कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

छि! लाछी मान्छेहरू... !

 हरि मानन्धर "विवश"


मान्छे
अन्जानमा
जन्मदै चिच्याउँछ,
त्यतिबेला
सायद, उ स्वतन्त्र भएको ठान्दो हो
अथवा,                    
महिनको गुप्तवासमा
सृष्टिकर्ता आमाको गर्भावस्थादेखि
रगतमा होलिखेलिसकेर
भोक प्यास मेट्दै
लाम्टो चूस्ने स्वार्थले हुनसक्छ,
त्यसैले मान्छेहरू....
जन्मदै लाछी जन्मिन्छन्.... !

फूलका पत्र पत्र केलाएर
वासनामा लिप्त हुँदै
सुन्दरताको धज्जी उडाउनेहरू
तिनै काँडाको अस्तित्व
स्वीकार गर्न नसकेपछि
आफ्नै हाँगाविगा उखालेर
अस्तित्वको मान मर्दन गर्छन्
र भन्छन्
कूरूपता भित्रै सुन्दरता देख्नेहरू
काँडै किन निल्दैनन?
काँडै किन काल्दैनन् ?

अमूर्तवोधी चिन्तनको परिभाषाले
चेतनाको बिचार सञ्जालमा
मान्छेहरू जे सोच्छन्
त्यहि गर्ने भए
विचार /चिन्तन
चिन्तन/उद्देश्य
उदेश्य प्राप्ति हो/होइन
यिनै बिचार र चिन्तनका उद्देश्य लिएर
स्वतन्त्र सोचको विकाससँगै
दासत्वको घेराबन्दी
किन तोड्दैनन् मान्छेहरू?
कागजी अध्ययनका खोस्टाहरूमा गुजुल्टिएर
जिउँदो भनाउँदै
बिचार भित्र सँसार
सँसार भित्र बिचार
निरिह चेतनाको विगुल फुक्छन्
उहि प्राणी भनाउँदा मान्छेहरू !

कल्पनामा
आफ्नै सपनाका गुजुल्टो पारेर,
भुँफुट्टा, दुचारवटा दर्शन छाँटेर,
आफैला दर्शनशास्त्री बनाउँछन् मान्छेहरू..
दुचार हरफ कुरूपताका
अडबाङ्गे अक्षर कोर्दैमा
कुरूप चिन्तनका सलामी चढाउँछन् मान्छेहरू...
बेरङ्गेहरूको रङ्गिन दुनियाँमा
समदर्शिताको काला रङ्गहरू घोल्दै,
आफुला रङ्गवादीको मुकुण्टो भिराउँछन् मान्छेहरू...,
आधुनिकताको कठघरामा उभिएर
ईतिहँसको पन्ना नपल्टाईकन
पुरातनबादी शैलीमा
उत्तराधुनिकबादको बिल्ला भिराउँछन् मान्छेहरू...
आफ्नो विज्ञापन आफै गर्ने नयाँ शैली
गुट र फुटमा रमाउने नयाँ सोच
अरूको देख्न नसकेर मुर्मरिन्छन् मान्छेहरू...,
सँसार परिवर्तनको जिम्मा बोकेका
यिनै आधुनिक भनाउँदा मान्छेहरू !
छि! कस्ता लाछी मान्छेहरू !