कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

“त्यो आवाज मन्द छ तर सत्य छ”


“त्यो आवाज मन्द छ तर सत्य छ”


च्यातेर झन्डा लगौँटी लगाउनेहरु हो!!
झण्डाले लाज ढाक्तैन कसैगरी
टांगमुनी अल्झिनुको बिवशतामा
ऊ त आँफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ
नबिर्स! झन्डा हातमै उचालिनुपर्छ
अनी पो गर्बले फहराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ।

हृदयमा कोढ बोकेर हिँड्नेहरु हो!!
सुकिलो सुटले महामारी रोक्तैन कसैगरी
उसोर ज्ञानीहरु भन्छन्
महानगरको लुतोग्रस्त कुकुर कम्ती हानिकारक,
स्वस्थ हृदय बोकी गल्लिको कुनामा
छालाको लुतो क्वार्क्वार कन्याउँछ
नियतबस् अर्कोलाई सार्दैन
ल्याप्ल्याप चाटेर आँफैँ निको बनाउँछ।

जब सन्तुष्टीको तरंगले कम्पित
खुशीका झंकारले प्रफुल्लित
झुपडीका
सम्पन्न झ्याङप्वालले
स्वर्णभवनका बिपन्नतालाई जिस्क्याउँछ
लाज आँफैँ उम्रिनुपर्ने हो अत्तरी पहिरनको चमकमा
तर यस्तो नहुँदोरहेछ ,,
आँखापनी त बन्दीछन कालो शिशाभित्र!
हो त्यही अन्धकारमा
आँखा डुबेकोछ
हृदय कुहिएकोछ
झन्डा ध्यार्ध्यार्ती च्यातिएकोछ।

संस्कारको गरीबीमा
चिन्तनको दरिद्रतामा
स्वाँठहरुको जग्जगी छ
बदमाशहरुको चिच्याहट छ
त्यहिँनिर
भग्न आँगनको डिलमुनी
केही आँखामा चमक छ
सङ्गै गुन्जनपनी छ
स्वरमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ।

त्यो आवाज भन्दैछ
कि झण्डा हातमै उचालिनुपर्छ
अनी पो गर्बले फर्फराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ ।
त्यो आवाजमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ।