कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

Pen Lovers in Nepal ले नियमित साहित्यिक कार्यक्रम गर्ने

Pen Lovers in Nepal ले अबदेखि नियमित साहित्यिक कार्यक्रम गर्ने निधो गरेको छ । त्यसै सन्दर्भमा असोज ७ गते सुन्दरीजलको वीपी सङ्रहालयमा “कविता गीत गजल” शीर्षकमा एउटा कार्यक्रमको आयोजना भएको थियो । पहिले ‘सुन्दरीजल बन्दीगृह’ नाम रहेको यहाँ बन्दी अवस्थामा रहँदा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले सुम्निमा, मोदीआईन, नरेन्द्रदाई लगायत १० कृतिको सृजना गरिएको हुँदा यो साहित्यिक रूपमा पनि ऐतिहासिक स्थान रहन गएको छ ।

उपस्थित साहित्यकारहरूले वीपीको प्रतिमामा फूल चढाएर शुरु गरिएको कार्यक्रममा तिलक पेला, रमेश बस्नेतको सुमधुर गायनका साथै नर्मदेश्वर प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, बिष्णुविभु घिमिरे, महेश प्रसाई, नयनराज पाण्डे, नारायण तिवारी, मुरारी सिग्देल, रामहरि कोईराला, बाबुराम लामिछाने, उज्ज्वल जी.सी., इश्वर थोकर, एलिना संग्रौला, गीता पन्थ, मणि लोहनी, ठाकुर बेलवासे, अनुपम रोशी , सुषमा मानन्धर, ध्रुव मधिकर्मी, दीपक खड्का, सुबिन श्रेष्ठ, किशोर पहाडी आदिले काव्य पाठ गरेका थिएभने प्रकाश सायमी, रुक्मिणी श्रेष्ठ , ललिता सिग्देल, किरण श्रेष्ठ, रामबहादुर रावलको पनि उपस्थिति थियो ।



कार्यक्रममा संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सङ्रहालयको बारेमा प्रकाश पार्नु भएको थियो । Pen Lovers in Nepalको तर्फबाट किशोर पहाडी र मुरारी सिग्देलले कार्यक्रमको उद्देश्य बारे सविस्तार चर्चा गरे र अर्को कार्यक्रम ‘आख्यान’ विधामा निकट भविष्यमै गरिने भन्ने कुराको जानकारी दिईएको थियो ।