कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

माफ गर गौमाता !!!



-उमा सुवेदी


सानामा गार्इको धुमधामसँग पूजा गरेको मलार्इ प्रष्ट सम्झना छ । गार्इ तिहारका दिन बिहानै घर नजिकैको कुलामा लगेर एक जनाले डोरी समाइ अर्काले पानी छ्याप्दै जीउमा टाँसिएको गोवर मैलो सिनिक्क पखाले पछि गार्इ कुलाबाट बाहिर निस्कन्थ्यो र आङ जिरिङ्ग पारेर पानी टक्टक्याउँथ्यो ।सयपत्रीको माला, सेल रोटी र फलफूल लिएर घरका सबै जना गौ पूजामा सरिक हुँदाको खुसीयाली म वर्णन गर्नै सक्दिन ।चामलको गीलो पिठोमा अनेक थरी रङ मुछेर गार्इको निधार पेट र जीउका विभिन्न भागमा सयपत्रीका थुङ्गाले छ्याप्प छ्याप्प पारेपछि गार्इ साह्रै राम्रो देखिन्थ्यो ।परिवारका सदस्यले गार्इसँग आत्मिय व्यवहार गरेको देख्दा मलार्इ यो घरकै सदस्य जस्तो लाग्थ्यो ।सायद त्यसैले होला कतै जाँदा बाटामा चरिरहेको गार्इलार्इ ढोगेर मात्र अघि बड्ने बानीथ्यो मेरो ।

गार्इसँगको यो सम्बन्ध घर पालुवा भएकैले मात्र यति सुमधुर भएको त पक्कै होइन ।गार्इ प्रति नेपाली र त्यसमा पनि हिन्दूहरूमा उब्जने प्रेम भावका सांस्कृतिक र धार्मिक कारणहरू छन् जसको पिसाव र विष्टा समेत पवित्र मानिन्छ , त्यसको महिमाको कुन शब्दले वयान गरूँ ।शास्त्र र पुराणहरूमा त गार्इलार्इ देवताकै स्वरूप मानिएको छ ।मेरा बाबा गार्इलार्इ ढोगेर भन्नु हुन्थ्यो, 'लक्ष्मी माता रक्षा गर' ।त्यसैले गार्इ प्रतिको श्रध्दा भाव अहिले पनि मनमा अटाइ नअटाइ छ तर आज म गार्इलार्इ अलिक फरक ढंगले संस्मरणमा समेट्न खोज्दैछु ।यो संस्मरण सुखद छैन त्यसैले किन लेख्न लागेकी हूँला भन्ने जस्तो पनि भैरहेको छ तर निधारमा लेखेर ल्याएको नियति कागजमा लेख्न के को फिक्री मान्नु त भनेर चित्त बुझाउँदैछु ।

समयको पदचाप पछ्याउँदै जाँदा एक दिन म गार्इ पुज्ने संस्कारबाट गार्इ खानेहरूको संसारमा पुगेँ ।यहूदी बृद्दा सबिखासँग एउटै छत मुनी बस्दा खानपानको अलग संस्कारले मलार्इ एकै चोटी रोमान्चक र विस्मयकारी अनुभूति दिलायो ।काठमाडौबाट कतार एयरको विमानमा खुट्टा राख्दा म विल्कुलै लाटी थिएँ ।यस अघि बुद्ध एयरको घरेलु विमानमा चढेर झापा जाँदा चकलेट सम्म चाखेकी हूँ ।यहाँ त खानाकै मेनु पो आयो ।एकछिन अलमल्ल परेपनि मैले चिकेन् परिकार अर्डर गरेँ र अरूको सिको गर्दै आफ्नो सिट अघिको फोल्डिङ टेवल उघारेँ ।एकैछिनमा सिल्वर पेपरले वेरेको आकर्षक परिकार हाँजिर भयो ।मसँगै यात्रारत झापाकी संजिता सिटैालाले खाना उघारेर सुँघ्दै भनिन् , 'उमा यो पक्कै गार्इको मासु हुनुपर्छ है ,कस्तो गन्हाएको सुँघेर हेरत ।'विना मसलाका मासुका त्यति ठूला ठूला चोक्टा यसअघि कहिल्यै खाको हैन त्यसैले केक पाउरोटी र दही खाएर त्यो हवार्इ यात्रा पूरा गर्यैाँ ।

विफ(गार्इको मासु ) मुस्लिम र यहूदिको प्रिय परिकार हो भन्नेसम्म त थाहा थियो तर यसरी पार्इलै पिच्छे जम्काभेट होला भन्ने त कल्पना पनि थिएन ।इजरायल आएको तीन महिना मैले इनेस खेनसँग बिताएँ ।पेटकी रोगी इनेसको पाचन शक्ति कमजोर रहेकाले पोसिलो गाइको मासुमा डक्टरले प्रतिवन्ध लगाएका रहेछन् ।तीन महिना पछिबाट मेरो काम परिवर्तन भइ अर्की बृद्धा सविखा कराकुक्लीसँग संगत बढेपछि भने गौमातासँग नचिताएको जम्काभेट भइरह्यो ।जसलार्इ सम्झदा मात्र पनि म अपराधबोधले लगलग काम्ने गर्छु ।

सविखाको दिउँसोको खानामा विफ अनिवार्य सामेल हुन्थ्यो ।सुरूमा त म त्यो देखेर डराउँथेँ ।पहिलो दिनमै मैले सविखालार्इ विफ मेरा लागि अखाद्य परिकार हो भनि बताएँ तर उनकी छोरी सारालार्इ भन्ने मौका परेको थिएन ।म सविखाको घरमा नियुक्त भएको भोलिपल्ट साराले आफ्नै घरबाट खाना पकाएर ल्याउने भइन् । सारालार्इ खाना पकाउने ठूलो सोख रहेछ । म चाहीँ आफूले पकाउनै नपरी मीठो मीठो खान पाइने भो भनेर मुख मिठ्याउँदै पर्खिरहेँ ।नभन्दै १२ बजेतिर सारा अनेक परिकार बोकेर आइन् ।मैले सबै परिकार टेवलमा सजाएँ र हामी तिनतिर बस्यैाँ ।मैले कहिल्यै नदेखेका ती परिकार मध्धे धेरैमा मासु मिसाइएको थियो ।यो के हो ? त्यो के हो ? भनि सोधिरहँदा पनि असभ्यता ठहरिन जाला भन्ने विचार गरी पुलाउ र सलाद मात्र आफ्नो भागमा पस्केँ ।यति स्वादिलो पुलाउ मैले यसअघि कहिल्यै खाएकी थिइनँ । बढो स्वाद मानी मानी खान थालेँ ।खाना चलिरहेकै थियो ।साराले अन्य परिकारतिर इसारा गर्दै यो खाउ र त्यो खाउ भनिरहिन् ।मैले भने, 'हैन, म त विफ खाँदिनँ ।खसी, कुखुरा र माछा मात्र खान्छु ।' विफ नखाने कुरा उनलार्इ हाँस्यास्पद लागेछ । भनिन्, 'गार्इको पोसिलो मासु चैँ तिमी नखाने तर गन्धे बोकाको बोसिलो मासु चैँ जिब्रो पट्काइ पट्काइ खाने ? तिम्रो अनैाठो रूचि देखेर म छक्क परेँ ।' मैले हाम्रो संस्कारमा गार्इको महत्वबारे वयान गर्दै यो रिति विपरित हुने कुरा सम्झाएँ । मैले भनेँ, 'गार्इ खानु हाम्रो धर्ममा ठूलो पाप हो ।' पाप शब्द सुन्ना साथ उनले केही अतालिँलै भनिन्, ' लैा ! त्यो पुलाउ मा त गार्इको किमा मिसाइएको छ !' म अघार्इ सकेकै थिएँ, प्रतिकृयामा केही नबोली एकछिन् नून खाएको कुखुरो जस्तो भएर बसेँ । जीवनमा पहिलो पटक गार्इको सिकार हसुरेको क्षण मेरो जिन्दगीकै घोर पश्चातापको क्षण थियो ।

यस घटनाको केही दिन पछि सारा फेरि आइन् मीठा मीठा पक्वान्न बोकेर ।अब उनलार्इ थाहा भइ सकेकाले विफ खानु नपर्ला भन्नेमा म ढुक्क थिएँ ।उनले पहिल्यै भनिन्, 'यसपाली तिमी र आमाका लागि अलग्गै खाना ल्याइ दिएकी छु ।' नभन्दै उनले सविखाका लागि बसार, मराक आदि अनि मेरा लागि स्निचेल(कुखुराको छातीको भागलार्इ विशेश गरि काटेर तारेको परिकार ) चिच्चोत( कुखुराको मासु पेलेर त्यसबाट बन्ने एक किसिमको परिकार) मराक यराकोक(धेरै वटा तरकारी मिसाएर बनाइएको पोसिलो सुप ) र केही अन्य यहूदी खाना ल्याइ दिएकी रहिछन् ।मलार्इ सुप चैँ विशेष लाग्यो ।यो खुबै स्वादिलो थियो ।केही महिना पछि यहुदीहरूको ठूलो चाढ पेसाख मनाउन सविखा र म साराका घरमा गयौँ ।साँझ साराका छोराछोरी पनि भेला हुँदा त्यहाँ अपूर्व पारिवारिक जमघट भयो । टेवलमा परिकारहरू सजाइए । सबैले आफ्नो आफ्नो प्लेटमा खाना लगाउन थाले । मैले पनि छानेर केही खाना प्लेटमा राखेँ ।एउटा भाँडोबाट साराले गार्इको मासुको चोक्टाजति बडो मेहनतले छानेर मेरै सामुन्ने सुप मात्र एउटा कचौरामा झिकिन् र मेरो छेउमा राख्दै भनिन् , 'यसमा गाइको मासु छैन, ल यो तिम्रो लागि ।' मैले विष्मयपूर्वक एक छिन उनलार्इ हेरेर भनेँ , 'यस अघि मेरा लागि भनेर तिमीले ल्याइ दिने गरेको सुप यस्तै हो ?' उनले विनम्र भाकामा भनिन् , 'हो त ! म आफैँले छानेर ल्याइ दिएको ।' मैले उनी तिर हेरेँ ।उनको बोलीमा निश्छलता झल्कन्थ्यो ।यो रहस्य थाहा पाएर एकपल्ट त मेरो सासै रोकिएला जस्तो भो । एकछिन् आलटाल गरेर मौका छोपी त्यसलार्इ मूल भाँडामै खन्याइदिएँ र मनैमन सङ्कल्प गरेँ ।अब देखि साराले ल्याएको खाना त के पानी पनि खाने छैन ।निर्णय गरेपछि आफूलार्इ केही राहत मिले झैँ भयो ।

रहँदा बस्दा कतिपय कुरामा बिस्तारै मनले सम्झौता गर्न थाल्यो तर गार्इको आहारा गर्ने सवालमा चैँ मैले सम्झौता गर्न सकिनँ ।छोराछोरी नातानातिनाको संख्या धेरै भएकाले सविखाका आफन्त कहाँ चाँचाढै भोजभतेर र पारिवारिक जमघट भइ रहन्थ्यो । एक पटक सविखाकी १२ वर्षिया पनातिनी मेराबको बात्मिच्पा( छोरा वा छोरी १२ बर्ष पुगेपछि यहूदीहरूले गर्नै पर्ने एक संस्कार ) को भव्य पार्टी निकै ठूलो होटलमा हुने भयो ।विगतका भोजहरूमा सविखाका छोरा बुहारी ,छोरी ज्वाइँ सबै वरिपरि एउटै टेवलमा बसेर खान्थ्यौँ ।तर यसपाली सविखा र म अलग्गै वस्यौँ । सविखासँग अलग्गै बसेर खाँदा विफबाट जोगिन सजिलो हुने भएकाले मैले सन्तोषको सास फेरेँ ।एकछिनमा सविखाकी आफन्त मेरियाम पनि छेउमा आएर बसिन् ।हामी तिन जना भयौँ । टेबलमा अनेक प्रकारका परिकार सजाइएका थिए । विफको संकाले म छानी छानी कट्याक कुटुकमै चित्त बुझाउँदै थिएँ । एक छिन पछि वेटर मेनु बोकेर आयो र सोध्यो 'खानामा के अर्डर गर्नु हुन्छ ?' मैले चिकेन् फुड अर्डर गरेर डान्स हेर्न स्टेजकै छेउमा गएँ । मेरो पछि पछि मेरियाम पनि आइन् । अर्डर गरेको खाना टेवलमा आइ पुगेपछि सविखाले मलार्इ हातको इसाराले बोलाइन् ।मेरियाम डान्समा मख्ख पररे झुम्दै थिइन् । म उनलार्इ त्यहीँ छाडेर आफ्नो टेवलमा फर्केँ र अगाडिको खाना कपाकप खान थालेँ ।यो पोलेको मासु फरक स्वादको थियो । आधाउधी खाइसकेपछि मेरियाम आइन् र भनिन्, 'तिम्रो र मेरो खाना साटिएछ . तिमीले खाएको खाना मैले अर्डर गरेको विफ हो तर केही छैन, म यही चिकेन् फुड खान्छु । मैले हत्त न पत्त मुखको खाना थुकेँ ।मलार्इ अड्केको जस्तो लागेर मेरियामले हतार हतार पानीको ग्लास थमाइ दिइन् । यो मेरा लागि ज्यादै कठोर अनुभव थियो ।यमराज को फन्दावाट फुत्किन सकिएला बरू तर यहुदी राज्यमा गार्इबाट बच्न ज्यादै मुस्किल रहेछ ।उहिले गाउँका बुढापाकाले विदेशबाट फर्केका छोरा नातीलार्इ प्रायश्चित्त गराएर मात्र घर भित्र छिराउने गरेको देखेकीथिएँ । त्यसको कारण वल्ल खुल्दैछ ।

सानी छँदा पनि म कसैको जुठो खान्नथेँ ।स्कुले जीवनमा घरबाट चोरेर लगेको काँचो सुपारी साथीहरूले फ्रकमा पोको पारी दाँतले टुक्य्राएर दिँदा मलार्इ घिन लाग्थ्यो ।पि के क्याम्पस पढ्दा प्याकेटको पाउँ जुठो औंला चोप्दै साथीहरूले खाँदा म घिन मान्थेँ ।हामी कहाँ नुन लागे नलागेको चाख्नु परे कचौरामा पस्केर अलग्गै बसी चाखिन्छ ।इजरायलीहरूलार्इ यस मामलामा मैले निक्कै उदार पाएँ ।एक दिन सविखाकी बुहारी इलानाले साब्बाथ (शुक्रबार घाम अस्ताए पछि र सनिवार घाम डुव्नु अघिको समय ) मा खान बोलाइन् ।हामी त्यहाँ पुग्दा इलानाका आफन्तहरू अघिनै आइ सकेका थिए ।सविखा बैठकमा नातानातीनीहरूसँग गफमा ब्यस्त भइन् । म सरासर भान्सामा गएँ ।इलानासँग गफ गर्दै ग्रिन सलाद काट्न थालेँ ।इलानाले खानाका प्राय सबै परिकार तयार गरिसकेकी रहिछन् मात्र चाउमिन तयार हुन बाँकी थियो ।गफैगफमा इलानाले स्वाद जाँच्न भनी काँटाले बेरेर नुडल्स्को बुजो मुखमा हानिल् र नअट्टाएका त्यान्त्राहरू दाँतले काटेर भाँडामै झारिन् ।उनका लागि यो सबै सहज थियो तर त्यो देखेर सलाद काटिरहेको चक्कुले मेरो हात काट्यो ।हेण्डिप्लाष्ट टाँस्दै म बाहिरिएँ ।यिनीहरू झुठो खान्छन् भन्ने त थाहा थियो तर त्यसरी तन्द्र्याङ्ग मुखैबाट भाडामा खसालेको विभत्स दृष्य देख्ने सौभाग्य मिलेको थिएन ।यसपछि पारिवारिक भोजमा गए पिच्छे मलार्इ 'नखाउँ भने दिन भरीको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार 'भने झैँ भइरह्यो ।

एक दिन दिउँसो खिर पकाउँदै गर्दा साराका छोराछोरी किन्नेरेत र गिदी टुप्लुक्क आइपुगे । खिर उनीहरूका लागि नौलो परिकार हो । मसलेदार खिरको स्वाद नाकैमा ठोकिएपछि किन्नेरेत खुसी हुँदै सिधै भान्सामा छिरिन् ।म उनलार्इ स्वादिलो खिर पस्केर दिन कचौरा तयार मात्र के पार्दै थिएँ उनले एउटा चम्चिले भाँडाबाटै झिकेर मुखमा हालिन् र फेरि जुठो चम्ची भाँडैमा चोबिन् ।गिदीले पनि त्यही चम्चिले त्यसै गरि झिक्दै नयाँ परिकार स्वाद मानी मानी खान थाल्यो ।जव उनीहरू सविखासँग खिरको प्रशंसा गर्न बाहिर निस्के । मैले हतार हतार माथिको खिर उनीहरूका प्लेटमा पस्केँ र पिँधको खिर आफ्ना भागमा पारेँ ।

यो सबै सम्झँदा मलार्इ देवकोटाको कविताको एक टुक्रा याद आउँछ'

'...........यस्ता कुरा भए सालसाल

जरूर साथी ............

यस्तै छ मेरो हाल '