कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित




२०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिकामा सम्पादकसमेत रहेका कवि तथा गीतकार विद्याप्रसाद घिमिरेको सेलाएको घाम नामक कवितासङ्ग्रह बि.एन. पुस्तक संसारले हालै बजारमा ल्याएको छ । वीपी घिमिरेको नामबाट विभिन्न पत्रपत्रिकाहरूमा समसामयिक राजनीतिक चिन्तन र अध्यात्मिक लेखहरू लेख्दै आएका घिमिरेको प्रस्तुत कवितासङ्ग्रहमा विषयगत विविधता रहनुका साथै वर्तमान युगीन राष्ट्रिय र मानव जनजीवनसँग सम्बन्धित ४१ वटा कविता रहेका छन् । सामाजिक विशृङ्खलता निम्त्याउने र समाजलाई अधोगतितर्पm धकेल्ने प्रकृतिका साहित्यलाई निरूत्साहित गर्नुपर्ने र समाजलाई समुन्नततर्पm उठाउनुपर्ने विचारका पक्षमा उभिने घिमिरेका रचनामा सामाजिक सद्भाव र अग्रगतिकै स्वर मुखरित छ ।

विसङ्गत वर्तमान परिवेशको चित्रण, जीवनयात्राको अभिव्यक्ति, वर्तमान विसङ्गत परिस्थितिप्रति चिन्ता, विधवाको दुर्दशाको चित्रण, जीवनको कारूणिकताको वर्णन, युगीन याथार्थको प्रस्तुतिको अभिव्यञ्जना पाइने यस सङ्ग्रहका कविताहरूमा राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्यसमेत प्रहार गरिएको छ । कतिपय कवितामा आक्रोश, व्यङ्ग्य, विद्रोह र सहानुभूतिको स्वरसमेत मुखरित छन् । घुमाउरो पाराले अध्यात्मिक चेतनाको अभिव्यञ्जना भेटिने घिमिरेका कतिपय कवितामा युगीन राष्ट्रिय सन्दर्भअनुरूप सकारात्मकभन्दा नकारात्मक बहुल वातावरणको प्रस्तुति भेटिन्छ भने अधिकांश कविताले जीवनका विविध पाटासँग सम्बन्धित यथार्थको प्रकटीकरण बोकेका छन् । राजनीति सापेक्ष नभई राजनीति निरपेक्ष रहेका यिनका कवितामा अभिव्यञ्जित विचार कुनै राजनीतिक वादविशेषमा केन्द्रित नभई मानवीय संवेदनामा केन्द्रित छन् ।

सरल र स्वाभाविक भाषा प्रयुक्त रहेको यस सेलाएको घाम कवितासङ्ग्रहका कविताहरूमा प्राय मानक एवं परिनिष्ठित भाषा शैलीय विन्यास पाइन्छ भने कथ्यमिश्रित भाषाले कवितामा मिठास थपिदिएको आभास हुन्छ । प्राकृतिक बिम्बको प्रचुर प्रयोग रहेका यी कविताहरू लयात्मक गुणले आतप्रोत छन् ।

विषयवस्तु विविधता, स्वच्छन्द प्रेमप्रणयमूलकता, राष्ट्रवादिता, भाषिक सरलता आदि विशेषता बोकेका कवि विद्याप्रसाद घिमिरेको यस कवितासङ्ग्रहका कविताहरू क्लिष्ट र जटिल नभई सरल र बोधगम्य छन् । यिनै विविध गुण तथा विशेषताहरूले गर्दा सेलाएको घाम कवितासङ्ग्रह निकै परिष्कृत, परिमार्जित र स्तरीय कविताको सँगालो बन्न पुगेको छ ।