कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दुङ्मा





दुङ्मा*
- हेमन यात्री


कहाँबाट आएर बस्छ
यो पुरातात्विक हावा ?
दुङ्माको काखमा
र गाउँछ–
दुङ्माली जिब्रोको संगीतमा
यहाँका आदिवासी अवशेषहरु

‘लागभग
बाहसाय वार्षअघि’
पौवाखेसाङ* थुमको युद्धमा
खेदिएका चोखाङ* परिवार
कति रोए होलान्–
टङ्माटेन* मा छोडिएका मुन्धुम सम्झेर
पुलिक*, पटुके* र मट्टीमाला* सम्झेर
रोए होलान् कति–
फलामे चुरा*, ढलोट*, मादले* र
उत्तर दक्षिणतर्फ फर्केका आफन्तका ढुङ्गे चिहानहरु सम्झेर

मरुभूमिजस्तो निर्जन एकान्तमा
पूर्खाहरुको रगत कुरीबसेको छ
टङ्माटेन आजकल
सम्झनाको सिलौटामा घोटिएर बसेको छ
साप्टेनहाङ* दरबार
इतिहासको पिँधैपिँध भएर बगेको छ
पिखुवा* र अरुण
बेहोस–बेहोस छ
जीवन–मृत्यूको आकस्मिक सेवामा
घाइते भाषा
धन्य !
नक्छोङ* को धनुकाँडले मूल फुटेको पानीले
तीर्खा मेट्तैछन्
रेलेटोल*..... खउटोल* र साहुटोल*

यो पुरातात्विक हावा
अझै गुनगुनाइरहेछ दुङ्माली ‘कोरस’मा–
पुङवत* पौवेन* र वत्पङ* हरुको गीत
जसले बिर्सदैँ हिँडिरहेछ
आफ्नै अनुहार हेर्ने ऐनाहरु ।




*दुङ्मा/*नक्छोङ – राई वान्तवा/दुङ्माली भाषाअनुसार पिउनु/धामी । मिथक अनुसार भोजपुर र धनकुटाको सीमाक्षेत्रमा बालबच्चा खाने एक शक्तिशाली राक्षसलाई मार्ने भोजपुर कटुन्जेका लुहुन थरका नक्छोङ (धामी) ले तन्त्रमन्त्रको शक्ति प्रयोग गरी राक्षस मारेर घर फर्कने क्रममा तिर्खा लागेको र कतै पानी नपाएपछि आफैंले बोकेको धनुकाँडले वाण प्रहार गरी पानीको मूल फुटाई तिर्खा मेटेको कथन छ । यही पानी पिउन पाएको खुशीयालीमा धामीले आफ्नै वान्तवा भाषामा त्यस ठाउँको नाम दुङ्मा (पिउनु) राखिदिएको । पछि यहीँ दुङ्मा अपभ्रंश हुँदै दुम्मा भन्न र लेख्न थालिएको हो । अझै पनि नक्छोङले वाण प्रहार गरी मूल फुटेको पानी देख्न र पिउन पाइन्छ । २०५८ को सर्वेक्षण अनुसार देशमा बोलिने विभिन्न आदिवासी जनजाति भाषाभाषी मध्ये दुङ्माली भाषा लोपोन्मुख भाषाको सूचीमा पर्दछ । *पौवाखेसाङ – २०१८ को राज्य पुनरसंरचना अघि भोजपुर जिल्लामा १६ थुम राज्य थिए । जसमध्येको पौवाखेसाङ थुम एक हो । *सापटेनहाङ – प्राचीन दुङ्माका एक राजा बस्ने घर÷दरबार । *चोखाङ – प्राचीन दुङ्माली शासक÷नागा जातिको मुखिया । *टङ्माटेन – दुङ्माली भाषा अनुसार खेदिएको गाउँ । *पुलिक/पटुके/मट्टीमाला /फलामेचुरा /ढलोट /मादले – आदिवासी किराँत नागाहरुको साँस्कृतिक पहिचानका अवशेषहरु । *हाङवाङ /पुङवत /पौवेन /वत्पङ – प्राचीन दुङ्माली शासकहरु । जसलाई आज राई जातिका थरहरुका रुपमा लिइन्छ । दुङ्मा, जहाँ आजपनि यी थरहरु सुरक्षित बसोबास गरिरहेका छन् । *पिखुवा – भोजपुरको मध्यभागमा बग्ने एक प्रसिद्ध खोला ।