(रूसी भाषामा नेपालविषयक कविता-सङ्कलनको लोकार्पणको सन्दर्भमा)
कृष्णप्रकाश श्रेष्ठ
रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानको समेत अग्रसरतामा सबभन्दा पहिले नेपालको यात्रा सम्पन्न गर्ने प्रसिद्ध रूसी प्राच्यविद् इभान पाभ्लोभिच मिनाएभको १७०-यौं जन्मजयन्तीको अवसरमा २७ अक्टोबर २०१० (बुधवार) का दिन सभाकक्षमा टांगिएको इभान मिनाएभको फोटोसमक्ष महामहिम नेपाली राजदूत श्री सूर्यकिरण गुरुङ तथा रूस महासंघको परराष्ट्रमन्त्रालयको द्वितीय एशिया विभागका उपनिर्देशक सेर्गेइ भेलिच्किनद्वारा पानसमा दीप प्रज्ज्वलनबाट शुभारम्भ भएको काव्यात्मक वैज्ञानिक सम्मेलनको भव्य वातावणमा रूस लेखक संघका सचिव भ्लादिमिर सिल्किनको नेपालविषयक कविताहरूको सँगालो 'काम-वाण' (रूसी भाषामा 'स्त्रेला ल्युब्भी') को लोकार्पण गरिएको छ ।
रियाजान नगरको “स्तार्त” प्रकाशनगृहबाट छापिएको जान यस कवितासङ्ग्रहको गातामा चित्रकार रेणुका गुरुङकृत सरस्वतीको चित्रअङ्कति पौभाको प्रतिलिपि र पछिल्तिर चाहिं कविको मुखाकृति छारिएको छ भने भित्रपट्टि पौभाका रचयिताप्रति कविद्वारा कृतज्ञता जनाइनुका साथै 'नेपालको काव्यात्मक यात्रा' शीर्षकमा कृष्णप्रकाश श्रेष्ठलिखित प्राक्कथन र पुछारमा केही कविताको नेपाली रूपान्तर तथा कविको भनाइमा 'रूसी पाठकलाई नेपाली संस्कृतिबारे बुझ्न मद्दत गर्ने हिसाबले' देवदेवी एवं अन्य नामहरूको व्याख्या पनि प्रस्तुत गरिएको छ ।
रूसको राजकीय पुरस्कारका साथै “रूसको स्वर्णिम कलम” राष्ट्रिय साहित्यिक पुरस्कार विजेता, रूस महासंघका वरिष्ठ सांस्कृतिक कार्यकर्ता, शिक्षाशास्त्रमा विद्यावारिधिको प्राज्ञिक उपाधिद्वारा विभूषित रूस लेखक संघका सचिव भ्लादिमिर सिल्किनसंग म एक दशकयतादेखि परिचित छु । उनले नेपाल देखेका छैनन्, तर रूसी भाषामा प्रकाशित नेपालविषयक पुस्तकहरूको अध्ययन एवं मास्कोमा रहेका नेपालीहरूसंगको भेटवार्ताको आधारमा उनी नेपाली संस्कृतिको किञ्चित अनुबोध गर्न सफल भएका छन् भन्ने प्रमाण उनका कविताहरूले नै दिइरहेका छन् । प्रारम्भमै कविले रूसी पाठकलाई हिमालयको काखमा रहेको सुन्दर देशतर्फ आकषिर्त गर्दै 'नेपाल' शीर्षकको कवितामा लेखेका छन् :
'पुगेको छैन नेपाल, चढेको छैन हात्तीमा ।
चुम्छन् आकाश रे डाँडा कथाको यस देशमा ।।'
(पृ. ६२)
कामदेवले हातमा भमराहरूको ताँदो भएको उखुको धनुषले पुष्पको वाण प्रहार गरी युवा-युवतीमा प्रेम संचार गर्ने प्रतीकको रूपमा 'काम-वाण' शीर्षक बोकेको कविता-सङ्ग्रहले निसन्देह नै रूसी तथा नेपाली जनताहरूमा सदभाव सञ्चार गर्ने भावार्थ बोकेको प्रतीत हुन्छ । पुष्प-गुच्छाबाट निर्मित वाणहरू राखिएको ठोक्रोरूपी यस सङ्ग्रहको शीर्षक प्रतिमात्मक छ । सुगाचरीमा सवार भएर विचरण गर्ने अनङ्क अर्थात् अदृश्य कामदेवको ठोक्रोमा पाँच पुष्प-वाण भएझैं रसियाली कविले नेपाली संस्कृतिका विभिन्न शीर्षकमा रचेका ५४ कविता-पुष्पहरूलाई विषयगत दृष्टिले पाँच पुप्प-गुच्छामा विभाजित गर्न सकिन्छ ।
पहिलो गुच्छामा उपरोक्त 'नेपाल' कविताका साथै 'बिदाको वेला नेपालमा' 'तर्राई', 'गौचर' आदि नेपालप्रति समर्पित कविताहरूलाई राख्न सकिन्छ । तिनमा आफ्नै आँखाले नेपाल नदेखेको भए पनि कविले रूसी भाषामा प्रकाशित नेपालको इतिहास, भूगोल, राजनीति, साहित्य र संस्कृतिबारे प्रकाशित कृतिहरूको आधारमा हिमालयको काखमा अवस्थित देशको सौर्न्दर्यबारे वर्णन गर्नुका साथै त्यहाँका जनताहरूप्रति मैत्रीपूर्ण सदभाव व्यक्त गरेको पाइन्छ । दोस्रो गुच्छामा नेपालीहरूले कैयौ अनुश्रुति र किम्बदन्तीहरूको समेत रचना गरी परापूर्व कालखेखि नै मान्दै आएका र रूसी कविलाई समेत कल्पनालोकमा विचरण गर्ने क्षमता प्रदान गर्ने विभिन्न देवदेवीहरूको शब्दचित्र उतारिएको छ । रूस लेखक संघअर्न्तगतको सामरिक ललित साहित्य आयोगका अध्यक्ष र 'सैन्य' ग्रन्थावलीका प्रधान सम्पादक समेत रहेका कविले परशु, धनुष-वाण आदि प्राचीन सामरिक आयुधहरूको विषयमा मात्र नभई नेपालीहरूका युद्धका षड्मुखी देवता कुमारको बारेमा समेत कविता लेखेका छन् । आफ्नो स्वाधीन अस्तित्वका लागि वीरताको प्रदर्शन गर्न पछि नहट्ने तर शान्तिकामी नेपालीहरूको भावनाको अभिव्यक्ति उनले 'कुमार' शीर्षकको कवितामा यसरी गरेका छन् :
लिनेछन् वीरको नाम युद्धका देवले अनि ।
उठ्ने छन् एक ढिक्का भै देशका जनता पनि ।।
अन्त्यमा शत्रुले भन्ला हार स्वीकार नै गरी :
'नेपालसंगको युद्ध जितिन्न है कसै गरी !!'
(पृ. ६४)
प्रस्तुत कविता-सङ्ग्रहको न्वारान समेत 'काम-वाण' भनी गरिनुबाट रूसी कविको अभिरूचि प्रष्ट हुन्छ भन्ने मलाइ लाग्दछ । रूसी कविद्वारा यस कविताको थालनी यसरी गरिएको छ :
चाँडो होस् कि ढीलो नै होस्,
निवास तिम्रो जहासुकै होस् !
हुर्रिई आउँछ नि कामवाण !
च्वास्स मुटुमा लाग्दछ काण ।।
(पृ. ६६)
तेस्रो गुच्छा चाहिं नेपालमा राष्ट्रिय महत्वको र ज्यादै पवित्र मानिने वनस्पति (पद्म, गुराँस) र जीवजन्तुहरू (कोकिल, गाई) प्रति समर्पित छ । कविले तिनमा नेपालको प्राकृतिक सौर्न्दर्य र जनआस्थाको पनि भावात्मक चर्चा गरेको पाइन्छ । चौथो गुच्छामा राशिचिन्ह (मीन, वृष, मकर) सम्बन्धी कवितालाई समावेश गर्न सकिन्छ । अनि क्रममा अन्तिम तर महत्वको दृष्टिले अग्रिम भन्न सकिने पाँचौं गुच्छामा चाहिं नेपालको प्रकृति, वातावरण, सांस्कृतिक वस्तु (शालिग्राम, अग्नि, यज्ञकुण्ड, कन्यादान, पूजा आदि) को विषयमा रचिएका कविताहरू पर्दछन् । हुन त कविले यस गुच्छाका कविताहरूमा मात्र नभई अन्य सबै कविताहरूमा समेत नेपालीहरूकै आस्था, आचरण र आकांक्षाकै उल्लेख गरेको पाइन्छ । छोटकरीमा भन्ने हो भने नेपालीहरूको भौतिक तथा बौद्धिक संसारले भ्लादिमिर सिल्किनलाई कविता लेख्न अनुप्रेरित तुल्याएको प्रतीत हुन्छ भन्दा अत्युक्ति हुने छैन, यद्यपि तत्जन्य रूसी कविको अनुभूति नेपालीहरूको चिन्तनसंग ठ्याम्मै मिल्नै पर्दछ भन्ने यसको तात्पर्य होइन । वास्तवमा भन्ने हो भने पछिल्लो स्थिति नै यस सङ्ग्रहका कविताहरूको खास विशेषता हो । रूसी कवितामा भाषिक अभिव्यक्तिको संक्षेपता, वक्रोक्ति, अनुप्रास, लयात्मकता, शब्दचयन जस्ता अभिव्यञ्जनाका माध्यमहरूको व्यापक उपयोगले गर्दा नेपाली संस्कृतिको अनुबोधात्मक क्षमता अझ बढ्न गएको छ भन्न सकिन्छ । नेपाली र संस्कृत शब्दहरूले मोहनी नै लगाएजस्तो गरी रूसी कविले कतिपय कविताको शीर्षकमा समेत तिनको प्रयोग गरेका छन्, यद्यपि पुछारमा यस्ता शब्दहरूको व्याख्या प्रस्तुत गर्न छुटाएका छैनन् । यस प्रकार रसियाली पाठकले प्रस्तुत सङ्ग्रहका कवितापाठको साथसाथै नेपालको सांस्कृतिक गोरेटोमा यात्रा गरिरहेको अनुभव गर्नेछ भन्ने मलाई लाग्छ ।
अन्त्यमा उनकै 'नेपाल' कविताबाट अन्तिम श्लोक उद्धृत गर्न चाहन्छु :
'सदा जागृत नेपाल,
नभको सूर्य खोज्छ त्यो ।
बुद्धको छत्रछायामा
शान्तिपूर्वक बाँच्छ त्यो ।।'
(पृ. ६३)
गतिविधि
साहित्यिक गोष्ठी
नेपालको सांस्कृतिक गोरेटोमा काव्यात्मक यात्रा
नेपालको सांस्कृतिक गोरेटोमा काव्यात्मक यात्रा
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम
साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com