कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपालका चाणक्य बालचन्द्र शर्मा


नेपालका चाणक्य
बालचन्द्र शर्मा
नरेन्द्रराज प्रसाई

गोपालचन्द्र ढुङ्गाना र रामेश्वरीदेवीका सुपुत्र बालचन्द्र शर्माको जन्म १९७६ सालमा भारतको इलाहावादमा भएको थियो । रणोद्दीपको हत्यापछि यिनका बुवा पद्मजङ्ग राणाको पछि लागेर प्रयाग जाँदा उनी त्यतै जन्मेका थिए । त्यहीं नै बालचन्द्रको स्कुले शिक्षाको पनि आरम्भ भएको थियो ।
स्कुल पढ्दापढ्दै शर्माका बुबाआमा दिवङ्गत भए । अनि सोह्र वर्षो उमेरमा नै उनी आर्थिक रनाहामा परे । त्यस बेला यी कहिले भोकै सुते र कहिले त्यस्तै लाएर पनि हिंडे । त्यसपछिका दिनमा यी कामको खोजीमा लागे । अनि उनले टयुसन पढ्ने विद्यार्थी भेटे । त्यसपछि महिनाको चार रुपियाँमा टयुसन पढाएर उनले आफुलाई पाल्न थाले ।
शर्मा सङ्घर्ष गरेर नै किशोरावस्था धान्दै थिए । त्यसै बेला यिनले आफूलाई बैवाहिक जीवनमा बाँधे । १९९३ सालमा शर्माको बिहे डिट्ठा चूडामणि न्यौपानेकी छोरी कुसुमकुमारीसँग भयो । विहेपछि यिनको घरायसी व्यवहारमा केही राहत पनि जुट्न थाल्यो । त्यसपछि यिनीहरुको प्रेम पनि झाङ्गिन थाल्यो । अनि यी दम्पतिले कल्पना, चेतना र सुहृद जन्माएका थिए ।
विहेपछि पनि शर्माको घरको आर्थिक स्थिति त्यति सग्लो चाहिं भएन । त्यसैले उनी पुस्तक प्रकाशकका घरघरमा गएर भन्थे, "म तपाईंलाई भनेजस्तै किताब लेखिदिन्छु; तपाईंले मलाई पढ्ने खर्च दिनुहोस् । अनि त्यही श्रृङ्खलामा उनले तोतामैना, गुलाफकावली, प्रेमयोगी लेखे । ती किताबहरू लेखेपछि उनलाई साहित्यमा पनि रस बस्न थाल्यो । अनि उनी त्यस क्षेत्रमा पनि क्रियाशील हुन थाले ।
शर्मा कर्मवादी थिए । त्यसैले उनी भन्थे 'कागजमा लिपिएको मसी र व्यायामले निचोरिएको पसीना त्यसै खेर जाँदैन ।' वास्तवमा उनले बाँचुन्जेल आफुलाई एकोहोरो कर्ममा मात्रै बाँधे । उनले आफ्नो घरपरिवारलाई त्यस्तै पार्ने प्रयास पनि गरेका थिए ।
शर्माले कासी हिन्दू विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गरे । त्यसपछि यी सक्रिय रुपमा राजनीतिमा नै लागे । वनारसमा बस्ता उनी नेपाल र नेपालीप्रति नै केन्द्रित थिए । नेपालबाट राणा शासन मास्ने यिनको राजनैतिक सिद्धान्तको शिर्ष थियो । त्यही सूचीमा आबद्ध भएर उनले धेरै लेखरचनाको पनि निर्माण गरेका थिए ।
विश्वेश्वरप्रसाद कोइरालासँग सन् १९४२ को भारत छोडो आन्दोलनदेखि शर्माको गहिरो सम्बन्ध भयो । त्यसै बेला यिनीहरू दुबैलाई पनि भारतीय जेलमा थुनिएको थियो । जहिले, जहाँ र जसरी प्रवेश हुँदा पनि शर्मा निर्भीक हुन्थे । त्यसैले कोइरालाले पनि उनलाई नजिकै राखेर काम गरेका थिए ।
शर्मा जहाँ गयो त्यहीं आफ्नो चमत्कारी शैली प्रस्तुत गरिहाल्थे । त्यसैले उनले राजनीतिमा आफूलाई स्थापित गराएका थिए । अनि त्यही क्रममा उनले नेपाली भाषासाहित्यमा पनि प्रभावकारी स्थान कायम गरे । उनले नेपाली, संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषामा शिक्षा ग्रहण गरे तर नेपाली भाषासाहित्यका महारथी बने । जीवनका उकाली ओरालीहरूमा उनले घरि बन्दुक बोके र घरि कलम बोके ।
शर्माको नेपाली भाषासाहित्यमा विशेष चासो देखेर सुरुमा नै नेपालका राजनेताले उनीसँगको सर्म्पर्क बढाउन रुचि राखे । विश्वेश्वरप्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको उनीसँग सर्म्पर्क भएको थियो । त्यसैले नेपालमा राणाको तखता पल्टाउने अभियानमा बालचन्द्र शर्माले पनि सक्रिय योगदान दिए । उनको गतिलो कार्यशैलीले उनी नेपाली राष्ट्रिय काङ्गे्सका मन्त्री र क्रमशः महामन्त्री बने ।
शर्मा बनारसबाट प्रकाशित हुने युगवाणीको पनि सम्पादनमा लागे । साथै त्यसै बेला उनले नेपाल पुकारको पनि सम्पादन गरे । अनि हिन्दी भाषामा प्रकाशित हुने नवनेपाल पनि त्यति बेला यिनकै सम्पादनमा प्रकाशित भयो ।
नेपालबाट राणाको जरा उखेलिएपछि उनी पनि नेपाल आए । यहाँ उनको सक्रियताले पनि ठाउँ पायो । अनि उनी सल्लाहकारसभाको सम्माननीय अध्यक्षमा आसिन भए । त्यहाँबाट पनि उनले आफ्नो योग्यता देखाएर मन्त्री पनि भए । त्यसै बखत राजा महेन्द्रको चान्सलरसिपमा गठित रोयल नेपाल एकेडेमीमा उनी उपकुलपतिमा मनोनीत भए । सो एकेडेमीको स्थापना कार्यमा पनि उनको अति ठूलो योगदान थियो । त्यसपछि पनि शर्मा कहिले सोभियत रुस र कहिले फ्रान्समा नेपालका राजदूत बने । राष्ट्रमा वफादार भएबापत सुप्रसिद्ध गोरखादक्षिणबाहुबाट यी विभूषित भए ।
नेपाली परिवेशमा शर्माको कार्यका विषयमा घटराज भट्टराईले 'बालचन्द्र शर्मा : व्यक्तित्व र साधना' नामक ग्रन्थ पनि लेखे । किनभने शर्मा त्यही कोटीका उच्चस्तरीय व्यक्तित्व थिए ।
शर्मालाई त्यति बेला धेरेले नेपालका चाणक्य भन्थे । उनी चतुर त्यस्तै थिए । उनी राजनीतिमा जति सफल थिए कुटनीतिकमा पनि त्यति नै सफल थिए । उनी जोसँग गफ गर्दा पनि त्यसलाई आफ्नो बनाउन सक्ने खुवी थियो । उनी कुरा गरेर, भाषण गरेर र लेखेर थाक्तैन थिए । उनी मन परेकालाई काँधमा बोक्थे भने रिस उठेकालाई पैतालाले थिच्ने प्रयास गर्थे । उनका शत्रुमित्र पनि उतिकै थिए; तर उनका मित्रको जनसङ्ख्या बढी थियो ।
शर्मा बौद्धिकतर्क दिएर मान्छेलाई गलाउँथे र त्यसैअनुरूप काम पनि गर्थे । उनले काम गरेर नै राजा महेन्द्रलाई आफन्त बनाएका थिए । त्यसैले उनले आफ्ना कामहरूमा राजाको औपचारिक लिखित पनि भेट्तै गए । शायद जनताका छोराका बारेमा राजा महेन्द्रले जति लेखे बालचन्द्र शर्माकै विषयमा नै धेरै लेखे । वास्तवमा शर्मा लेखिनका लागि उपयुक्त पात्र पनि थिए । खास गरेर २०१९ सालमा यिनको नेतृत्वमा सम्पादित नेपाली शब्दकोशबाट राजादेखि रङ्कसम्म यिनको प्रशंसामा जुटेका थिए । किनभने त्यस कोशले नेपालको औपचारिक र आधिकारिक स्वरूप बटुलेको थियो । उनकी जेठी छोरी कल्पना घिमिरे नौरिसनका अनुसार त्यो कोश तयार पार्न उनलाई सत्र महिना लागेको थियो ।
२००८ सालदेखि नेपाली समाजमा परिचित हुन थाले । किनभने त्यस बेला यिनले 'नेपालको ऐतिहासिक रूपरेखा' प्रकाशनमा ल्याए । त्यति गहन, त्यति मोटो र त्यति खोजपूर्णाको इतिहास लेख्ने उनी एउटा बहादुर लेखक थिए । उनको सो ग्रन्थ नेपाली इतिहासको लेखन परिवेशमा हर्कुलस झैं सावित भएको छ । तर त्यो किताव लेख्न उनलाई दुई महिना मात्र लागेको थियो । उनी जुन काममा लाग्थे त्यसमा नै अहोरात्र जोतिन्थे ।
इतिहासको किताबले शर्मालाई पूर्ण परिचित गराएपछि यिनले २०१४ सालमा 'भानुभक्त' शिर्षमा एउटा समीक्षात्मक प्रवन्ध तयार गरे । त्यस कृतिले पनि यिनलाई जनस्तरमा पुर्याएको थियो । उनले विभिन्न परिवेशका एक दर्जन कृति लेखेका थिए । उनका दर्जनौँ कृति अप्रकाशित छन् ।
शर्माले स्कुले पाठयपुस्तक पनि लेखे । त्यस बेला नेपालीभाषामा बालबालिकालाई मोहित पार्ने हेतु उनी पाठयपुस्तक लेख्थे । वास्तवमा त्यति खेर यिनले लेखेका पुस्तक राम्रो कोटिमा दरिन्थे ।
शर्माको नाउँमा उनकी पत्नी तथा छोराछोरी मिलेर 'बालचन्द्र शर्मा स्मृतिसभा' नामक वाङ्मयिक संस्थाको स्थापना गरे । यस संस्थाले वर्षोनी नेपाली भाषाका स्रष्टामा नगदसहित पुरस्कार प्रदान गर्दै आएको छ ।
शर्मा एक दिन खाना खाएर एउटा मेचमा बसेर अध्ययन गरिरहेका थिए । त्यस बेला बिहान ११ बजिसकेको थियो । त्यसै बेला उनको अचानक मुटुको गति बन्ध भयो । त्यस बेला उनी छपन्न वर्षा थिए । भनौँ २०३२ साल असार ६ गते उनी काठमाडौँमा स्वर्गीय भए