कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

साझा प्रकाशनमा भाँडभैलो

३१ भदौ, काठमाडौं । सधैं विवाद र बहसको केन्द्रबिन्दूमा रहने साझा प्रकाशनमा यतिबेला नयाँ विवादले उग्र रुप लिएको छ । साझा प्रकाशनको संस्थागत सुधार हुनुपर्ने माग गर्दै त्यहाँका सञ्चालक मध्येका एक नयनराज पाण्डे आन्दोलनमा उत्रेपछि अर्को विवाद जन्माएको हो ।

पहिले साझा प्रकाशनको प्राङ्गण, त्यसपछि माइतीघर र अनि रत्नपार्क पुगेर अनसन बसेका पाण्डेलाई गएको २८ गते प्रधानमन्त्रीको पहलमा अनसन तोडाइयो । प्रधानमन्त्रीको हातबाट जुस खाएर र्फकन नभ्याउँदै उनी बिरुद्ध साझाकै कर्मचारीहरु प्रदर्शनमा उत्रेका छन् । साझा प्रकाशनको गेटमा ‘सञ्चालक नयनराज पाण्डे चाहिंदैन’ भनेर लेखिएको ब्यानर टाँगिएको छ । साझाका संचालक समितिका सदस्यहरु हरिगोविन्द लुईंटेल, अनिल पौडेल लगायतले आफू बिरुद्ध अनर्गल प्रचार गरेको पाण्डेको आरोप छ । तर पाण्डेले सस्तो लोकपि्रयता कमाउन प्रदर्शन थालेकाले यस्तो अवस्था सृजना भएको अर्को पक्षको दावी छ । ‘उहाँ आफ्नै स्वार्थ र उक्साहटमा आन्दोलनमा लाग्नुभएको हो’ लुईंटेलले भने -’उहाँको आन्दोलनको कुनै तुक छैन, यो त सस्तो लोकपि्रयताको लागि गरिएको हो ।’ तर पाण्डे यो कुरा स्वीकार्दैनन् । ‘मैले साझाको विषयमा राजनीतिक गर्न खोजेको होइन’ पाण्डेले भने -’विशुद्ध प्राज्ञिक थलो बनाउने प्रयास मात्र गरेको हुँ ।

विवादको जड

लामो इतिहास सँगालेको साझा प्रकाशनभित्र प्रायः विवाद र बहस भैरहन्छ । पुस्तक छपाईमा अनियमितता र पक्षपात गर्ने गरेको आरोप खेपिरहेको साझामा पछिल्लोपटक अर्को भ्रष्टाचारको प्रकरण सार्वजनिक भयो । भवन निर्माण लगायतका बिभिन्न खरिद प्रकरणमा भ्रष्टाचार भएको खबर सार्वजकि भएपछि अध्यक्ष तथा महाप्रबन्धकमाथि औंला ठडियो । अध्यक्षको नजिक मानिएका पाण्डे त्यसपछि एकाएक साझा प्रकाशनमा सुधार ल्याउनुपर्छ भन्दै आन्दोलनमा उत्रिए । ‘यो अनियमितता ढाकछोप गर्ने बहाना हुन सक्छ’ एकजना स्रष्टाले अनुमान गरे । त्यसो त सञ्चालक समितिमा नियुक्त भएका बामपन्थी धारका पाण्डे, लुईंटेल र पौडेलबीच पहिलेदेखि नै मनमुटाब थियो । पाण्डे एकातिर र लुईंटेल तथा पौडेल अर्कोतिर । साझा प्रकाशनमा सुधार हुनुपर्ने, महाप्रबन्धक र अध्यक्ष फरकफरक व्यक्ति हुनुपर्ने माग उनीहरु सबैले पहिलेदेखि नै उठाएका हुन् । जुन मागलाई अहिले पाण्डेले चर्को रुपमा उठाएका छन् । मंसिर, पुस सम्ममा साझाको साधारणसभा हुन लागेको हुँदा त्यसकै लागि चुनावी मसलाको रुपमा पाण्डेले आन्दोलन थालेको अनुमान पनि छ । तर पाण्डे यी सबै आरोप र अनुमान अस्वीकार गर्छन् ।

विवादै विवाद

विवाद, गुनासा र आरोप प्रत्यारोपले साझा प्रकाशन कहिल्यै मुक्त हुन सकेको छैन । पुस्तक छाप्दा भेदभाव गर्ने गरेको आरोप एकातिर छँदैछ । पछिल्लोपटक भवन मर्मत र ईनार खन्ने काममा अनियमितता भयो भनेर साझा प्रकाशनमा निकै खैलीबैली भयो । पुल्चोकमा रहेको भवन मर्मत र नजिकै इनार खन्ने काममा टेण्डर प्रकृया पूरा नगरेको आरोप छ । दुबसु क्षेत्रीलाई पुरस्कार प्रदान गर्ने निर्णयले त्यो भन्दा ठूलो विवाद खेप्यो साझा प्रकाशनले । क्षेत्रीले विदेश घुमाएकै कारण साझा प्रकाशनका सञ्चालक समितिले उनलाई पुरस्कृत गरेको चर्चा छ । त्यसो त साझाले साहित्यकार क्षेत्रीको अश्वमेध यज्ञका घोडाहरु नामको कविता संग्रह हतार हतार छापेको थियो । एकसय २५ पेजको स्वीकृति लिएपनि किताब चाहिं ४ सय ६० पेजको छापेको भन्दै निकै आलोचना भयो । साझा प्रकाशतको ईतिहासमा यति धेरै पेजको कविता संग्रह अहिलेसम्म छापिएको छैन ।

साझा प्रकाशनले कतिपय लेखकका राम्रा पुस्तक पनि समयमा प्रकाशन गर्दैन भन्ने गुनासो छ । बरिष्ठ साहित्यकारहरुले किताब छपाउन चार पाँचवर्ष कुर्नुपरेको उदाहरण पनि छन् । तर कतिपयको भने पहुँचकै आधारमा एक दुई महिनामै भटाभट पुस्तक प्रकाशन भैरहेको हुन्छ । पुस्तक प्रकाशनमा यस्तो भेदभाव हुने गरेको भन्दै साझाको बारेमा साहित्यिक क्षेत्रबाट निकै आलोचना हुने गरेको छ । ‘साझा प्रकाशनमा यस्ता विवाद प्रायः सधैं हुने गर्छ’ एकजना बरिष्ठ साहित्यकारले भने – ‘दुई चारवर्ष यता भने साझा प्रकाशनको कामकार्वाहीलाई लिएर असन्तुष्टी हुनेहरुको संख्या निकै बढेको छ । विवाद पनि उसैगरी थपिएका छन् ।’

साझा प्रकाशन आफैं पनि झमेलामा छ । साझाको मुख्य काम किताब प्रकाशन गर्ने हो । उसले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेको किताब वितरण गर्ने काम पनि गर्छ । छपाईमा सधैं घाटा खाने साझाले वितरणबाट मात्र केही नाफा कमाउँछ । यसको मार्केटिङ नै राम्रो नभएको गुनासो छ । उसले प्रकाशन गरेको मुनामदन बाहेक अरु किताब नै राम्रोसँग बिक्दैनन् । महाप्रबन्धक नियुक्तिमा सधैं विवाद हुन्छ । कवि, लेखक, साहित्यकार र कलाकारकै बाहुल्यता रहेको साझा प्रकाशन नाम अनुसार सबैको साझा हुन सकेन भन्ने गुनासो र यसभित्रका विवाद र बहस कहिले साम्य होला ?

अनलाइनखबर