कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

पीपलु चौतारीको आत्मालाप

- अनुज श्रेष्ठ ' प्रवास '




जब उकाली चढेर
फर्कन्छन् बटुवाहरु
विसाउँछन् आफूलाई
सुस्केरा सँगै यहाँ
र छाडेर जान्छन् अनन्त : यादहरु
यही बाटो भएर
कति चेलीहरु हिंडे
तीजमा माईती
र फर्के खुशीका केही मीठा क्षणहरु
पोल्टामा संगालेर ,
कैयौ ठिटाहरु लागे यही बाट
रङ्गीन समपनाहरु बोकेर
प्रदेशतिर ....
कति भरियाहरुले
बिसाए केही क्षण दु:खको भारी
र पुछे पसिनाका नदीहरु
कैयौ बूढापाकाहरुले
सुनाउँदै बसे अतीतका कथाहरु यहाँ
र हेर्दै पावरफुल चश्माबाट
भागेर गएको आफ्नो वैश
टोलाईरहे ,
यहीबाट विहानै
भालेको डाँक सँगै
भागे कैयौ प्रेम जोडीहरु
र खाए सँगै मर्ने बाँच्ने कसम ,
म यहीबाट सुन्छु -
लाहूरेका दु:खका अन्त्यहीन कथा
र रोमाञ्सहरु.....
प्रत्येक वटुवालाई
विश्राम दिंदा
म सोच्ने गर्छु -
यस्को आयु कति होला?
फेरि कहिले फर्केला ऊ यो बाटो हुँदै ?
मैले देखेको छु -
कति गए यही बाटो
उदास मृत्यु धून ओकलेर...
कुनै वसन्तको घमाईलो दिनमा
कसैले झरेका मेरा पातहरु टिपेर
लेखेको थियो -
आफ्नी प्रेमीकाको नाउ
र मुस्कुराएको थियो आँफै सँग ,
म एक पीपलु चौतारी हुँ -
हरेक गाउँ , उकाली, ओराली
र देउरालीहरुमा हुन्छु -
निर्भीक उभ्भिएको
दु:ख - सुखको साक्षी ,
यहाँ आएर
फूल अक्षताले ढोग्नेहरुका लागि
म कुनै दैवीक रुप बनें
थकाई मेट्नेहरुका लागि
शीतल छहारी बनें,
प्रेमका कसम खानेहरुका लागि
मायाको साक्षी बनें
र , बनें बूढापाकाहरुले सुनाउने
कथाहरु जस्तो
एउटा आदिम चौतारी -
उनीहरुकै प्रतिविम्ब जस्तो ।