कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

भेटवार्ता - भगवती बस्नेत

इजरायल प्रवासमा रहेर साहित्य साधना गर्दै आउनु भएकी गज़लकार श्रष्टा भगवती बस्नेतलाइ आज हामीले हाम्रो साहित्यसंसारको नियमित स्तम्भ "श्रष्टा - भेटवार्ता " अन्तर्गत भलाकुसारी गर्न निमन्त्रणा गरेका छौं । चितवनमा जन्मनुभएकी भगवती बस्नेतले साहित्यका बिभिन्न विधामा कलम चलाउदै आउनु भएको छ यद्यपि उहाँको लेखनको मुख्य विधा भनेको 'गज़ल' हो भन्नु हुन्छ उहाँ ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले उहाँको नविनतम गज़ल संग्रह "रहर भो जिन्दगीमा" भर्खर प्रकाशनमा पनि ल्याएको छ र यो गज़ल संग्रहको हालै हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर अनेसास इजरायलले तेल अभिभमा विमोचन पनि सम्पन्न भएकोछ । साहित्यिक संस्था अनेसास च्याप्टरसंग आबद्ध पनि रहनु भएकी उनै साहित्यकार भगवती बस्नेतसंगको कुराकानी यहाँ प्रस्तुत गर्दैछौं ।


१) यहाँको छोटो परिचय ?

एक साहित्यिक अनुरागी जस्ले साहित्यलाई माया गर्छ मन पराउँछ। भगवती बस्नेत बल्खु काठमाडौ ,हाल इजरायलमा कार्यरत ।

२)साहित्य सिर्जना केका लागि गर्नु हुन्छ ?

साहित्य सिर्जना आफ्नै लागि गर्छु आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्न तर मैले गरेका सिर्जनाले जीवन र जगतलाई पनि केही ज्ञान दिओस भन्ने चाहन्छु ।

३) साहित्यको कुना विधा यहाँलाई बढी प्रिय लाग्छ, कुन विधामा कलम बढी चलाउनु हुन्छ ?

साहित्यको सबै बिधा मन पर्छन् तर पनि सबै भन्दा प्रिय बिधा चै गजल नै हो ।

४ )गज़ल लाइ नै रोज्नुको कुनै विशेष कारण छ कि ?

गजल रोज्नुको मुख्य कारण थोरै अनि सरल शब्द र शैलीद्वारा गहन् भाव अभिब्यक्त गर्ने सामर्थ्य गजलले राख्ने गर्छ त्यसैले गजलतिर नै लहसिए अनि मन पर्नुको कारण पनि बन्यो ।

५) वैदेशिक रोजगारीको कार्य व्यस्तता, सिर्जना र साधनाको लागि कसरी समय निकाल्नु हुन्छ ?

जहाँ इच्छा त्यहा उपाय भने झै म साहित्य रुची राख्ने हुनाले आफ्नो चाहना अनुसार जब समय पाउछु सिर्जना र साधनामा लागि पर्छु । जब मान्छेमा चाहना अनि रहरहरु हुन्छन् त्यसलाई पूरा गर्न जस्तोसुकै अप्ठयारो सहन पनि तयार हुन्छन । परदेशको उच्छवासमा रुमलिदा हाम्रा अगाडि अनेकौ समस्याहरु अवश्य पनि धेरै हुन्छन् तर" खाने मुखलाई जुँगाले छेक्दैन" भने झै सिर्जना साहित्यको मोहलाई कसैले पनि रोक्न छेक्न नसक्ने रहेछ ।

६) गज़ल के हो जस्तो लाग्छ कस्तो हुनुपर्छ नेपाली गज़ल ?

अरबीबाट, उर्दु, हिन्दी हुँदै नेपाल प्रवेश गरेको साहित्यको एउटा सुकोमल र हार्दिक बिधा हो गजल । नेपाली गजल जुन बिषयमा लेखे पनि हार्दिकता ,कोमलता शिष्टता र सम्प्रेषणीयता जस्ता कुरामा ख्याल गरेर लेखिनु पर्छ भन्ने लाग्छ मलाइ ।


७) अहिले नेपाली साहित्यमा गज़ल लेखनको बाढी आएको छ भन्छन नि, यस्तोमा स्तरीय गज़लहरुलाई पाठकले कसरी छुट्याउने ?
नेपाली साहित्य अझ गजल बिधामा बाढी आउनु नेपाली साहित्यको लागि खुशिको कुरा हो तर त्यो बाढीको धमिलोपनसंगैमात्र सिमित मान्छेको सिर्जनाहरुलाई स्तरिय मान्न सकिदैन । जुन बाढी पछि सङ्लिएर निरन्तर बगिरहन्छ निश्चल कन्चन भएर त्यस्तै हामीले साधना र अध्ययनले आफ्ना सिर्जनालाई माझ्दै स्तरिय बनाउन सक्नुपर्छ । अर्को कुरा गजलमा हुने बाह्य तत्व काफिया ,रदीफ मतला ,शेर मिसरा, तखल्लुस यी बाहिरी रुप पक्षका कुरा हुन यतिले मात्र गजल गजल हुन सक्दैन । जसरी एउटा मान्छेलाई मान्छे जस्तो हुन उसको बानी व्यवहार, उसमा रहेको मानवता, नैतिकता, सामाजिक जस्ता कुराहरु अत्यावश्यक छ त्यसैगरी कुनै पनि सिर्जना गजल हुन त्यस सिर्जनाभित्र कलात्मकता ,कोमलता, हार्दिकता र सुन्दरता हुनु अति आवश्यक हुन्छ। बाहिरी र भित्री संरचना पढे पछि थाहा पाउन सकिन्छ ।

८) नेपाली गज़ल लेखन कता जादैछ जस्तो लाग्छ ? के यसका लागि पर्याप्त अध्ययन, अभ्यास र बहसहरु भएका छन ? या अझै हुनु जरुरी छ ?

साहित्यको गजल बिधा अहिले जहाँ नेपाल त्यहाँ नेपाली गजल भएको छ । गजललेखन अरु बिधा जस्तै लोक प्रिय र बहुलिखित बिधा भएको छ।अहिले गजललाई त्रि बि का पाठयक्रम मा पनि समाबेश गरिएको छ यस् अर्थमा गजलको बिकाशक्रम फस्टादो उभोगतिमा बढदो छ । यसका लागि पर्याप्त अध्ययन, अभ्यास र बहस हरु भएका छन र अझै हुनु जरुरी पनि छ ।

९) गज़लका कठिन नियम मात्रा र अनिवार्य तत्वहरुका बिषयमा तपाइंको के धारणा छ ?

गजलको गजल हुनको लागि यस्को मापदण्ड भित्र रहेर भाव खुलाएर गजल लेखिनु पर्छ । गजल गेय बिधा हो यस्लाई चाहे संगीतमा चाहे स्वोतन्त्र लयमा गजल गेयात्मक आवश्यक हुन्छ गेयात्मकतालाई छन्द, बहर, लय मात्रा इत्यादी जे जे नाम पनि दिन सकिन्छ ।गजलमा मूलत: काफिया ,रदिफ, शेर, मतला, मिसरा ,मकता ,तखल्लुस आधारभुत तत्व हुन भने शैली शिल्प भाव लय भित्री सुन्दरताहरु हुन ।

१०) वहरमा नेपाली गज़लहरु किन कम लेखिएका छन ? कतिपय गज़लकार श्रष्टाहरु नेपाली झ्याउरे या लोकलयमा आधारित बहर निर्माण गर्नुपर्छ भन्दै हुनु हुन्छ । तपाइंको के धारणा छ ?

धेरै अध्ययन अनि अभ्यास जरुरी हुन्छ बहरमा गजल लेख्नको लागि यस्को आफ्नै नियम हुन्छ नियामबद्द भएर गजल लेख्नु पर्ने भएकोले बहरमा कम गजल लेखिएको हो झै लाग्छ । नेपाली झ्याउरे या लोकलयमा आधारित बहर निर्माण गर्नु पर्छ भन्ने कुरामा मेरो नि सहमती छ।झ्याउरे या लोकलयमा आधारित बहर निर्माण गर्नसके नेपालीपनको अनि आफ्नै मनको हुनेछ ।

११) तपाईं भावुक हुँदा के गर्न रुचाउनु हुन्छ ?

गजल लेख्न अनि गीत सुन्न रूचाउँछु।

१२) प्रवासको बसाइ कति सजिलो या अप्ठेरो के छ ?

धेरै अप्ठयारो छ।

१३) कस्तो प्रकारको गज़लमा आफूलाई बढी खुलेको पाउनु हुन्छ ? या कस्ता गज़लहरु मा बढी रमाउनु हुन्छ ?

जीवन जगत अनि प्रणय प्रसङ्गका गजलहरूमा।

१४) "रहरै भो जिन्दगी" भन्ने गज़ल कृतिको नाम राख्नु भएको रहेछ, कसरी जुर्यो ? कुनै विशेष कारण छ कि ?

मेरो कृतिको नाम 'रहर भो जिन्दगी' राख्नु खासै त्यस्तो बिशेष कारण त केही छैन ।रहर भो जिन्दगी भित्रका गजलहरु पढदै जादा यो गजलमा टक्क रोकिए ।
"परदेशमा बिझाएको कहर भो जिन्दगी!
सुख खोज्दै भौतारिने रहर भो जिन्दगी !!"

गजल पढे गजल ठिकै लाग्यो जिन्दगीको गन्तब्य खोज्दै अनन्त रहर बोकेर परदेशिएको परिवेश मिलेकोले आँफैलाई मन परेर यसैलाई शिर्ष गजल बनाएँ । किताबको नामको खोजीमा आफ्नै गजल पढ्दा जुरेको नाम हो यो ।

१५) "रहर भो जिन्दगीमा" खास के छ ? पाठकले किन यो कृति पढ्नु पर्छ भन्नु हुन्छ ?

रहर भो जिन्दगी भित्र अरुको भन्दा भिन्न त नहोला तर तर पनि सबैको आफ्नै शैली अनि आफ्नै प्रस्तुती हुन्छन त्यस्तै यस्मा मेरो आफ्नोपन छ । मेरो आफ्नो निर्दोष भावनाहरु समेटिएका छन्। यहाँहरुले मेरो गजल संग्रह हेरिदिएर मेरा कलमका रहरहरुलाई अझ प्रेरणा थपिदिनको लागि मेरो गजल संग्रह हेरिदिनुस् भन्छु।

१६) तपाईलाई देशको राजनीतिक अवस्था र देश कता जादैछ जस्तो लाग्छ ?

देशको अवस्थालाइ चिन्तन गर्नु ३ करोड नेपालीको दिनचर्या बनेको छ देशको बिग्रदो परिस्थिती अनि अस्थिर राजनैतिक अवस्थाको कारण देश दिनानुदिन गम्भीर दलदलमा फस्दै गएको स्पष्ट छदै छ र तिनै राजनैतिक् दलहरुको दलीय स्वार्थको कारण देशको विकाशको गति उकालो चढ्नु सट्टा तल झरिरहेको सबै सामु छर्लङ नै छ जस्को कारण आज नेपाली युवाहरु आफ्नो जन्मभुमी छोडेर बिदेशिन बाध्य भएको छन् ।

१७) के राजनीतिक प्रसंगहरु पनि तपाईका गज़लमा समेटिएका छन ?

छन्। देशको बिग्रदो अनि अस्थिर राजनैतीक अवस्था देखेर नलिखिकन त कहाँ बस्न सकिन्छ र ? मैले पनि लेखेको छु राजनैतीक प्रसँगमा नि ।

१८) गज़ल त प्रेम प्रसंग नारि सौन्दर्यको बयान या यस्तै सुकोमल भाव हरु अभिव्यक्त गर्ने विधा भनेर भन्छन, यसमा बिरोध, राजनीति या यस्तै अन्य प्रसंग नसमेट्दा हुदैनथ्यो र ?

गजलको सुरुवात प्रेम प्रणय र श्रङारिक भाव भुमिमा भएको हो यसैमा सिमित राख्दा यस्ले ब्यापकाता पाउन सक्दैन जसरी गजल अरबीमा जन्मिए पनि भाषिक र राष्ट्रिय बन्धनलाई आज सम्म तोडेर हामी सबैको भएको छ अब यस्लाई सबै क्षेत्रको पनि बनाउन यस्को अझ महत्व हुन्छ झै लाग्छ। यसमा बिरोध, राजनीति या यस्तै अन्य प्रसंग नसमेटिदा यस्को सिमित क्षेत्रमात्र होला कि भन्ने लाग्छ।

१९) तपाईका साथी, सहयात्री तथा साहित्य प्रेमी पाठकहरुलाई केहि भन्नु चाहनु हुन्छ कि ?

सिर्जना बिनाको जीवन अधुरो अपुरो हुन्छ झै लाग्छ मलाई ।यहाँहरुलाई नि यस्तै लाग्छ होला शायद एउटा सर्जक ,श्रष्टा एउटा सिङो जिन्दगी नै सफल हुनको लागि अध्ययन ,साधना, सिर्जना अत्यावशयक रहन्छ । त्यो अध्ययन,साधना र सिर्जनाले जीवनलाई पाको ,परिपक्क बनाउन सकिन्छ । यसैले अध्ययन साधना अनि सृजनाको लागि मेरा सहयात्री तथा साहित्य प्रेमी पाठकहरूमा आग्रह गर्दछु ।

२०) अन्त्यमा मैले सोध्न भुलेका र यहाँलाई भन्न मन लागेका केही कुराहरु छन कि ?

यहाँलाई हार्दिक धन्यवाद भन्न चाहन्छु मेरो मनका भावना अनि साहित्यका बारेमा केही कुरा राख्ने मौका दिनु भएकोमा । अन्तमा आदर्णीय पाठक अनि समकालिन साथीहरुमा मेरो रहर भो जिन्दगी पढेर रचनात्मक प्रतिकिया दिएर मेरो कलमको रहरलाई हौसल्ला अनि प्रेरणा दिनुहुन आग्रह गर्दछु ।





प्रस्तुति - कृष्णपक्ष