कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

म नास्तिक होइन


हरि मानन्धर "विवश"हरि मानन्धर "विवश"


पवित्र जीवन
सत्य जीवन
लोभ, क्रोध त्याग गरिएको
वासनायुक्त सँसार त्यागिएको
अन्याय अत्याचारको विरोधमा
सेवा र समर्पणको भावनाले
प्रेममयताको चरितार्थ
क्रुशमा झुण्डिएर
देह त्याग गरिएको
साक्षत जीवन नै
यथार्थमा
परिस्कृत, सत्य र सभ्य जीवन हो ।

त्यसैले
शीरमा क्रसले सुसज्जित
हजारौं मिसिहहरू
हाँस्दै मृत्युको सूली चढ्छन्,
किनकी
उनिहरू
लडाईका सैन्य दल होइनन्
केवल
सत्य जीवनको खोजीमा
डायस्पोरिक बन्दै
बुद्धिमतापूर्वक
स्पष्ट वाक्पटुताले
सुव्यवस्थित् सौन्दर्य
संगीतात्मक स्वर माधुरीमा
तात्विक शक्ति गौंण राखेर
अत्युत्तम जीवनको सार खोज्दै
गीतात्मक गुण प्राप्तिमा
बलिदान दिन तैयार हुन्छन् ।

ताराहरू चम्चमाईरहेको एक रात
म सपना देख्छु,
हजारौं मिसिहहरू
सत्यको खोजीमा निस्केका
ईसा मिसिहसँगै
जोर्डन नदि किनारमा
यहुन्नाका प्रवचन सुन्न
थुप्रै लामा लश्करहरू
नजेरेथ र बेथेलहेमका घुम्तीहरू काटेर
येरूशलेमको मध्यभाग हुँदै
ईमान्दारीपूर्वक लम्कन्छन् ।


हरतरहले
ईश्वरत्व प्राप्तिका लागि,
क्यालवरीको उकालोमा
पटक पटक उक्लने प्रयास गर्दै गर्दा,
उचालिँन्छु, पछारिँन्छु

पछारिँन्छु अनि उचालिँन्छु,

पहाडका उचाईहरूमा
थुप्रै मिसिहहरूको जमात देख्छु,
मानौ,
सबैले ईश्वरत्व प्राप्त गरिसके,
म एक्लो मनुष्य,
चार हातखुट्टा गाडेर
उक्लन्छु
बश! उक्लन्छु ।

म एक्लो मिसिह,
हरेक वाधा व्यवधानहरू
जटिल परिस्थितिहरूमा
कुटिल समाधानका वावजूद
जब उक्लन्छु उकालो
अनि
सारा मिसिहहरू उत्सर्गित हुँदै
म तिर हानिन्छन्
लखेट्न्छन् मलाई
धपाउँछन् .....,,,
उहि उचाईबाट
तर....
तर म,
निडर
निसंकोच,
र निर्दोष भावनाहरू लिएर
अटल उभिईरहन्छु
किनकी,
म,
ईश्वरत्व प्राप्त गर्न,
जिन्दगीका हरेक आरोहअवरोह
कठिन मार्गहरू
परिश्रमपूर्वक
अन्तर्हदयको ज्ञानचक्षु खोलेर
प्रेम र करूणाकै ओतप्रोतमा
भावनाका ढोकाहरू ढक्ढक्याउँदै
अनन्त जीवनको सपना
स्वर्ग र मुक्तिका खातिर
ईशा जस्तै
देह त्याग गर्नु परे पनि
आहुतिको स्विकृतिसुचक
स्तम्भित

उभिईरहन्छु ।

तिनै आक्रोशित मिसिहहरू
ईश्वरीय ज्ञानबाट अभिप्रेति बन्दै
निमेषपूर्वको क्रोध प्रेममा बदलेर
साक्षात दैविक
धर्म प्रचारक,
धर्म सचेतक
धर्म प्रवर्तक
अनि
आफूहरूलाई
ईश्वरीय पुत्रको अवतार स्विकार्दै
मलार्इ सान्त्वना दिन्छन्,
माथास्पर्शसँगै
आशिर्वादको उच्चारण गर्छन्,,
“तिमी नास्तिक होइनौ
र कदापि हुन सक्दैनौ ।”

म त्यतिवेला
आफुलाई ईश्वरत्व प्राप्त भएको ठान्छु

उफ्रदै
बुर्कुसी मार्दै
चिच्याउँछु ......
धन्य छ प्रभु तिमीलाई !
तिमीले मलाई माफ गर्यौ ...
मेरो सैयौं गल्तीहरूलाई
अन्जानपनको कृत्य मानेर
प्रेमपूर्वक त्यागिदियौ !!
हो,

एक
मानिस हुँ,
मानिस क्षमाप्रार्थी छ,,,
म गर्वले उन्मुक्त हुँदै
दोहोर्याईरहन्छु ....
हो

नास्तिक
होइन !!
म नास्तिक हुँदै होइन !!!