कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

राजदूत पौडेलको छैटौ ‘कृति आफ्नै अतित दोहोरिए जस्तो’ प्रकाशित



कुवेतका लागि नेपाली राजदूत पदमा आसिन कथाकार मधुवन पौडेलको छैटौ कृति ‘आफ्नै अतित दोहोरिए जस्तो’ प्रकाशित भएको छ ।

शाखा अधिकृतको रुपमा परराष्ट्र मन्त्रालयबाट सेवा शुरु गरेका पौडेल राजदूतको जिम्मेवारी सम्हाल्दासम्म आफुलाई एउटा उच्च दर्जाको कुटनीतिज्ञ मात्र होइन बरिष्ठ कथाकारको रुपमासमेत स्थापित भइसकेका छन् । कथा र कूटनीतिमा एकसाथ नाम बनाउन सक्षम पौडेलले चार दशक लामो कथायात्रामा पाँच कथासंग्रह प्रकाशन गरिसकेका छन ।

राजदूत पौडेलको छैटौ संग्रह ‘आफ्नै अतीत दोहोरिए जस्तो’ उनलाई राम्रा लागेका र सान्दर्भिक लाग्ने १५ कथाहरूको संग्रह हो । कुवेतस्थित प्रकाशक अभि-जमान स्मृति ट्रस्टका तर्फबाट होमबहादुर क्षेत्रीले प्रकाशकीयमा भनेका छन् मानव मनका कोमल भावना र पारस्परिक सम्बन्धको ऐना देखाउने प्रयास यी कथाहरूमा भएको छ ।

ललितपुरको लामाटारमा जन्मेका कथाकार पौडेल नेपाली साहित्य र कला क्षेत्रमा मानश्री पुरस्कारबाट सम्मानित भइसकेका छन् । कविताबाट साहित्य क्षेत्रमा प्रवेश गरी २०२५र२०२६ बाट लेखनको थालनी गरे पनि २०३४ देखि नियमित लेखन शुरु गरेका हुन् । निबन्ध, ऐतिहासिक लेख, कविता र केही मुक्तकहरु लेखेका पौडेलको पहिलो प्रकाशित पुस्तक कथासंग्रह ‘बाँच्नुको विवशता’ २०४१ हो । त्यस्तै ‘नलिनी भाउजु’ २०४९, ‘म र मेरो परिवेश’ २०५०, अवतरण र अरु कथाहरु २०५८ प्रकाशित भएका छन ।

कथाकार पौडेलको नयाँ कृति कथा सँगालो ‘आफ्नै अतित दोहोरिए जस्तो’ का कथाहरु लघु आकारका देखिन्छन, तर कथाको भित्री गुदीको स्वाद लिदा गहनता र बैशाल्य थाहा लाग्छ । कथानकमा बैविध्य छ अनी पाठकलाई अंतसम्म पढन वाध्य गराउने तिलस्मा पनि छ । यस संग्रहमा परेका १५ वटा कथा बिभिन्न कालखण्डमा लेखिएका भए पनि प्रासंगिक र रोचक देखिन्छन ।
समाजमा ब्यस्त कारुणिक पक्षलाई टिप्नमा कथाकारको शिप देखिन्छ । सरल भाषा अनि छेउँछाउँकै चरित्रहरुका माध्यमद्धारा समाजको आँखा खोल्न खोजिएको छ । यो संग्रहमा सृजनशिल कृयाशिलतालाई प्रमाणित गर्ने ‘नलिनी भाउजु’ र ‘बाँच्नुको विवशता’ पहिले लेखिएको भए पनि आजको सन्दर्भमा घतलाग्ने देखिन्छन । ब्रिटिश गोर्खा भर्ती हुने सपना बोकेका युवाहरुको मानसिकतादेखि परिवारको कहल र संकटबाट उम्किन विदेशिन पुगेका र आफ्नो परिवारको पेट पाल्न डाँडा काटेका नेपालीहरुको साथै लाउरे बन्न पाउँदाको आकर्षणपूर्ण जीवनप्रति लालयित हुने गरेको जमात, एउटा बहादुर सिपाहीको जीवनकथादेखि गरिबीमा पिल्सिएर आफ्नै छोरी दलाललाई बेच्ने निरिह परिवारको दुखेसो समेटिएको छ ।

कथाकारले यो संग्रह लेखन कार्यमा निर्वाध प्रेरणा दिदै आएकी धर्मपत्नीको नाममा समर्पित गरेका छन ।