कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जैमली डायस्पोरा साहित्य पुरस्कार आगामी वर्षदेखि दिइने

कृष्णराज खनाल, बोस्टन -

डायस्पोरामा बसेर सिर्जना गरिएका नेपाली साहित्यिक कृतिका लागि जैमली डायस्पोरा साहित्य पुरस्कार आगामी वर्षदेखि दिइने भएको छ ।मातृभूमि नेपालमा पनि साहित्य विकासका लागि सानो सहयोग पुगोस् भन्ने हेतुले जैमली साहित्य पुरस्कारको पनि स्थापना गरिएको हो ।




स्रष्टा शिव प्रकाशले यी दुवै पुस्कार स्थापना गरेका हुन् । डायस्पोरा नेपाली साहित्त्य तथा पुरस्कारको इतिहासमा नेपालबाट प्रदान गरिने यो नै पहिलो पुरस्कार पनि हो । जैमली साहित्य पुरस्कार १५ हजार र जैमली डायस्पोरा पुरस्कार १० हजार रहेको छ ।
शनिवार एक समारोहबीच कथाकार शिव प्रकाशको कथाकृति जैमली काठमाडौँमा विमोचित भयो । जैमलीको मुख हेराइ नाउँ दिइएको समारोहमा आख्यान पुरूष डा. ध्रुवचन्द्र गौतमले सो कृतिको विमोचन गर्नु भयो ।

हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठानको आयोजनामा भएको कृति विमोचन तथा पुरस्कार स्थापना घोषणा कार्यक्रममा वरिष्ठ साहित्यकार परशु प्रधान, समालोचक डा. तुलसी भट्टरार्इ, समीक्षक हरि अधिकारी, प्राज्ञ ललिजन रावल र समालोचक गीता त्रिपाठीले कृतिमाथि प्रकाश पार्दै एकपटक पढ्नै पर्ने कथाहरूको संग्रह जैमली भएको कुरा बताउनु भयो । नारी पात्रहरूको वाहुल्यता रहेका कथाहरूमा मूलतः यौन मनोविज्ञान र यौनिक विवेचना, डायस्पोरा र नोस्टाजेल्याका साथ नारी पात्र र पक्षहरूको सुन्दर र सौम्य उत्खनन् गरिएको कुरा समीक्षकहरूले बताएका थिए ।



स्रष्टा शिव प्रकाशका पिता स्वर्गीय हरिप्रसाद पौड्यालको सम्झनामा प्रतिष्ठानको स्थापना भएको र सो प्रतिष्ठानका सदस्यमा प्राज्ञ डा. विष्णुविभु घिमिरे, प्राज्ञ ललिजन रावल, कोषाध्यक्षमा फणीन्द्र पौड्याल, सदस्य सचिवमा गीतकार तथा कवि रमेश पौडेल र अध्यक्षमा शिव प्रकाश रहनु भएको छ ।

वी.एन पुस्तक काठमाडौ वितरक रहेको सो जैमली कथा संग्रहको विक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रतिष्ठानको कोसमा जाने छ । “महिनौँ कोखमा बास दिने र धरतीमा पहिलो पाइला टेक्न साहस दिने माता र मातृभूमिप्रति मेरो पनि केही दायित्व छ । यो कुराको बोध भयो र नै यो प्रतिष्ठान बन्यो अनि संगसंगै यी दुर्इ पुरस्कारको स्थापना पनि भयो । सानो भए पनि केही गर्न पाएकोमा खुशी छु” कथाकार शिव प्रकाशले बताउनु भयो ।