कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कविता~ शब्द-समर्पण


माईबेनी मेलामा धान नाँच्दा नाँच्दै
अन्जानमै बसेको चोखो मायाँ जस्तै
बुईंपा र दिङ्लाको साकेला / साकेवामा
ख्याल ख्यालमै साटेको मिठो प्रीत जस्तै
अन्जानमै झाङ्गिएछ हाम्रो मायाँ यो मुटु भरि भरि ।


हो, कान्छी ! तिमी साथमा छैनौ र पनि
तिम्रै न्यानो स्पर्शको अनुभूत गरिरहेछु म
आत्मीय सम्मिलनको तमसुकमा
तिमीले लगाएकी औंठाछापको प्रतिबिम्ब
पल-प्रतिपल प्रतिबिम्बित भइरहेछन् यी आँखा भरि भरि ।


सोच्थें म, अपरिचित मायाँको कुनै आयु नै हुँदैन
बिना भेट-घाटको सम्बन्ध गाढा र प्रगाढ बन्न सक्तैन
तर, दूरदराजको त्यो किनाराबाट तिमीले पठाएकी
यति धेरै मायाँका लोभ लाग्दा मनफूलहरु देखेर
‘म त भ्रममा पो बाँचिरहेको रहेछु’-भन्ने लाग्दैछ अचेलभरि ।


साँच्ची कति निश्छल र चोखो छ तिम्रो मायाँ
कञ्चनजंघाको शीरबाट सलल बगिरहेको
काबेली र तमोरको कञ्चन र पबित्र पानी जस्तै
उसो र त म लोभिएँ अनायसै तिम्रो मायाँको सुगन्धमा
कि, तिमीमै समाहित हुन पाइरहूँ म जुनी जुनी भरि ।


सुन्यौ कान्छी ! तिमीले? मेरो मुटुको ढुकढुकी
अनुभूत गर्यौ कि नाइ मेरो जीवनको सारेगमपधनिसा
सत्ते ! किन किन यस्तो लाग्दैछ अचेल मलाई
कि, संसार अटाउने तिम्रो त्यो बिशाल छातीमा
निर्धक्क बनेर बास बस्न पाउँ सधैं सधैं भरि ।

-हेमन्त परदेशी
हाल, दोहा, कतार ।