कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

तिमी पराक्रमी बनेर आउनु २०६८ साल


आचार्य प्रभा
(अमेरिका)

नयाँ पालुवा रुपी
शैशवकाल लिएर आयौ
नयाँ बर्ष.......,
धन्य छ तिम्रो आगमन!
बिगतमा झैँ तिमी
रगतको अक्षर बनेर नलेखिनु
हर नेपालीको मनभित्रको
आक्रोश र हिँशा बनेर
तिमी नमात्तिनु ।
तिम्रो आगमनले फेरि
त्यो माटोलाई उर्वर बनाओस्
त्यो धर्ती छाडेका पाइलाहरुलाई
फेरि त्यही माटोमा समाहित हुन
कर गराओस् ।

लाग्छ तिमी त,
कस्सिएर भित्रिँदै छौ कि ?
जलेका हर आत्माहरुको
शितल पवन बनेर,
थाकेका ति आँखाहरुको
राहत बनेर ...../

हो,यस्तै यस्तै आशाका
पछ्यौरीहरु ओढेर
हर मुस्कान खोसिएका मनहरु
प्रतिक्षारत छन् यत्तिखेर .......
तिम्रो आगमनमा
शुभकामनाहरु बोकेर ।
तिमी आउँदा अवश्य ल्याउने नै छौ
सद्भाव र मैत्रिभावका कथाहरु,

प्रेम र मित्रताका अद्ध्यायहरु,
समानता र आत्मियताका रंगहरु,
एकता र अप्नत्वका ब्यथाहरु,
हो हामी झोली फैलाएर
थाप्ने छौं तिम्रा हर
प्रज्ज्वल कोशीलिहरु
जस्मा हामी सबैको
एउटै अभिष्ट बन्नेछ
हामी सबै नेपाली एक भनी ।
हामी सबै नेपाल आमाकै
सन्तान भनी ।
तिमी आउँदा बिगतका
कुक्रित्य र युद्ध संग्रामको
अन्त्येष्टीको शक्ती
बोकेर आउनु,
तिमी आउँदा मात्रित्वको
बैचारिक ओखती
लिएर आउनु,
तिमी भित्रिँदा परिवर्तनको
कोशेली साँचेर आउनु,
अनी सारा बैमनष्यताको
सम्हार गर्ने पराक्रमी
बनेर आउनु ।
बस्....यस्तै आशाको
प्रतिक्षार्थी बनेर तिम्रो
आगमनको पर्खाइमा
निर्लिप्त छौं सबै ,
२०६८ को नयाँ आगमनमा ।

( रचना अप्रिल/ ११/ २०११ बिहान )