कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कविता~ शिलान्यास

आउ तिम्रा दुर्गम हातहरुले
छातिका पटाङ्गीमा
मनको सुन्दर भवन निर्माणार्थ
भावनाका शिला राखेर शिलान्यास गर
म परेलीका हत्केलाले ताली वजाउला
माटो मुच्छन,
सकेजती आशु र पसिना निचोरुला ।

उद्वेगमा विरानी तिर
अलिकती खुसी फुल्यो त के फुल्यो
थोरै सुख हांस्यो त के हाास्यो
यता सिरानी निर
सधै सूर्ताको सांझ टरेको छ
चिन्ताको रात परेको छ
घरको घुरी हुदै
प्रतिक्षाका कैयन घाम डुबेको छ
आउ वरु यीनै खाकाहरुमा
निर्माणका कुनै आधारभूत सुत्र खोजौ
करेसाको डिल धस्कनै लागेको छ ।

फर्काउ यतै बरु तिम्रा दूरगामी आंखा
लगनशील मन,
अविराम परिश्रम,
निश्छल निमेक को सोझो बैंश
यहाा बैसाकले
साकेला, स्यांदर, चासुवा र चासोक
ननाचेको धेरै भयो
उमेरका विनायो मूर्चुङ्गाले
रहरको भाका नफेरेको धेरै भयो
आउ बरु सद्भावको डम्फू र टुङ्गनामा
प्रेमको सेलो गाउला,
पि्रतीको सेव्रु नाचौंला
स्वाभिमानको मादल ठोक्दै
ससम्मान रोदीमा
आत्मासम्मानको टप्पा गाउला
आत्मागौरवको सोरठी नाचौंला
छिटोगर, रोदीघर रित्तिनै लागेको छ ।

सोहोर र सम्हाल,
पग्लेको पलायन मन
एकमुष्ट वटुल छरपस्ट जीवन
परिश्रम पखालेर विसुद्ध पसिनाले
थमाउ एउटा नौलो आगत रित्ता कांधहरुमा ।
आउ
बगाउा पसिनाका धार सेतीको सतह छुनेगरी
उचालौं कर्मको शिखर माछापुछ्रेकै हाराहारी हुनेगरी
टिपेर घाम जुन सगरमाथाको सिरबाट
छरौं उज्यालो पाखैभरी फांटैभरी
मिसाएर मन सप्तगंडकी र सप्तकोशी झैं
सिंच्याउ एकता सेरोफेरो माटैभरी
होस राख
धुरीबलो लच्किसकेको छ
मूलथाम ढल्किसकेको छ
यसैले तिमी आउ
तिम्रो दुर्गम हातहरुले छात्तिको पटांगीमा
मनको सुन्दर भवन निर्माणार्थ
भावनाको शिला राखेर शिलान्यास गर
परेलीका हत्केलाले ताली ठोक्दै
माटो मुछ्न
भएभरकै आंसु र पसिना निचोरुंला म ।

अतित मुखिया
काठमाडौं ।



.