कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

'घर' -कथात्मक निबन्ध



'घर' -कथात्मक निबन्ध
दीप्स शाह deepssanu@gmail.com

मलाई सम्झनाहुँदा हामी मुलघरको बाहिरपट्टी छेउमा जोडीएको सानो पखेटे पालीमा बस्थ्यौँ। त्यसलाई सबैले ग्वागल भन्थे। तराइको लामो समयको गृहस्थी बोकेर बाबाआमा हामी दुई बच्चा च्यापेर मुलघर पहाड फर्केदेखी त्यही ग्वागलमा बस्न थालेको रे। भित्ताको काउलेलेक माथिबाट दिउसो मध्यान्हमा एकैछिन एकझुल्को घाम पोखिएपछी तुरुन्तै देउरालीको डाँडाँले छेको पारीहाल्थ्यो। त्यै एकछिनको न्यानो घाम अनी बाँकीको सेपिलो त्यही पखेटे ग्वागललाई मैलेजीवनमा प्रथमपटक घर भनेर चिनेँ।
खोइ किनहो कुन्नी! मलाई बुझ्ने भएदेखी नै 'घर' शब्द सँग निकै आकर्शण थियो, आत्मियता थियो । उसो त घर नरुचाउने कुन प्राणी होला तर मलाई अलिक बेसी नै आत्मिय लाग्थ्यो शायद। अँ म ग्वागलको कुरा गर्दै थिएँ , त्यो सानो पखेटे ग्वागल, सांघुरो ग्वागल तर मेरो प्रिय ग्वागल। त्यो मेरो थियो। हाम्रो थियो।
अंशको मामिलामा के खट्पट परेछ भाईभाइमा कुन्नी! एकदिन बाबाले हामी सबैलाई घिच्याउँदै बेसी फाँटमा झार्नुभयो। म निक्कै रोएँ त्यसबेला। "बाबा! ग्वागलपनी बोकेर लैजाउँ न! बेसिमा!!" भन्दै रुन्थेँ भनेर आमा अझै पुराना दिन सम्झाउनुहुन्छ कहिलेकाहीँ। बेसी झरियो ,,सङै हाम्रो घर पनि झर्यो। उसबेला अभाबले उन्मत्त पखेटा हालेको थियो शायद ,,मकैको ढोडले बारेको झुपडिमा लग्भग दुई साल हामीले टाउको लुकायौँ । त्यही झुपडी फेरी मेरो अर्को घर बन्यो। घर त के थियो ,,गतिला चारओटा बाख्राका पाठा सजिलै हलचल गर्न नसक्दाहुन तर हामी चार मानव प्रानी भएभरका झिटिगुन्टा सहित त्यही झुपडीमा अट्यौँ । बाबा भन्ने गर्नुहुन्थ्यो,"मजबुरिका नाम माहात्मा गान्धी"। हिन्दी सिनेमा उहालाई मन पर्थ्यो ,,उखान पनि उतैको थियो। सुरुमा म निक्कै रिसाएँ झुपडी देखेर जसले मलाई बार बार प्यारो ग्वागल सम्झाउँथ्यो। तर बानी निरन्तरताको उपज हो शायद ,,,मलाई बनी पर्दै गयो। भनुँ पार्दै गएँ। अन्तत: मलाई त्यै ढोडे झुपडी प्रिय लाग्न थाल्यो। त्यो त हाम्रो घर थियो नि! कहिलेकाहीँ बाबालाई सोध्थेँ ," ग्वागल पनि घर हुने, झुपडी पनि घर हुने, बिल्डिङ्ग पनि घर हुने, कसरी यस्तो हुन्छ बाबा??" बाबा भनु हुन्थ्यो," मान्छे जहाँ आडलागेर बस्छ त्यही घर हो। घर ढुङ्गा माटो या ढोडले बन्ने हो तर महत्व मायाले दिने हो। जस्तो कि हामी स्बै एकर्कालाई माया गर्छौँ। " म बाबाको सबै कुरा बुझ्दिन थेँ तर 'घर' शब्दलाई बिशेष जोड दिन्थेँ ,जुन मेरो अती प्रिय आत्मिय थियो।
अली पछी ढुङ्गामाटा र काठको जोडजाममा अली पक्की घर बनाउनुभयो बाबाले। मलाई अझै सम्झना छ, त्यो घर बनाउदा राती अबेरसम्म पनि म ससाना काठकाटुक्रा ढुङ्गा बटुल्दै एताउती गरिरहन्थेँ निक्कै काम गरेजस्तो। सबै खुशी थिए नयाँ घर बन्दै गरेकोमा । म अलिक बेसी उछालिएकी थिएँ खुशीले। घर सबैलाई चाहिन्छ बस्नको लागि नत्र रात पर्दा, पानी पर्दा हुरी आउँदा कहाँँ जानु!! म यस्तै बुझ्थेँ तर कहिलेकाहीँ बाबाले अरु सँग भनेको सुन्थेँ," आफु गैयो भनेपनी केटाकेटीका लागि ओतलाग्ने ठाउँ हुन्छ नि!" 'गैयो भनेपनी' यो शब्द सुल खैं गड्थ्यो मनमा। बाबा नहुंदा हामी यही घरमा बस्नुपर्छ ,,यस्तै सोचेर मैले बाबा र घरलाई एकार्काको पर्याय मान्थेँ शायद। अनी उतिकै प्यारो पनि।
छोरीले जात जनाउँछे भन्ने भनाइ थियो/ छ अझैपनी। म पनि घर लिपपोत गर्न खुब मन गर्थेँ सानोमा। दसैं तिहारमा टोलका काकी दिदी हरु सँग पारी खाँडीको खोल्चीसम्म पुग्थेँ रातो र सेतो माटो लिन त्यै प्यारो घर रङाउन भनेर। सक्ने भन्दा बेसी माटोको पोको बोकेर कन्दै कन्दै हात पाउ टेकेर घर फर्किन्थेँ तर किन्चित दु:ख लाग्थेन। किनकी त्यो सब मेरो प्यारो घरको लागि हुन्थ्यो।
समयको पैया घुम्दै गयो ,,हामी ठुला भयौँ ,घर पुरानो र झन प्यारो हुँदै गयो। सबै आ-आफ्ना काम,अध्यन तिर लागियो तर घर सदा झैँ सबैको केन्द्रबिन्दु थियो। आस्थाको ,आस्रयको र आफ्नोपनको मियो थियो। मेरो उमेरले उकाली लागेको हेर्दै बस्यो घरले। त्यो बिचमा मैले घर परिवार बाहेक अर्को कोहिलाई माया गरेँ । मेरो बिहे भयो त्यही मायालु सँग । त्यसपछी म पुन बेघर बनेँ। बिहेको कार्यक्रम समाप्ती सँगै त्यो घर जुन मेरो अती प्रिय थियो मेरो रहेन। मेरो अधिकार रहेन। त्यो त मेरो घर बाट बदलिएर 'माइती' पो बन्यो। यता म साँच्चैको बेघर बनेँ। मेरा श्रीमानको पुर्ख्याउली घर बेचिएको रहेछ र उसैकारण हामी डेरामा बस्नु पर्ने थियो। निकै समय म जिन्दगीको नयाँ सुरुवात ,नया जिम्मेवारी र मायालुको साथको खुशी र 'घर' आफ्नो नरहनुको पिडामा उचालिँदै पछारिँदै रहेँ। डेरा पनि त घर हो! बाबाको कुरा याद आउँथ्यो," मान्छे जहाँ बस्यो त्यैं घर हुन्छ माया र आफ्नोपनले बाँध्न सके" मैले निकै कोशीस गरेँ त्यो डेरालाई 'घर' स्विकार्न तर सकिन।
समयसमयमा आत्तिँदै 'घर' पुग्थेँ आमाबाबालाई भेट्न। वरपरकाले भन्ने गर्थे,' पल्लो घरमा पाहुना आएकाछन्"। म किन पाहुना?? कसैले सोध्थे," कती दिनलाई आयौ माइत?" किन माइत?? मलाई कहिल्यै पाहुना र माइती शब्द मन परेन जुन शब्दले मलाई मेरो घरसङको सम्बन्ध बाट बिरानो महसुस गराउँथ्यो। आक्कलझुक्कल 'घर' जाँदा हेर्थेँ आफुले कती रहर गरी लिपपोत गरेको भित्ता, फलैँचा, बाहिरको अम्बाको बोट, चोटामा मेरो सुत्ने बिस्तारा, मेरो पुरानो सन्दुक, खाना खाँदा मैले बस्ने पिरा, मलाई मन पर्ने अंखोरा सबै सबै त्यस्तै हुन्थ्यो ,,मायाले मुसार्थें। त्यो घरसँग एक खालको अब्यक्त अवर्णणिय आत्मियता थियो अझै ,न्यानो तातो मिठो खोइ के के असाध्य आफ्नो लाग्थ्यो। फेरी झलक्क 'माइती' र 'पाहुना' शब्दले मन कटक्क खान्थ्यो। तर म दुखेर के हुन्छ? सत्य त त्यही थियो कि त्यो घर अब मेरो रहेन। मैले त अब आँफैले मेरो घर बनाउनुपर्छ।
समय सँगै जिन्दगीको मान्यता बबदलिँदोरहेछ। आदर्श बदलिँदोरहेछ। रहर र चाहनापनी पो उलटपालट हुँदोरहेछ!! समयले खोइ कस्तो कस्तो लुकामारी खेल्दै रह्यो जीवनमा ,,,अभाब र अप्ठ्याराको झाङमा अल्मलिँदै अल्मलिंदै बाँच्दै त छु तर मेरो "घर" अहिले सम्म बनेन। मैले नचाहेको कहाँ हो र! तर खोइ के मिलेन ,घर अहिले सम्म बनेन।
सत्य त यो पनि हो की मलाई उहिलेको झैँ 'घर' प्रती मोह पनि छैन। घर हुनैपर्छ भन्ने केही छैन । मैले देखेँ यो बिचमा उती मेहनतले नङ्रा खियाउदै घर बनाउने बाबा जाँदा खाली हात जानुभयो। त घर किन यती बिघ्न मोहको कुरा?? कहिलेकाहीँ लाग्छ आ!! होस् म कहिले घर बनाउदिन। तर फेरी आत्मा छाम्छु ,,भेट्छु घर बनाउने त्रिष्णा कतै मनको नेपथ्यमा अझै पो जिवितै छ! तर किन?? अहिले त म उहिलेको झैँ केटाकेटी रहिन ,,जस्तो कुनैबेला थिएँ र घरलाई बाबाको पर्याय मान्थेँ। आँखा चिम्म गरेर सोच्छु। बाबा आउनुहुन्छ मनको आँखामा र भन्नुहुन्छ ,"आफु गैयो भने पनि केटाकेटिकालागी ओत त रहन्छ नि!" हो त! घर मान्छेको लागि अती मोहको कुरा रहेछ। आकाँक्षा रहेछ अनी तिब्र आवश्यकता रहेछ तर आफ्नालागी कम् र 'केटाकेटी' का लागि बेसी रहेछ!! कहिलेकाहीँ मेरो चुल्बुले केटो लाडिँदै भन्छ," आमा!! म मेरो घर आँफैँ बनाउछु नि मेरो लागि त!" त्यसबेला उसका बाबा मक्ख हाँस्नुहुन्छ। तर मलाई भन्न मन लाग्छ," छोरा!! घर आफ्नलागी कम् केटाकेटीका लागि बेसी बनाइन्छ! तिमी पनि आफ्नैलागी बनाउँदैनौ। त्यो घरको हकदार तिम्राकेटाकेटी हुन्छन्।" तर म भन्दिन उसले सुन्ने गरी । मनमनै भन्छु "आफु गैयो भनेपनी केटाकेटिकालागी ओत रहन्छ नि!"