कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

डायास्पोरिक कथासङ्ग्रह ‘समुद्र र सपना’ विमोचित





काठमाण्डौं, ३ मार्च २०११

बेल्जियम निवासी कथाकार सञ्जु बजगाईंको नवीनतम कथा सङ्ग्रह ‘समुद्र र सपना’ आज काठमाण्डौंमा साहित्यकार तथा पत्रकारहरुमाझ एक समारोहमा विमोचन गरियो ।
प्रसिद्ध साहित्यकार जगदीश घिमिरेले उक्त कृति विमोचन गर्दै सञ्जु बजगाईंका नारी विश्लेषण तथा मनोवैज्ञानिक कथाहरु नवीनतम शैलीको भएको बताउनु भयो । लामो समयदेखि सात समुद्रपारि बसेर लेखिएको यो कथा सङ्ग्रह नेपाली साहित्यलाई डायास्पोराको उपहार हो भन्नु भयो ।
प्राज्ञ भाउपन्थीले नेपाली डायास्पोरिक नारीका अनुभव र अनुभूतिलाई विविध सामाजिक र सांस्कृतिक परिप्रेक्ष्यमा प्रखरताका साथ विश्लेषण गरिएका उच्चस्तरिय कथाहरु यस सङ्ग्रहमा भएको कुरा बताउनु भयो ।
समालोचक गीता त्रिपाठीले डायास्पोरामा बस्ने लेखकद्घारा डायास्पोरिक विषयवस्तुमा लेखिएको यो पहिलो डायास्पोरिक कथा सङ्ग्रह हो भन्नु भयो ।
सारांश नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार भिष्म उप्रेतीले स्वागत मन्तब्य तथा साहित्यकार तुलसीहरि कोइरालाले कार्यक्रम संचालन गर्नु भएको थियो । समारोहमा कथाकार बजगाईले टेलिफोन मार्फत आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रम साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो ।