कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तरक्रिया

 
नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तरक्रिया: विश्व नेपाली साहित्य महासंघद्वारा विजेता कविहरूलाई पुरस्कार

नेवाः काठमाडौं, ५ अगष्त २०११/

समग्र नेपाली साहित्यको श्रीवृद्धि तथा हामी नेपालीहरूको प्रतिष्ठाका लागि विश्वभर छरिएर रहेका स्रष्टा तथा साहित्यिक संघ-संस्थाहरूबीच सहकार्य गरेर सँगै र निरन्तर कार्य गर्दै अघि बढ्ने उद्देश्यले गत वर्षस्थापित विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समिति र काठमाडौ शाखाको आयोजनामा (५ अगष्ट २०११ का दिन) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तक्रिर्या तथा पुरस्कार वितरण समारोह- २०६८ सम्पन्न भएको छ ।

विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष कवि तथा गीतकार रमेश पौडेलको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ कवि तिलवीक्रम नेम्बाङ (वैरागी काइँला)को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका अन्य अतिथिहरूमा प्रा.डा. गोविन्दराज भट्टराई प्राज्ञ डा. वेञ्जु शर्मा, डा कुमार कोइराला, आख्यानकार कृष्ण धारावासी, डा. कविताराम श्रेष्ठ, प्राज्ञ कवि श्रवण मुकारुङ, राष्ट्रगानका रचयिता व्याकुल माइला, निवन्धकार युवराज नयाँघरे र अन्तर्राष्ट्रिय नेपाली साहित्य च्याप्टर नेपाल शाखाका उपाध्यक्ष राघेश्याम अधिकारीलगायत रहेका थिए ।

संसारभरका नेपाली साहित्यकारहरूलाई समेट्ने उद्देश्यले स्थापित विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित यस कार्यक्रममा महासंघका केन्द्रीय पार्षद दिनेश बस्नेतले सम्पूर्ण अतिथिलगायत सहभागीहरूलाई मन्तव्यमार्फत स्वागत नर्गुभएको थियो । स्वागत मन्तव्यको क्रममा वहाँले नेपाली साहित्यको इतिहासमा मुनामदनको भोटयात्रादेखि बसाइँको बसाइँले नेपाली साहित्यको विदेश यात्रातर्फ इङ्गित गरेको बताउनु भयो । विश्वमा रहेका नेपाली साहित्यानुरागीहरूलाई समेट्न यो महासंघको स्थापना भएको भन्दै वहाँले सो पुरस्कार वितारण र नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तरक्रिया कार्यत्रममा उपस्थित् सबैलाई स्वागत गर्नुभयो । साथै, कल्पना तिगेला र मरियाना तिगेलाबाट अतिथिहरूलाई खादा ओडाएरसमेत स्वागत गरिएको सो कार्यक्रम राष्ट्रियगानको धून बजाएर शुभाराम्भ गरिएको थियो ।

यसवर्ष नेपाली साहित्याकासले नेपाली साहित्य र सङ्गीतका विभिन्न नक्षत्रहरूलाई गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै तिनै ज्ञातअज्ञात साहित्कारहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

वि. सं. २०६८ को आगमनसँगै विश्व नेपाली अडियो कविता प्रतियोगिता गरेको महासंघले सो प्रतियोगितामा विजयी कविजनहरूलाई सम्मान र पुरस्कार वितरण गर्न र नेपाली साहित्यमा डायास्पोराको भूमिका बारे अन्तक्रिर्या गर्न आयोजित सो कार्यक्रममा महासंघका महासचिव विश्वासदीप तिगेला लिम्बूले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । वहाँले विश्व नेपाली साहित्य महासंघको वास्तविकताबारे बताउनुहुँदै मान्छेमा आत्मगौरवको कुरा हुने भएकोले विश्वमा जहाँ जता रहेता पनि आफ्नो पहिचान, भाषा धर्म र संस्कृतिको महत्व हुने बताउनु भयो । विश्वमा जहाँ जता रहेता पनि हामीसँग आ-आफ्ना पहिचानका विम्बहरू हामीसँगै हुँदा रहेछन् भन्दै ती सबै नेपालीहरूलाई समेट्न अलिक नयाँ किसिमको यो महासंघको स्थापना गरिएको कुरा तिगेलाले बताउनु भयो । अहिले विश्वका विभिन्न १२ मुलुकमा विश्व नेपाली साहित्य महासंघका शाखाहरू निर्माण भएको, अरु विभिन्न मुलुकमा शाखा निर्माण गर्नेक्रम जारी रहेको जाकारी गराउँदै नेपाली साहित्यको विकास र प्रवर्द्धन गर्नका निम्ति यो पाइला चालिएको कुरा तिगेलाले प्रष्ट्याउनु भयो । संसारभरका साहित्यिक संघसंस्था र स्रष्टाहरूलाई एउटै छातामा ल्याउनका लागि यो संस्था स्थापना गरिएको जनाउँदै भर्खरै गरिएको अडियो कविता प्रतियोगिता गर्नको उद्देश्य संसारभर रहेका नेपाली साहित्यकारहरूलाई एउटै कार्यक्रममा समाहित गर्नु रहेको महासचिवले बताए । पछिल्लो समय मणिपुर, भारत र कोरियाबाट पनि महासंघ आवद्ध हुन प्रस्तावहरू आएको बताउँदै "यो नयाँ विचार र नयाँ अवधारणा लिएर विकास भएको संस्था हो । यसले समयानुकूल केही नयाँ र पृथक ढङ्गले कार्यक्रहरू गर्नेछ" वहाँले थप्नुभयो । गत असार २९ गते भानु जयन्तीको दिन घोषणा गरिएको विजयी प्रतियोगिहरूलाई पुरस्कार वितरण गर्ने सो कार्यक्रको सफलताको लागि विभिन्न मुलुकमा रहेका शुभेच्छुक तथा पदाधिकारीहरूबाट शुभकामनाहरू प्राप्त भएको जानकारी गराउँदै महासचिव तिगेलाले विजयी प्रतियोगीहरूलाई बधाई पनि दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ कवि तिलवीक्रम नेम्बाङ (वैरागी काइँला)ले पानसमा दीप प्रज्वलन गरेर उद्घाट गरिएको यस कार्यक्रममा प्राध्यापक डा. गोविन्द राज भट्टराईले साहित्यको विस्तारमा नेपाली डायास्पोराको योगदान'' शीर्षकको एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वहाँले विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वव्यापी अडियो कविता प्रतियोगतमा सहभागी भई उत्कृष्ट हुन सफल सम्मानित कविजनहरूलाई हार्दिक बधाई दिँदै कार्यपत्रमार्फत विशेषतः नेपाली साहित्यमा डायास्पोराको भूमिकाको सैद्धान्तिक मान्यताबारे प्रकाशन पार्नुभयो । साहित्यको विस्तारमा नेपाली डायास्पोराको योगदानको विषयमा प्रकाश पार्दै नेपालमा रहेका साहित्यकार जस्तै विदेशमा बस्ने साहित्यकारले पनि नेपाली साहित्यमा योगदान दिएकाले विश्वविद्यालय वा एकेडेमीले मात्र होइन, परराष्ट्र मन्त्रालयले पनि एक डायास्पोरिक विङ्गको स्थापना गर्नुपर्ने बताउनुभयो । उक्त कार्यपत्रमाथि डा. कुमार कोइरालाले टिप्पणी गर्दै नेपाली भाषा र साहित्यको विकासमा स्वदेशमा र विदेशमा बस्ने नेपाली दुवैको योगदान रहेकाले कसैको भूमिकालाई कम आँक्न नहुने बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलवीक्रम नेम्बाङ (बैरागी काइँला)ले नेपाली भाषासाहित्य र कलासंस्कृतिको प्रवर्द्धन र विस्तारका लागि नयाँ प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनु भयो ।

कुलपति नेम्बाङले नेपालीहरू नेपालबाट बाहिरिँदा एक्लै हुने भएपनि बाहिर पुगेर संगठित हुनेक्रम बढेकाले विश्वभरका नेपालीलाई समेट्न नयाँ प्रविधि प्रयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कुलपति काइँलाले नेपालीहरू जुन देशमा पुगे पनि नेपाली भाषा, कला, संस्कृतिलाई विश्वभर पुर्‍याउने काम गर्नु नेपालका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

महासंघले भानु जयन्तीका अवसरमा आयोजना गरेको कविता प्रतितियोगितामा चर्चित ढुंगेल प्रथम, स्वप्नील स्मृति द्वितीय र रमा अधिकारी तृतीय भएका थिए । उनीहरूलाई २० हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अडियो कविता प्रतियोगितामा लिम्बू भाषामा उत्कृष्ट धनकुटाका भरत योक्लेन र राई भाषामा उत्कृष्ट असिम बान्तवा राईलाई एक एक हजारसहित प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट २० जनालाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १९ देश र नेपालका २७ जिल्लाबाट आठ भाषामा गरी २०० कविता प्राप्त भएका थिए । मूल्याङ्कनकर्ताहरूकातर्फाट कार्यक्रममा प्राज्ञ कवि श्रवण मुकारुङ र प्राज्ञ डा. बेन्जु शर्मा विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको प्रतियोगिता नयाँ खाले भएको भन्दै कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । उहाँहरूले पछिल्लो पुस्ता साइबर संसारमा अभ्यस्त भइसकेकाले नेपाली भाषासाहित्य र कला संस्कृति विस्तारमा नयाँ प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार उमा सुबेदीबाट गरिएको थियो । सो कार्यक्रमको विस्तृत विवरण महासंघको अफिसियल वेब साइट http://gfnl.org.np मा हेर्न र सुन्न सकिन्छ |


- डीबी लिम्बू / दिनेश बस्नेत । फोटोः सेमिमा लिम्बू, काठमाडौं