कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

के यो गलत होइन र?? (बिशेषगरी दिदिबहिनीहरुमा समर्पित् )


के यो गलत होइन र?? (बिशेषगरी दिदिबहिनीहरुमा समर्पित् )
दीप्स शाह
deepssanu@gmail.com
'पुरुषको काम कमाइ गर्ने , महिलाको काम घर गृहस्थी थमाइ गर्ने' भन्ने उखान आज शनै शनै बिस्थापित हुँदैछ। यो अत्यन्त स्वागतयोग्य कुरा हो। बिगतका पछील्लो दशकबाट महिलाहरु पनि घरको संघार नाघेर कामकाजी बन्न थालेको र स्वावलम्बी हुन थालेकोले यस्ता थोत्रा र निरंकुशी उखान टुक्काहरु बिस्तारै मिथ्या बन्दै गएका छन्। यसो हुनुमा विश्वपरिवेशमा आएको छलाङ्ग, शिक्षा स्वस्थ् बारे ब्यापकता,राजनैतीक सामाजिक परिवर्तन र तिब्र प्रबाह, महिला स्वयँमा आएको सचेतनाको ब्यापक परिवर्तन र समग्र समाजको आमूल सचेत परिवर्तनको ठुलो हात रहेको छ। अबका नेपाली महिला घरदेशमा मात्रै कामकाजी नरहेर परदेश सम्म पुगेर शिक्षाउपार्जन अर्थोपार्जन गरी परिवार र समाजलाई टेवा दिन सक्ने भएका छन्। भलै यो सुरुवात हो तर आमा हजुरआमाहरुको पिँढिको तुलनामा अहिले आएको यो बिशाल अन्तरलाई भने सन्तोषपूर्ण नै मान्नु पर्छ।

नारीपुरुष समानताको तिब्र असर र उपलब्धी मान्न सकिने यो परिवेश सङ्गै कतीपय नकारात्मक अवस्थापनी सिर्जना भएको भने नकार्न सकिन्न। आधाजसो शिक्षित र कामकाजी महिलाहरुको मानसिकता यस्तो पनि छ कि समानताको अर्थ लोग्ने या परिवारका अन्य सदस्यलाई हेप्नु हो। स्वाबलम्बी हुनुको अर्थ आफुले मान्नुपर्ने नाता कुटुम्ब लाई उचित सम्मान दिन नपर्ने अवस्था हो। हामीले यो भुल्नु हुँदैन कि समानताको अर्थ कसैले कसैलाई बरोबर हेप्नु नभएर बरोबर सम्मान गर्नु हो। लोग्ने र परिवारबाट सधैं हेलित पेलित महिलाहरुको आर्तनाद यै हुन्थ्यो कि पुरुषसमाजले नारी पुरुष समानताको अर्थ बुझ्दैनन् या बुझ्न चाहदैनन्। नारिलाई सम्मान गर्दैनन्। हेप्चन् र किचेर खुट्टामुनी राख्न खोज्छन्। तर जब अहिले आएर तिनै महिलाले समानताको आडमा लोग्ने या परिवारका अन्य सदस्यलाई उचित सम्मान गर्न जान्दैनन् या चाहँदैनन् भने हिजो नबुझेर हेप्ने पुरुष र आज बुझेँ भन्ने नारीमा के नै फरक रह्यो त?
तुलनात्मक रुपमा घरदेशमा रहेका कामकाजी महिलाको तुलनामा परदेश पुगेर पसिना पोखिरहेका आधुनिक शिक्षित महिलाहरुको अनुभब र कमाइ उच्च हुन्छ नै तर यसको मत्लब यो होइनकी अनुभबी र आर्थिक मजबुती हुनु घर परिवार र समाजमा रहने हुने आवस्यक संस्कार र रिती अनी मान्यजन प्रतिको सद्व्यबहार लाई लात हान्नु।
कुरा परदेशकै प्रसंगबाट। बिगत केही बर्ष यता आर्थिक चपेटाको मारमा परी म स्वयँ बैदेशिक रोजगारमा छु मध्यपूर्बी बिकशित देश इजरायलमा। इजरायल भनेको नेपाली कामदारहरुको निमित्त एक उत्कृष्ट रोजगारको गन्तब्य हो । अझै महिलाहरुको सवालमा अत्यन्तै सुरक्षित माहोल पनि हो (एकाध छिटफुट अपराधीक घटना बाहेक) सन्तोषजनक कमाइ र पूर्ण सुरक्षानुभूती हुने यो मुलुकमा आउने कामदारहरु आम्दानी र सुरक्षाको सवालमा शायदै कोही असन्तुष्ट होला । तर सत्य यो पनि हो पैसाले मान्छेलाई कहिल्यै पुग्दैन। महिलाअधिकारलाई समुच्च सम्मान र सुरक्षित गरिएको यो अत्याधुनिक मुलुकको कमाइ र हावापानीले हामीलाई धेरै कुरा दिएको छ। धेरै ज्ञान अनुभब सुम्पेको छ। धेरथोर आर्थिक भरथेग दिएको छ। कहिँन कहीँ हाम्रा सन्ततीलाई उज्यालो भबिस्यको किरणको थोरै आभास दिएको छ तर यो सबै उपलब्धीलाई हामी मध्य कतीले सही सदुपयोग गर्दै छौँ? खासगरी घर परिवार एकसुत्रमा माया र सदभाबको डोरिले बाँधेर राख्ने भनेर मानिएका हामी महिलाले?? सबैले गल्ती गरेका छन भन खोजिएको अवस्य होइन तर नबिर्सौँ नकारात्मक तत्व थोरै भएपनी सबै साकारात्मक तत्वमाथी हावी भैदिन्छ ।
केही समय पहिलेको कुरा हो। एकदिन सार्वजनिक बुथमा पुगेँ कलिङ्ग कार्ड बाट घरमा फोन गर्न भनी। उसो त निकैबेर उभिएर पालो कुर्नुपर्ने बाध्यतालाई हृदयङ्गम गरी प्रायजसो म सेल बाटै कल गर्छु तर त्यसदिन अलिक लामै भलाकुसारी गर्नुथियो घरमा सबैजाना सँग। शायद कुनै सानोतिनो चाड थियो होला नेपालमा। तखाना मर्काजित(केन्द्रिय बस पार्क) को छैठौँ तल्लामा रहेको लहरै पब्लिक बुथमा पुगेर हेरेँ सबैमा कतै काला जाती, कतै इण्डियन, श्रीलङ्कन, फिलिपिनो र नेपालीहरु फोनवर्तामा मग्न रहेछन्। अलिक परको बुथमा हेर्दा ३५ उमेरकी हाराहारिकी एक नेपाली दिदी फोनमा मस्त रहेछिन। पालो कुर्नुनै पर्ने भएपछी म तिनै दिदिको छेउमा उभिएर पर्खने निधोले त्यतै लागेँ। फोनमा दिदीका अन्तरङ्ग कुरापनी हुनसक्थे त्यसैले टाढा उभिनु पर्थ्यो मैले तर फेरी दिदीक कुरा सकिनासाथ् अर्कोले फोन कब्जा गर्लाभनेर अलिक नजिकै उभिएँ। बसपार्कको त्यो गुञ्जनयुक्त माहोल न हो टाढाको आवाज फोनमा प्रस्ट सुन्न कठिन् थियो नै उसो र दिदी निकै च्याँट्ठिएर बोल्दै थिईन्। कसैको आन्तरिक कुरो सुन्ने ध्रिष्टता नहुंदानहुँदै पनि फोनको पालोको लोभले मैले सबै कुरा सुन्नु परेको थियो। उनको वार्ताले मलाई थाहा लाग्यो कि पहिले नानीहरु सङ्ग बोलिन्। धेरै पढ्नु, ज्ञानी हुनु,चक्चक नगर्नु यस्तैयस्तै सम्झाइन् जो हरेक आमाबाबाले गर्नेगर्छन्। त्यहासम्म ठिकै थियो तर जब कुराको पुछारतिर भनिन् "आमैले केके गर्छिन् कतिको पैसा उरलधुरल गर्छिन् चियो गर्नु है! अलच्छिनिलाई के माया अर्काले कमाको पैसाको!" एसो भनिरहँदा दिदीको अनुहारमा देबी चढेको प्रतित हुन्थ्यो। निधारमा गाँठा परेका झैँ लाग्थे। 'आमै' मलाई गाह्रो परेन उनले सासुआमाको कुरा गरेकी हुन् भन्नलाई। आफुले प्रस्टै अलच्छिनी भनेर नानीहरुलाई सिकाउने ति दिदी कतिहद सम्म असल बुहारी होलिन् र सासुलाई सम्मान गर्दिहोलिन् भन्ने बुझ्न गाह्रो थिएन। तिनका पोइलाई जन्माएर हुर्काएर बिहेबारी गरेर अहिले बुहारी लाई परदेश पठाएर नातिनातिना स्याहारेर बस्न सक्षम बुढीआमालाई तिनले सिकाउनुपर्दो हो खर्चपर्च कसरी गर्ने भनेर! उनको शब्दबाट थाहा लाग्थ्यो कि स्वाबलम्बी बनेर दुई पैसा आर्जन गरेकोमा तिनलाई कती दम्भ छ भनेर। दिदी निकैबेर अरु फत्फताइन् तर मेरो दिमागमा त्यै "अलच्छिनी" शब्दले घन ठोकिरह्यो निकै बेर। त्यही बिचमा निकै अल्छि लागेर दुइपटक आफ्नो राजालाई मिस कल गरेँ । त्यो एक जनाउ पनि थियो कि म केही बेरमै फोन गर्दैछु भनेर। बसपार्कभित्रको माहोल हेर्दै केके सोच्दै थिएँ "नकराउ!" भन्ने दिदिको अर्को चिच्याहटले मेरो ध्यान उनैतिर तान्यो फेरी। यतिबेला सासुको बखान सकेर सासुका छोरासङ्ग चिलट्ठिँदै रहेछिन् । कुराको अनुमानमा शायद उताबाट श्रीमानले पैसा पठाउ भने होलान्। झिटिगुन्टी बन्धक राखेर, साउ ढाँटेर ,परिवारनै दाउमा राखेर आशाको दियालो बाली श्रीमतिलाई कमाउन पठाएपछी उसैसँग पैसाको आशा नगरे को सँग गर्ने श्रीमानले?? सके त नमागी कनै पठाउनु बेस्। घर चलाउन व्यबहार गर्न पैसा चाहिन्छ भन्ने त थाहा हुन्छ नै। झन मागिसके पछी गर्जन गर्नु कती उचित! हुन सक्छ कुनै बदमाश जुवाडे थिए हुनका लोग्ने, होला पैसाको खोलो कतै बगाएका होलान् श्रीमतिको कमाइमा। तर के त्यसरी सार्वजनिक बुथमा उभिएर श्रीमानलाई हकार्नु बुद्दिमानी ठहर्ला!! हामीले यो कहिल्यै नभुलौँ कि तुच्छ शब्द , अपमान र तितो व्यबहारले मान्छे कहिल्यै सुध्रिँदैन न त बिग्रिनलागेको सम्बन्ध बन्छ।

कुरैकुराको शिल्शिलामा दिदीले यती भयानक शब्दहरु ओकलिन् म स्तब्ध भएँ। यस्तो लाग्थ्यो उनी आफ्ना श्रीमान सङ्ग नभएर दासयुगको कुनै मालिक्नी आफ्नो नोकरलाई सबक सिकाउँदै छिन्। बिचबिचमा सासुलाई पनि मिसाएर अपमानका शब्द चढाउँदै थिईन्। दिदीले जती पनि तुच्छ शब्दले हकारीन् आफ्नो लोग्नेलाई, ति शब्दको चौथाइ अंश मात्रैपनी मलाई मेरा राजाले भन्दाहुन् त मेरो हृदय हजार ठाउमा चिरा पर्दाहुन्, म अपमानबोधले भुतुक्क मर्दी हुँ। ति त उनका लोग्ने थिए। हाम्रो संस्कारमा हुर्केको लोग्नेमान्छे जतिनै समव्याबहारिक भएपनी उसको भित्र 'म लोग्ने हुँ' भन्ने भाबना त जीवितै हुन्छ र त्यो हुनुपनी पर्छ। हाम्रो संस्कारले जतिपनी साँघुरो मान्यतालाई काखी च्यापेपनी केही यस्ता मुल्यवान पाठपनी बोकेको छ कि हामीले आफन्त, मान्यजन र बिबिध अलगलग नाता सम्बन्धमा के कसरी कसलाई कस्तो सम्मान गर्नुपर्छ भन्ने हामीलाई त्यसले बोध गराउँछ। लोग्नेले पैसा माग्दा दिदीले यसरी झपारिन् उनले अलिकती पनि सोचिनन् शायद यदी उनको ठाउमा ठीक उल्टो उनको श्रीमान हुँदा हुन् र तिनले त्यसरी आज पैसाकोलागी गिड्गिडाउनु परेको होस् र श्रीमानबाट त्यस्तै गाली खानु परेको होस्। ,,,अहँ उनले त्यो सोचेकै थीइनन् । दिदी निकै बेर घाइते शिँहिनी झैँ गर्जीरहिन् म चुपचाप् सुनिरहेँ। त्यतिबेला मेरो समेत धैर्यताको बाँध टुट्यो जतिबेला दिदी च्याँट्ठीन् " त्यो आमा भनाउदीलाई काखी च्यापिरौ न! मैले छोड्पत्र गरिनछु भने के! " त्यतिबेला मिल्थ्यो भने दिदीलाई उल्टो हातले बजाउन मन लागेको थियो मलाई। उनको सम्पूर्ण सम्स्याको जड् सासु रहिछिन् र लोग्नेले पैसा माग्दा सासुले खान्छिन् भन्ने चिन्ता रहेछ। कारण अरु पनि थिएहोलान् तर त्यतिन्जेलको सम्बादले भने त्यही नै बताउँथ्यो। महिलाले कुन समाजसँग हक माग्ने जब उसले आफ्नै वर्गलाई सम्मान गर्न सक्दैन। आफ्नी आमा समानकी सासुलाई उनी आफ्नो जीवनको काँढा मान्छिन् भने उनले किन सपना देख्नु नारी हकहित र समानताको??? कतिका सपना देख्दै छोरा जन्माएर हुर्काएर त्यो बुढेसकालमा कहाँ जाउन् ति आमै!! आफ्नी जन्मदातालाई घरबाट लखेटेर स्वास्नीलाई खुशी राख्नुपर्ने हो भने म लोग्नेमान्छे हुँदो हुँं त जिन्दगीभर बुढो कुमार बस्थेँ बरु। दुई अक्षर पढेर , देश नाघेर स्वाबलम्बी बनेर घर चलाऊन सक्षम महिलाको त त्यो व्यबहार हो भने ति बुढी आमैले त्यो भन्दा अक्षम्य पाप के गरिन् होली र त्यत्रो अपमान !! अनी जतिनै समानता भनिएपनी समानताको अर्थ आफु चाँही कसैलाई नटेर्ने, कसैको सम्मान नगरने , पनि त होइन। बिचरा श्रीमानले उताबाट के भन्दै थिए कुन्नी दिदी अझै झन अमिली हुँदै थीन्।
मेरो अनुहार समेत रिसले तातो रातो भएपछी म फोनको पालो लात मारेर अन्तै लागेँ। तर मेरो मन साम्य भएन। थाहा छैन दिदी अझै कतिबेर गर्जीन् तर मेरो मनको तुफान दिनैभरी रोकिएन। हुनसक्छ दिदी एक मात्र कमाउ मान्छे होलिन् परिवारमा र समस्याको थुप्रोले उनलाई चिढाएको होला। हुनसक्छ लोग्ने गलत गर्दा हुन्। यो पनि होला कि सासुआमा अली बेसी नै फजुल गर्लिन्। या त लामो समयको परदेशी बसाइले बिरक्तिएर मन खल्बलिएको होला तर जे सुकै भएको होस् सभ्यता,शिष्टता र सम्बन्धको सम्मानमा नै आँच आउने गरी कमाएको पैसाले जिन्दगीको कुन आनन्द किन्नु!! त्यो भन्दा त झ्याङ्ग्प्वाले झुपडी भित्रको आत्मिय सम्बन्धमा मौलाएको बिपन्नतानै मिठो होला अवस्य। मलाई थाहा छैन दिदीले कती शिक्षा आर्जन गरेकी थिईन्। तर सुट्ठिसारो अशिक्षित हाम्रा हजुरआमाहरुलाई अझै बेसी थाहा छ सम्बन्धको सम्मान र इज्जत भन्ने कुरा। उनको बोलीचाली र हाउभाउबाट लाग्थ्यो उनलाई आफ्नो कमाइमा ,स्वाबलम्बनमा धेरै अहम छ। एक हद सम्म त्यो जरुरीपनी हुन्छ । अझै एक नेपाली महिलाले अर्को नेपाली महिलाको यो स्वाबलम्बी जीवन देखेर मलाई साच्चैनै गर्व पनि नलागेको होइन तर उनमा जुन घमण्ड र हेपाहा प्रब्रित्ती थियो, त्यो देख्दा भने मेरो मनले भन्यो कि अवशरले मान्छेलाई यती बिगार्ने हो भने , यती अहंकारी बनाउने हो भने बरु मान्छे अज्ञानी नै रहोस्।
अवस्यपनी हामी सचेत हुनु जरुरी छ। परिवारलाई सम्झाउनु, सिकाउनु र आत्मिय बातावरण बनाइरहनु आवश्यक छ तर यतीपनी त होइन कि बन्नुको साटो झन बिग्रेर जाओस्।
हामीले भुल्न नहुने कुरा के हो भने जतिसुकै समानता ,आधुनिकता आओस् तर परिवार समाज भनेको एक निस्चित मापदण्डले घेरिएको हुन्छ जहाँँ अलगलग सम्बन्ध र नाता अनुसारको सम्बोधन्, सम्मान र शिष्टता हुन्छ । त्यसलाई हामीले पालन गर्नैपर्छ यदी सुन्दर सुखी सफल परिवार र असल समाज चाहने हो भने। नत्र आधुनिकताको नाममा समानताको ढ्वाङ्ग फुकाइमा हामी झन पछी धकेलिरहेका हुन्छौँ र एक्लिँदै गएका हुन्छौँ । त्यसबेला दम्भले फुलेर पोकोपारेको धनले न त परिवार सम्बन्ध किन्न सकिन्छ न त जिन्दगीको सन्तुष्टी नै हासिल हुन्छ।
सम्मान गरेर अलिकती झुकेर हामी कोही पनि सानो हुंदैनौ र हामीले केही गुमाइरहेकापनी हुँदैनौ। खासगरी पारिवारिक मामलामा त हामीले झुक्न जान्नै पर्छ किनकी समर्पण बिना कुनै सम्बन्ध चल्दैन।
सम्मान गरौँ सम्मान पाउँ!! (बिशेष गरी दिदिबहिनीहरुमा समर्पित्!!!)