कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसासले पोर्तुगलमा दीपावलीको शुभकामना सहित देवकोटा जयन्ति मनायो

कार्तिक ९ लिस्बोन । पोर्तुगलमा रहेका साहित्य प्रेमीहरुले १०२ औं देवकोटा देवकोटा जयन्ति मनाएका छन् । मंगलबार उनीहरुले देवकोटाको फोटोमा माल्यार्पण र साहित्यिक रचनाहरु वाचन गरी श्रद्धासुमन अर्पण गरे ।

सहभागीहरुले दीपावलीको शुभकामना पनि आदानप्रदान गरेका छन् । उनीहरुले देशको अवस्था सुध्रियोस्, सबै नेपाली आफ्नै भूमिमा फर्केर रगत र पसिना सिञ्चन पाइयोस् भन्ने खालका कामना पनि गरे ।



प्रमुख अतिथि गैह्र आवासीय नेपाली संघ, पोर्तुगलका वरिष्ठ उपाध्यक्ष डिलाराम चापागाइँले देवकोटाको संघर्षमय जीवनीबाट हामीले थुप्रै शिक्षा लिन सकिने बताउँनुभयो । 'महाकविले दिएको योगदानले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली साहित्यको चिनारी बढेको छ' चापागाइँले भन्नुभयो ।

विशेष अतिथि नेपाल पोर्तुगल कला संस्कृति साहित्य तथा सञ्चार परिषद्का अध्यक्ष कुमार श्रेष्ठ र अन्तर्राष्ट्रिय कलाकार मञ्च पोर्तुगलका महासचिव कमल विष्टले देवकोटाको जीवनी, व्यक्तित्व र कृतिहरुबारेमा प्रकाश पार्नुभयो ।



सुनिल संगम, अमृत परियार, कला कोयु, योगेन्द्रमिलन छन्त्याल, मोहन आचार्य लगायतका सर्जकहरुले कार्यक्रममा शुभकामना आदानप्रदानसहित कविता, गीत र गजल वाचन गरेका थिए । सिर्जनाहरूमा देवकोटाको योगदान, तिहार, मायाप्रीति र संघर्षकाबारेमा लेखिएका थिए ।


यसका साथै लिस्बोन, पोर्तुगलका बिजी श्रेष्ठ, अनेसास इजरायलका उपाध्यक्ष कुमार पौडेल, चिती-७, लमजुङका अनुप जोशी, दोहा, कतारका सुवास श्रेष्ठ र श्यामकुमार घलानले पठाएका सिर्जनाहरु पनि वाचन गरिएका थिए ।



राष्ट्रिय गानबाट शुरु भएको दीपावलीको शुभकामना आदानप्रदान र साहित्यिक कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्तुगल च्याप्टरका अध्यक्ष सुनिल संगमले र संचालन च्याप्टरका महासचिव योगेन्द्रमिलन छन्त्यालले गर्नुभएको थियो । १०२ औं देवकोटा जयन्तिको अवसरमा आयोजित कार्यक्रम गैह्र आवासीय नेपाली संघ, एनआरएनको सभाकक्ष रोस्शियोमा सम्पन्न भएको थियो ।