कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

महोत्सवमा खत्रीको कविता प्रथम



काठमाडौमा आयोजित राष्ट्रिय कविता महोत्सव २०६८ मा भोजपुरकी रीता खत्रीको ‘फूल काँडा र देश’ नामक कविता प्रथम भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ५४ औँ जन्मजयन्तीको उपलक्ष्यमा आयोजित महोत्सवमा धादिङका हेम प्रभासको ‘बाटोका बाछिटा’ दोस्रो र भोजपुरका बलिराज खम्बुको ‘नयाँ अनुहारको घेरामा योगमाया’, नवलपरासीका बाबु त्रिपाठीको ‘बा सँग’ र नुवाकोटका रावतको ‘देश’ तेस्रो भएका छन् ।

प्रतिष्ठानका कुलपति वैरागी काइँलाले सो महोत्सवको शुभारम्भ गर्नुभएको थियो । प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट सहभागी तीन सय ५२ मध्ये २९ वटा कविता छनोट गरी वाचन गराइएको कविता महोत्सव २०६८ का संयोजक प्राज्ञ डा. बेञ्जु शर्माले जानकारी दिनुभयो । केहि अतिथि कविले अप्रतियोगी कवितावाचन गर्नुभएको थियो ।