कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

लेखनाथ साहित्य पुरस्कार त्रिपाठीलाई

कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित रु ५० हजार राशिको लेखनाथ साहित्य पुरस्कार यस वर्ष साहित्यकार एवम् समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ ।

लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित तथा कवि शिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्ती भट्टराईका छोराछोरीबाट रु पाँच लाखको अक्षयकोषको राशिबाट राष्ट्रिय स्तरको उक्त पुरस्कार स्थापना गरिएको हो ।

स्व कुन्तीदेवी भट्टराईकै परिवारबाट रु दुई लाख अक्षयकोषबाट स्थापित कुन्तीदेखि शिक्षापुरस्कार लेखनाथ नगरपालिका वडा नं ११ पचभैयास्थित अमरसिद्ध नमुना उच्च माविबाट गतवर्षको एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने सुश्री मनिषा अधिकारीलाई प्रदान गरिनेभएको छ । कुन्तीदेवी शिक्षा पुरस्कारको राशि रु १० हजार रहेको छ ।

सोही अक्षयकोषबाट अर्घौं अर्चलेमा सञ्चालित कवि शिरोमणि लेखनाथ प्राविमा अध्ययनरत गरिब तथा जेहेन्दार पाँचजना छात्रछात्रालाई जनही रु एक/एक हजार छात्रवृत्ति वितरण गरिनेछ । पुरस्कार आगामी पुस १५ गते लेखनाथ जयन्तीका दिन वितरण गरिनेछ ।