कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

एक सत्य पल

 आशा गुरूङ


खोज्न चाहे खुशी चौतारीमा
मौनतामा अल्झिरहे ।
आँधी बेहरी अनी बर्षा र बादल
आकाशै ढाक्ने कुहिरो
मानौँ म कनिकुथी पदचापहरु नाप्दैछु ।

शुन्यतामा हराउन खोज्ने यि विहानीहरु
उषाका लालीहरुले पछ्याउँदैछन् ।
लाग्छ पहाड, तराईको छात्तीभरी
उकुसमुकुस थुप्रीएको छ
तैपनी सदा,सर्वदा बाँचेकै छ र  बचाँएकै छ ।

मैले पनि त देउरालीसँगको कसम
अझै भुलेकी छैन ।
संघर्षमय यि समयका झोँकाहरु
आगो भएर दन्किन्छन् पाइला-पाइलामा
उतारचढावका कयौँ ज्वालामुखीको
लाभाहरु बिच म आँफैलाई खोज्दैछु ।

डराउँदिन म ति बुलन्द आवाजहरु देखी
झस्किन्न म नमिठो सपना देखी
किनकी,
अव समय बदलिसकेको छ  ।
कालो वादल हटिसकेको छ ।
निरासाको पर्खाल भत्किसकेको छ ।