कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

धादिङमा बालसाहित्य सम्मेलन सम्पन्न



देशका कुनाकन्दरामा रहेका बालबालिकाहरुको सिर्जनात्मक क्षमता बढाउँने उद्देश्यले विगत नौ वर्षदेखि संचालन हुँदै आएको बालसाहित्य सम्मेलन र बालप्रतिभालाई पुरस्कृत सम्मानित गर्ने यात्राअन्तर्गत यो पटक धादिङ जिल्लामा बालसाहित्य सम्मेलन सम्पन्न भएको छ ।

गजुरीमा आयोजित सम्मेलन वरिष्ठ साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनमा बालसाहित्य प्रतिष्ठान नेपाललाई स्थानीय आयोजकहरु युवा संजाल धादिङ रेडियो र प्राज्ञिक विद्यार्थी परिषदले साथ दिएका थिए । कार्यक्रमको संयोजन रेडियोकर्मी पार्वती श्रेष्ठले गरेकी थिइन् । उनलाई गणेश ढुंगाना उपेस श्रेष्ठ अमृत न्यौपाने नवीनबन्धु पहाडी र राजेन्द्रप्रताप शाहलगायतले सघाएका थिए ।



सम्मेलनमा २०६२ को एसएलसीमा उत्कृष्ट प्रथम हुन सफल छात्रा अन्जना राजबंशी र २०६७ की उत्कृष्ट बालप्रतिभा सुमीक्षा खड्काको अनुभव प्रस्तुति र अन्तरकि्रया युवराज नयाँघरेबाट बाल्यकालका अनुभवको रोचक प्रस्तुती गरिनुका साथै बालकथा लेखन र वाचन कार्यशालाको पनि आयोजना गरिएको छ । बालकथा लेखन र बाचनवारे प्रतिष्ठानका अध्यक्ष र महासचिव क्रमशः कार्तिकेय र महेश पौड्याल प्रारम्भले प्रशिक्षण दिएका थिए । कथालेखन कार्यशाला र प्रतियोगिताकोसमेत आयोजना गरिएको सम्मेलनमा एकसय तेतीस जना बालबालिकाहरुको सहभागिता रहेको थियो । उत्कृष्ट पाँच बालबालिकालाई पुरस्कृत गरिएको छ । सिर्जनशील बालप्रतिभाको राम्रो जमघट र सिर्जनामा सकि्रय सर्जकहरुको जमघटले गर्दा कार्यक्रम सफल भएको छ । सम्मेलनमा महेश पौड्याल प्रारम्भ र कार्तिकेयको कथावाचन युवराज नयाँघरेको रोचक बाल्यकाल र अन्जना राजबंशीसँगको अनुभव साटासाट र छलफलमा बालबालिकाहरु निकै उत्साहित भएका थिए । बीएन पुस्तक संसारद्वारा प्रर्दशनीमा राखिएका पुस्तकहरु पनि उनीहरुले निकै चाख दिएर हेरेका थिए ।



ग्रामीण भेगका बालबालिकामाझमा पुगेर उनीहरुमाझमा बालसाहित्यप्रति रुचि जगाउँदै बालसाहित्यको प्रवर्धनमा समर्पित रहने उद्देश्यका साथ सुरु भएको यो यात्रा प्रतिष्ठानले हालसम्म २४ जिल्लामा सम्पन्न गरिसकेको छ ।