कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मान्छे खोज्दै हिंडेको म मान्छे



-राजेन्द्र महर्जन


अचेल मान्छेहरुको भीडमा पनि
मलाई एक्लो महसुस हुन थालेको छ ।
भीड अति नै भीड तर त्यही मान्छेहरुको भीडमा
म मान्छे खोजिरहेको छु ।

मान्छेहरुको भीडमा मान्छेको अभाव देख्छु म ।
त्यसैले त यो पिसंगो देश पनि
एउटा निर्जन बस्ती जस्तै लागेको छ ।

मान्छे हुनलाई
यहाँ थुप्रै मान्छेहरुले
मान्छेको स्टीकर निधारमा टाँस्दै हिडेको देख्छु म,
तर ती निधारमा टाँसिएका स्टीकरहरुमा मान्छेको परिचय भने पाउँदिन म ।

हिजो,
एक हुल मान्छेहरु
आफु मान्छे भएको दावि गर्दै
नारा जुलुस गर्दै थिए,
आज पनि एक डप्फा मान्छेहरु बुथ बजाउँदै सडकमा
कवाज खेल्न थालेको छ,
आफुलाई मान्छे प्रमाणित गर्न ।

मान्छेले मान्छे खाएको त देखेको छैन मैले
तर पनि मान्छेलाई घाँटी रेटेको देखेँ मैले,
मान्छेले मान्छेलाई बारुदमा पोलेको देखेँ मैले,
मान्छेले मान्छेलाई खाल्डोमा पुरेको देखेँ मैले

अचेल मान्छे होइन,
जताततै बन्दुक बोल्छ,
अचेल मान्छेहरुको होइन
सडक र गल्लीहरुमा डरलाग्दो आवाजहरुको बस्ती छ,
मान्छेहरु बस्ने झुपडीमा
सन्नटा छ,
कतै बन्दुक बोल्ने त्रासले छोपेको होला ।

-राजेन्द्र महर्जन