कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अभिमानका अदृष्य उचाँईहरू !







- अशोक पार्थिव तामाङ





यी "तिमी" र "म" अभिमानका अदृष्य उचाँईहरू !
अग्लिंइदै गर्दा
मानवियता र सहिष्णुताका सागरहरू
मानवताको भुगोलमा
मृत सागर भएर
मुटु कलेजाको भित्र -भित्र सुकि रहेछ ।



हरिया मनका हराभरा फोक्टाहरू पनि
स्वार्थले डढेर भष्म छन्
पित्त कुहिएर
अब
विभाजनका नाममा चिरा -चिरामा दुर्गन्धित छ,

इर्ष्याको हैंजा फैलिइएर
टेथिस सागरको बगर भरी
मान्छेको हाडखोर बटुल्ने दिन
देख्नु नपरोस् ।
जन्डिसले समाएको यो रोगी परिवेश
मानव भुगोललाई पहेंलो बनाएर नजाओस् ।
प्रत्येक याममा तोरी फुलेर
भमरा डुलोस् ,
चराहरू चिरबिराओस् ।
प्रत्येक बर्षातमा
आकाश देखी कञ्चन पानी नै बर्षियोस् ।
रिसको घामले
धरती न्यानो हुन्न,
मान्छेका आँशु र रगतका नदीले
भुगोलका टापुहरूमा कहिल्यै उन्नत सिचाईं हुन्न ।

आफु छोडेर युग सोच्ने कि ?
वर्तमान मात्र नभएर भविष्य पनि हेर्ने कि ?
त्यसैले
"तिमी" र "म" अभिमानका उचाईंहरू !
ढल्नै पर्छ
यो सुन्दर मानविय गोलार्द्द भरी
हराभरा तोरी फुलाउँनको लागी ।


"समाप्त "
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )