कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मर्मभेदी गीतहरूको सङ्ग्रह : आभासित आलाप


- गीता त्रिपाठी

२०६३ सालको श्रीपञ्चमीले नेपाली साहित्यको भण्डारमा एउटा अर्को श्री थप्यो- गीतकार रमेश पौडेलको 'आभासित आलाप' । रमेश पौडेल नेपाली साहित्य र कलाको क्षेत्रमा सुपरिचित नाम हो । शब्द र शिल्पमात्र होइन, मीठो आवाजले श्रोताहरूको मनलाई साहित्यको जलाशयमा शीतल पौडन लगाउने कला र गला दुवै छ उनीसँग । रङ्गहरूसँग खेल्दै अमूर्त भावहरू जन्माउने उत्कृष्ट कलाकार शब्दहरूमा हृदय भर्न पनि उत्तिकै क्षमतावान् देखिन्छन् । जसरी सबै धर्तीपुत्रहरू लायक हुँदैनन्, साङ्ग हुँदैनन्, स्रष्टाले जन्माएका शब्दसन्तानहरू पनि सत्प्रतिशत लायक र साङ्ग नहुन सक्छन् तर रमेश पौडेलको साधनामा लायक र साङ्ग सिर्जनाको सौर्न्दर्य मुस्कुराइरहेको भेटिन्छ । यो गुण उनका रचनामा दुई तरिकाले प्राप्त भएको देखिन्छ- एकातिर उनमा प्राकृतिक परिवेश र संघ्रषमय जीवनयात्रा छ, अर्को छ परिष्कृत सिर्जना दिने धैर्य । लाग्छ उनले चाहेका भए उनी वर्षा २/४ गीत सङ्ग्रह ओइराइदिन सक्थे तर उनले छिटो चर्चामा आएर सेलाउने खहरेप्रवृत्ति भन्दा गुणात्मक कृतिबाट आफ्नो लेखकीय स्थापना कायम गर्ने उन्नत सोचलाई नै निरन्तरता दिइरहे ।

'आभासित आलाप'को मुखाकृति अत्यन्त सुन्दर छ । निलो परिवेश खोजेर सिङ्गै मुटु बिछ्याइदिन चाहने उनको कलाले पुस्तकभित्र प्रवेश गर्नु पर्ूव नै भावकका दृष्टिलाई तान्न सफल हुन्छ । उज्यालोको न्यानोपन अनुभूतिका पत्रभरि छरिन आइपुगेको आभा दिने आभासित आलापभित्र ८१ वटा सुन्दर गीतहरू सँगालिएका छन् । ती गीतहरूका सर्न्दर्भमा गीतकार लेख्छन्- "मलाई गीतकार बनाएको सुखभन्दा बढी मेरै दुःखले हो र मेरै गाउँ र परिवेशले हो । घरमाथिको थुम्कामा बसेर माछापुच्छे्र र गुराँसे पाखाहरूलाई रङ्गमा उतार्न खोज्दा बादलले नछेकेको भए सायद म लेख्दिनथेँ होला, कलाकारमात्र बन्थेँ होला । यसरी थाहा हुन्छ उनभित्रको अनुभूतिको गहिराइ । प्रकृतिसितको यो समीपता नै रमेश पौडेलका कालजयी गीत लेखनको पृष्ठभूमि बन्यो । उनका काव्यमय उपरोक्त अभिलेखमा उनीे गीति-यात्राका कहिल्यै नथाक्ने पर्वतारोही बनेका छन् ।


दुःख नै उनको गीतको प्रेरणा हो । दुःखको कारणलाई समेत उनी मायाले सुम्सुम्याउँछन् , उनभित्र विशाल हृदयाकाश छ जहाँ बादल र पानी, घाम र छाया, प्रेम र धोका, लेक र बेँसी, संस्कृति र विकृति सबैखाले अनुभूतिको प्रतिबिम्ब सल्बलाइरहेको हुन्छ ।


आँसु पोखी आफ्नै कथा लेखिरहेँ पातभरि
आकासको मेरो जून रोइरह्यो रातभरि



गीतका विषयहरू जीवनभन्दा पर छैनन् । जीवन थाहै नपाई बितिरहे पनि यसभित्रका हरेक भोगाइहरू मानिसले अनुभूतिमा सँगालिरहेको हुन्छ, त्यो अनुभूतिलाई सहृदयी शब्द-शिल्पी रमेश पौडेलहरू शब्दमा ज्यानभावले उतारिदिन्छन् र भावकहरूलाई स्वयं पनि बाँचेको महसुस गराउँछन् । साँच्चै गीत लेख्न जान्नु भनेको जिउँन जान्नु पनि रहेछ, रमेश पौडेलले जीवन लोभलाग्दो गरी जिउन जानेको प्रमाण पनि हो- यो गीत सङ्ग्रह ।

शीर्षकले नै मानवीय सम्वेदनालाई चपक्क पक्रेका. अनुभूति हुन्छ । गीति-प्रक्रिया मस्तिष्कबाट परिचालित हुँदैन । न त बाहिरी व्याकुलताले नै जन्मन्छ । मनको कोमलतम प्रकाशन नै गीतका. विशेषता हो । गीतलाई चिरफार गर्ने काम सजिलो छैन । यो मुटुको कठिन सल्यक्रिया हो । कुनै खिया लागेको चक्कु यसमा प्रयोग भयो भने मुटुको नै इन्फेक्सनजस्तै हुन्छ । गीतकारको मात्र होइन गीतको पनि अपमान हुनजान्छ । हामीमा राम्रा कुराको समेत प्रशंसा गर्नसक्ने चौडा हृदयको कमी देखिन्छ, यसै हो भने अरूको अपमान गर्ने र आत्मसम्मान खोस्ने कसैलाई हुँदैन, म त स्वयं गीत हुँ, गीतकार त भएँ कि भइँन - तर रमेश पौडेल नेपाली साहित्यका लागि सशक्त गीतकार भएका छन्, जसरी माधव घिमिरे, इश्वरबल्लभ, अम्बर गुरूङ, हरिभक्त कटुवाल, मञ्जुल, दिनेश अधिकारीहरू आदरणीय गीतकारका रूपमा अमर नाम भएका छन् ।


रमेश पौडेलले गीत प्रकाशनमा जुन र्सतर्कता अपनाएका छन् त्यो अत्यन्त प्रशंसनीय छ । गीतका सम्बन्धमा रहेको आम धारणालाई यो सङ्ग्रहले परिवर्तन गरिदिएको छ । गीत साहित्यको सुन्दर विधा हो भन्ने भावना जगाउन सफल यो सङ्ग्रहले जुन किसिमको संरचना पाएको छ, त्यो आफैमा एउटा स्तुत्य बनेको छ । प्राविधिक सचेतता र भावनात्मक उच्चताले काव्यमय भएको यो गीत सङ्ग्रह गीतप्रतिको परम्परागत अवहेलनालाई भाँचेर अगाडि आएको छ । यो सङ्ग्रहले दिने सन्देश हो- हरेक कुराको आत्मसम्मान नै त्यसको वर्चस्व स्थापनाको मूल मानक हो । आज गीतलाई नारा बनाउनेहरूको खाँचो छैन, गीतलाई लयमात्र ठान्नेहरूको कमी छैन तर गीतलाई कसरी मूल्य प्रदान गर्ने र आम युवा धारणालाई कसरी चुनौती दिने- त्यसको राम्रो निर्वाह भएको छ, भाव र कलाको उच्च संयोजन भएको छ यस कृतिमा ।


विषयगत आधारमा यस सङ्ग्रहभित्रका गीतहरू प्रेम, नैराश्य, धोका, शंका, राष्ट्रप्रेम, मिलन-विछोड सबैसबै ऋतुहरू मिसिएर बनेका छन् । इच्छा, आकांक्षा र अतृप्तिहरू नै मान्छेका जीवनका ऊर्जाहरू हुन् । आफ्नैलागि भनेर जति उत्सुकतापर्ूवक बाँच्छ मान्छे, अरूका निम्ति त्यस्तो हुँदैन तर गीतकार अरूका निम्ति बाँचिदिने मित्रको खोजी गर्छन् अर्थात् स्वयं पनि त्यसरी बाँचिदिन चाहन्छन्-

त्यस्तो मित्र भेट्न सकूँ आफ्नै मन पारि हुँदा
मुटु झकि दिन सकूँ छातीभित्र भारी हुँदा



सरल, सरस तर उच्चकोटिको भाषिक शिल्प संयोजन यो सङ्ग्रहको अर्को वैशिष्ट्य हो । अनुप्रासयुक्त साङ्गीतिक चेतनाले गीति धर्मलाई पवित्रतापूर्वक ग्रहण गरेको छ । उनी गीत लेख्नका लागि मात्र लेख्दैनन् । लेख्नु मात्र उनको उद्देश्य होइन । उनको लेखाइ र्सार्थक छ । नगाइँदा पनि भावपरर््ण्ा लाग्ने उनका गीतहरूमा विविध सांस्कृतिक परिधानका लयचेतनाले सफल नेतृत्वसमेत गरेको पाइन्छ । नेपाली गीतको यो मोडमा उनका मर्मस्पर्शी गीतहरू आधुनिक सुगमसङ्गीतको यात्रामा निर्णायक पथतिर अगाडि बढिसकेको छ । काव्यिक गीतकार समयको खरानी रङ््मा शब्दलाई आफ्नै मुटुको रङ्ग दिएर जीवन्त बनाउन सफल भएका छन् ।

उनले मार्मिक गीतहरूलाई पनि एकोहोरो पट्यारलाग्दो शोकमा पुग्न नदिई जिन्दगीका ऋतुचक्रमा आरोपित गरेका छन् । आखिर गीतै त हो त्यो हृदयसंभेद्य विधा, जुन सुरुदेखि नै शास्त्रीय ढाँचाबाट भन्दा जीवनकै परिवेशबाट सिर्जित प्रकृतिबाट परिपोषित भएर अनुभूतिको रागमा आल्हादित हुँदै गुञ्जन्छ । यिनै आल्हादमय लोकलयले बिउँझिएका सुगन्धमय गीत-रचना यो सङ्ग्रहको उचाइ हो ।
संरचनागत आधारमा पुस्तकमा एउटा बेग्लै प्रयोग पनि गरेका छन् गीतकारले । उनको कुशल कलाकार गीतकारमा सुन्दरतापूर्वक समन्वित भएको छ । सङ्गीतज्ञ अम्बर गुरूङको सिर्जनाप्रतिको आदरणीय कथनलाई अग्रस्थान प्रदान गरेपछि उनका १४ वटा गीतहरू, त्यसपछि एउटा मन्तव्य, त्यसपछि पुनः ४९ वटा गीतहरू र अर्को मन्तव्य र अन्त्यमा बाँकी रहेका १८ वटा गीतहरूको संयोजन गरिनु यसको बिल्कुलै नौलो पक्ष हो भने यसले मन्तव्य पढ्दाको स्वाद पनि बेग्लाबेग्लै र तिख्खर बनाएको आभास मिल्छ । अधिकांश गीतहरूमा गाउँको आदिम प्रकृति सलल्ल बग्दै आएको छ र त्यसैमा जीवनका असहजता, विसङ्गत भोगाइका प्रतिक्रियाहरू, रहस्यमय जीवनप्रतिको मोह, विरह, अविश्वासदेखि सहरभित्रिएपछि, विदेसिएपछि झनै चकनाचूर भएका तत्कालीन सपनाहरूको प्रतिच्छायाको छाल पनि उठेको पाइन्छ-

टुकी बाल्ने मेरो गाउँ हाँस्थ्यो पानी पँधेरीमा
यता सहर बत्ती निभाई रमाउँछ अँधेरीमा


समग्रमा रमेश पौडेलका गीतहरू सरल मानवीयपनको मायालु मनले पोतिएका छन्, साँस्कृतिक सम्पन्नताको वैभवले चुलिएका छन् । गुनासाहरू, आशाहरू र फेरि उही अनुभूतिका नरम र गरम भावका स्थापनाहरूले गीतहरू समसामयिक युगको गाथा बन्न पुगेका छन् । संभवतः गीत गीतकारको निजी सङ्घर्षबाट जन्मन्छ । जिन्दगीको महाभारतमा स्वयम्को अर्जुनलाई डोर्‍याउने सारथि पनि त गीतकार स्वयम् नै हुन्छन् । 'आभासित आलाप'को जन्म पनि यही सङ्घर्षको कथा हो । यसका गीतकार अक्षरशः आफ्नो त्यागको चोखो भावनालाई आत्मसात गर्न सफल भएका छन्-

पिरतीको समरमा कहिले हार्नु भन्छन्
छाडी जाने वैगुनीलाई गुनले मार्नु भन्छन् ।


यदि गीतकारको जन्मसिद्ध आफ्नै भूगोल हुन्छ भने रमेश पौडेल नेपाली आधुनिक गीतका क्षेत्रमा गर्व गर्न सकिने भूमिपुत्र हुन् ।