कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कबिता


त्यो साँघुरो रोडको धुलौटे छातीले

थेग्नै नसक्ने गन्जागोल भिडभाडमा

अंचेटिँदै घचेटिँदै

बेपर्बाह गन्तब्य भेट्न हतारिँदा

अस्तै मात्रै त हो मेरो सारीको सप्को


कुन बदमासले तानिदिएको,


भिड दर्शकमा बदलिनु अगावै

बलपूर्बक सम्हालिएर पल्लो पेटिमा पुगेपछी

नरपशुको अनुहार त चिनिन

घ्रिणा भरि दृष्‍टि फ्याँके सम्पूर्ण भिडमाथि

र बाटो लागेँ मुन्टो घोस्याएर घोर अपराधी झैँ,



पन्ध्र सिटको जिर्ण माइक्रो बसमा

पैँतिस यात्रु कोचिएर

मुलाको सिन्की बिर्सँदै सम्झिँदै

भगवानको दर्शन गर्न जाँदा

हिजै मात्र त हो बाबाको कोटको खल्ती


एक असत्तीले काटिदिएको,


भिडको चेपमा देखेर पनि नदेखे झैँ गरी

माइक्रोबाट झरेपछी

असत्तीमाथि त जाइलागेनौँ

बाँकी एकसाताको सामलतुमल सम्झियौँ

र बाटो लाग्यौँ बाढि पैर्होमा सर्वस्व गुमाएको पीडित झैँ,



हाय! को यहाँ असहाय!

बाटो नाप्दै म चिच्याएँ तर मनमनै,

उफ्फ! यो भिडभाड वाहनको?

मान्छेको या अशिक्षाको??

गलत राजनीतिको या अर्थनीतिको??

गलत मान्यताको या ज्ञानको आडम्बरको??

समस्याको जड् भिड,


भिडको उपज अराजकता

अराजकताको जड् के?? मेरै -हाम्रै मौनता??

कबिता 'भिड'
दीप्स शाह
deepssanu@gmail.com