउने सपना पालेको छु ।'

मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले 'मिथिला क्षेत्रकै अभिनन्दनका रूपमा' डा. विमललाई जगदम्बाश्री प्रदान गरिएको बताए । डा. विमल शिक्षण क्षेत्रसम्बद्ध रहेर गुठीबाट पुरस्कृत हुने दोस्रा स्रष्टा हुन् । यसअघि २०४६ मा प्रा.डा. राजेश गौतमले 'नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका' का लागि मदन पुरस्कार पाएका थिए । यसैगरी, २०१५ मा 'उद्यान' कृषि-विज्ञान कृतिमा गंगाविक्रम सिजापतीले मदन पुरस्कार पाएपछि यसपटक महेन्द्रनगरका साउदले अर्को कृषि पुस्तकमा मदन पाएका हुन् । समारोहमा 'कणर्ाली लोक संस्कृति' पुस्तकमा २०२८ मा संयुक्त पुरस्कार पाउनेमध्येका बिहारीकृष्ण श्रेष्ठले नेपाली समाजमा भएका र हुन नसकेका सुधारका पक्षमाथि विद्वत् प्रवचन दिएका थिए । समारोहमा दीक्षितको 'ककनन' का तेस्रो र चौथो भाग वितरण गरिएका थिए ।

मदन पुरस्कारको इतिहासमा पहिलोपटक २०१३ मा पुरस्कार पाउने चित्तरञ्जन नेपाली तथा राष्ट्रकवि माधवप्रसाद घिमिरे, जनकविकेशरी धर्मराज थापा, मदनमणि दीक्षित, चूडामणि बन्धु, माधवलाल कर्माचार्यलगायतका विद्वद्जनको उपस्थिति थियो ।

साभार :कान्तिपुर